८ जेष्ठ २०८१, मंगलवार

महिनावारी हुँदा महिलालाई बाटो बन्द


बाजुरा।  छाउप्रथा कुप्रथा हो भनेर विभिन्न स्थानीय निकायमा रहेका झन्डै ५११ वटा छाउगोठ भत्काएको बाजुराका अधिकांश ठाउँमा अहिले महिनावारी हुँदा महिलालाई बाटो बन्द गर्ने गरेका छन् । बाजुराका अधिकांश स्थानीय निकायमा महिनावारी भएका महिलाका लागि मठमन्दिर नजिकमा रहेका बाटो बन्द हुने गरेका हुन् ।

मठमन्दिर नजिकमा रहेका बाटोमा हिँडेपछि अनिष्ट हुन्छ भन्दै यहाँका धामी झाँक्रीले रिसाउन थालेपछि महिनावारी भएका महिलाका लागि बाटो बन्द हुने गरेको बूढी गङ्गा नगरपालिका –१० तिमाडाका स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार “महिनावारी भएका महिलाले मन्दिर नजिकमा रहेको बाटोमा हिँड्दा धामी झाँक्रीले देवता रिसाउँछ भन्ने डर देखाउन थाले पछि यहाँका महिला महिनावारी हुँदा ती बाटोमा हिँड्ने गरेका छैनन् ।”

गाउँ नजिकै काला पातलको मन्दिर छ, त्यसै बाटोबाट यहाँका स्थानीयहरू आउजाउ गर्छन् । तर महिनावारी भएका महिलाहरूले भने त्यो बाटोमा हिँड्न पाउँदैनन्।छाउ प्रथा अन्त्यका लागि जिल्लामा हुने गरेका विभिन्न कार्यक्रमले सेला पाखा , बदेडा , तिमाडाका गाउँ बस्तीमा भने कुनै प्रभाव नपारेको स्थानीय बताउँछन् ।