१६ मंसिर २०८१, आईतवार

सरकारी मिति कुर्दै सुनथराली विमानस्थल


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा–१ मा निमार्ण गरिएको सुनथराली विमानस्थल सरकारी मिति कुर्दै छ ।
२०४२ सालबाट निमार्ण कार्य थालिएको विमान स्थलको काम करिव एक वर्ष अगाडि सम्पन्न भएको थियो । सम्पन्न भएको लामो समय वितिसक्दा पनि विमानस्थल उद्घाटन हुन सकेको छैन् ।
सरकारले पटक पटक सूचना जारी गर्दै विमानस्थल उद्घाटन हुने भनेपनि निर्धारित समयमा विमान स्थलको उद्घाटन हुन सकिरहेको छैन । नेपाल सरकारका संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पटक–पटक मिति तय गरेपनि विभिन्न कारण देखाउर्दै स्थगित गर्दै आएका छन् । विमानस्थल उद्घाटनका लागि विमानस्थलले सरकारी मिति कुरिरहेको छ ।
३७ वर्ष अगाडिदेखि निमार्ण थालिएको विमानस्थल नियमित संचालन गर्न दवाव दिनका लागि २०७९ साल चैत्र २१ गतेदेखि २२ गतेसम्म नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले विमानस्थलमा तेस्रो साधारण सभा गरेको थियो । कालीकोटका नागरिकलाई हवाइ यातायातको सुविधा दिलाउनका लागी नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले तेस्रो साधारण सभा विमानस्थलको धावनमार्गमा नै गरेको थियो ।
सरकारलाई नियमित उडानका लागि दबाब दिन नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले साधारण सभा नरहरिनाथमा गरेको थियो । साधारणसभाको उद्घाटन कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री हालका प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, कर्णाली प्रदेशका सांसद हिक्मत बिष्ट, दुर्गबहादुर रावतले गरेका थिए ।
उद्घाटन पछि कालीकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्ट र दुर्गबहादुर रावतले बैशाखको पहिलो हप्ता उद्घाटन गर्ने भनि सामाजिक संजालमा लेखेका थिए । भनेको समयमा उद्घाटन नभएपछि कालीकोटका नागरिकलाई ढाटेको महसुष गरेका यहाँका माननियले नेपाल सरकारका संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसंगको सल्लामा उद्घाटन मिति तय गर्दै आएका छन् ।
विमानस्थल उद्घाटनका लागि सरकारी मिति भने पटक–पटक तोकिदै आएको छ । विमानस्थल उद्घाटनका लागि २०८० बैशाख पहिलो हप्ता, २०८० साल साउन १३ गते, भर्दौ १३ गते, भर्दौ १३ गतेका दिन पनि उद्घाटन नभएपछि असोज १३ गते उद्घाटन गर्ने भनि मिति तय गरिएको भएपनि हालसम्म उद्घाटन गर्न नसकी सरकारले कालीकोटका नागरिकलाई ढाँटी रहेको छ ।
२०७३ सालमा घाँसे मैदानमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा पहिलो पटक परीक्षण उडान गरिएको थियो । त्यसयता विमानस्थलमा जहाज फर्किएको छैन । सुनथराली विमानस्थलकोे रनवेको लम्बाइ ६ सय ४० मिटर, चौडाइ २० मिटर, टर्निङ प्याडको लम्बाइ ५ सय २५ वर्गमिटर, ट्याक्सी वेको लम्बाइ २५ मिटर चौडाइ २० मिटर, पार्किङ लम्बाइ ७० मिटर, चौडाइ ३० मिटर, स्टप वे लम्बाइ ३० मिटर, चौडाइ ५० मिटर, कियर वे लम्बाइ ३० मिटर, चौडाइ ५० मिटरको रहेको छ ।
उद्घाटनमा को बोलाउने भन्ने होडबाजी
सुनथराली विमानस्थल उद्घाटन कोबाट गराउने भन्ने नेकपा माओवादी केन्द्रको होटबाजीका कारण विमानस्थलको उद्घाटन हुन नसकेको बताइएको छ ।
नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्घाटन गराउने पक्षमा केही नेता छन् भने केही नेता नागरिक उड्डयन मन्त्री सुदन किराती मार्फत उद्घाटन गराउनेमा केही नेता भएका कारण विमानस्थल उद्घाटन हुन नसकेको हो ।
नेकपा माओवादी केन्द्र भित्रको आन्तरिक द्धन्द्धका कारण ३८ वर्षे इतिहास बोकेको सुनथरालाई विमानस्थल उद्घाट हुन नसकेको जानकारवाला बताउछन् ।
सामाजिक संजालमा माफि
नेपाल सरकारका संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र कालीकोट जिल्लाबाट प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले सामाजिक संजालमा माफी मागेका थिए ।
कालीकोटको सुनथराली विमानस्थल उद्घाटन एवं परीक्षण उडान निर्धारित समयमा गर्न नसकेको भन्दै कालीकोटबाटीसंग माफी मागेका थिए । नेपाल सरकारका संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सामाजिक संजालमा लेखेका थिए ‘यहि भाद्र १३ गते कालिकोट विमानस्थल परीक्षण उडान गर्ने भनिएको कार्यक्रम असोज १३ गते कालिकोट र डोल्पाको मसिनेचौर एकैदिन गर्ने निर्णय भएको जानकारी गराउँदछु ।
स्थगन किन ?
हाम्रो वुवाको निधन भएको साथै अन्य प्राविधिक तयारी पनि नपुगेको परिस्थितिको कारण स्थगन गर्नु परेको हो अन्तमा ः कालिकोटवासी जनसमुदाय प्रति क्षमाप्रार्थी छु । हवाई यातायातको सम्बन्धमा कार्णालीवासी जनसमुदायको दुख र हैरानी बुझेको छु र सदाको लागी समाधान गर्न लागी परेको छु ।’ तर त्यसपछि उद्घाट हुने नहुने कुराको टुंङो लागेको छैन ।


प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले निर्धारित समयमा उद्घाटन हुन नसकेको भन्दै सामाजिक संजालमै माफी मागेका थिए । उनले पनि सामाजिक संजाल फेसबुकमा लेखेका थिए ‘समाननिय प्रधानमन्त्रीको चाहाना र कालिकोटको जनताको प्रतिक्षा थियो । ३८ बर्षे इतिहास बोकेको सुन्थराली बिमानस्थलमा जहाज देखियोस् अर्थात कोटबाडाको आकाशमा जहाज उडोस । साथै पश्चिम नेपालकै धार्मिक इतिहास बोकेको महत्त्वपूर्ण सुन्दर पर्यटकिय क्षेत्र बडिमालिका ,त्रिवेणी धाम अवलोकन होस् ।
तर अपशोच ! अन्तिम घडीमा भाद्र १३ गतेको त्यो सपना पुरा भएन । केही कारणले गर्दा कार्यक्रम स्थगन भएको छ । सम्पुर्ण तयारीका बाबजुत पनि त्यो सपना पुरा हुन नसकेकोमा म निक्कै लज्जित छु र सम्पुर्ण कर्णालीबासी र कालिकोटका मेरा प्यारा मतदाताप्रति क्षमा चाहान्छु ।
जस्तोसुकै परस्थिति दोहोरियोस मैले बोलेका र गरेका प्रतिबद्धता प्रति अहिले पनि इमानदार र प्रतिबद्ध छु पूरा गर्छु ।’ तर पुरा हुने कहिले हो अत्तोपत्तो भने छैन ।
२०७३ सालमा घाँसे मैदानमा परिक्षण
तत्काली संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले २०७३ सालमा घाँसे मैदानमा सुनथराली विमानस्थलमा परीक्षण उडान गरेका थिए । त्यसपछि विमानस्थलको रनवे कालोपत्रे गर्नुका साथै विमानस्थल संचालनका लागि आवश्यक पूर्वाधार तयार हुँदा समेत विमानस्थल उद्घाटन गर्न सकिएको छैन ।


परीक्षण उडान हुँदा स्थानीय नागरिकहरूले खुसीयाली मनाएका थिए । परीक्षण उडान हुँदा यहाँका नागरिकहरूमा खुसीको सीमा नै थिएन । तर, एकपटक पनि जहाज नफर्कंदा उनीहरू निराश छन् । घाँसे मैदान हुदा परीक्षण उडान गरिएको विमानस्थल निमार्ण सम्पन्न भएको लामोसमय वितिसक्दा पनि परीक्षण उडान हुन सकिरहेको छैन ।
विभिन्न निर्वाचनको बेला भोट बैंकका रुपमा रहेको विमानस्थलले अहिले सम्म परीक्षण उडान र विमानस्थल उद्घाटन हुन नसक्दा स्थानीय निराश भएका छन् ।