१९ बैशाख २०८१, बुधबार

सुनथराली विमानस्थल सञ्चालन र केबुलकार निर्माणमा सरकार उदासिन भएकाे गुनासाे

नागरिक सक्रियतामा केबुलकार निर्माणको काम थाल्न सुझाव

सुर्खेत । कालीकोटबासीको सक्रियतामा खाँडाचक्र–कोटवाडा केवलकार निर्माणको पहल थाल्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिकाको संयुक्त आयोजनामा शनिबार वीरेन्द्रनगरमा भएको कार्यक्रमका सहभागीले सुनथराली विमानस्थल सञ्चालन र मान्म–कोटवाडा केवुलकार निर्माणका लागि राज्य उदासिन भएकोले नागरिक दबाब जरुरी भएको बताएका हुन् ।
केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गरी प्रतिविेदन सार्वजनिक गरिए पनि त्यसको निर्माणकार्य सञ्चालनमा सरकारले ध्यान नदिएको स्थानीयको गुनासो छ । कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य हिक्मतबहादुर बिष्टले सरकारले आफै केबुलकार निर्माण गर्न विभिन्न जटिलताहरु देखाएको भन्दै नागरिक दवाव सिर्जना गर्नु पर्ने बताए । संघीय सरकार र प्रदेश सरकारका विभिन्न निकायसंग पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको उनको भनाई छ ।
सुनथराली विमानस्थल निर्माण सम्पन्न भएको एक बर्ष बित्न लाग्दा पनि सञ्चालन लागि पटक पटक मिति सारेर झुक्याइएको र केबुलकार निर्माण थालनी गर्न विभिन्न अड्चनहरु देखाउँदै सरकारी संयन्त्र पन्छिएको उनको आरोप छ । ‘पटक पटक सरकारका सबै निकायमा छलफल गरिए पनि फलदायी हुन सकेनन्’ बिष्टले भने, ‘अब यसका लागि स्थानीय सरकार र नागरिकहरुको सहभागी जरुरी देखिएको छ ।’
नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले केबुलकार सञ्चालनबाट कालिकोट जिल्लाको पर्यटन बिकासमा टेवा पुग्ने र यहाँको आर्थिक बिकास गर्न सकिने भए पनि प्रदेश सरकार र संघीय सरकार उदासिन बनेको बताए । ‘सुनथराली विमानस्थल सञ्चालन र मान्म–सुनथराली केवुलकार निर्माणले यहाँको आर्थिक बिकासमा मद्यत पुग्छ’ उनले भने, ‘तर स्थानीय सरकारले गर्न सक्दैन, प्रदेश र संघीय सरकारको प्राथमिकतामा पर्दैन ?’
खाँडाचक्र नगरपालिकाका प्रमूख कमलबहादुर शाहीले सुनथराली विमानस्थल सहज रुपमा सञ्चालनका लागि पनि केबुलकार जरुरी भएको बताए । यसका लागि खाँडाचक्रका तर्फबाट आवश्यक सहयोग गर्न आफु तयार भएको उनको भनाई छ । नरहरीनाथ गाउँपालिकाका पूर्व अध्यक्ष धीरबहादुर बिष्टले केवुलकार सञ्चालनका लागि नागरिक सक्रियता भएकाले सबै तहका सरकारको सहयोगमा नागरिकहरु जुट्नु पर्ने आवश्यकता औल्याए ।
कर्णाली प्रदेश सरकारले केवुलकार निर्माणका लागि बजेट विनियोजन गरे पनि कार्यान्वयन गर्ने उपयुक्त माध्यम नभएको भन्दै अन्यौल भएकोले पब्लिक कम्पनीको माध्यमबाट भए पनि काम थाल्नु पर्ने सरोकारवालाहरुको सुझाव छ । नरहरीनाथ गाउँपालिका र खाँडाचक्र नगरपालिकाका सरकारवालाको सहभागिता रहेको कार्यक्रममा केबुलकार निर्माणका लागि गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन स्वीकृती गरी काम थालनी गर्न सबै निकायसंग आग्रह गर्ने बताएका छन् ।

रोप्य केवलकार निर्माण कम्पनी प्रालि ललितपुरले १७ लाख ३० हजार लागतमा सम्भाव्यता अध्ययन गरी गत बर्ष नै प्रतिवेदन सार्वजनिक गरिसकेको छ । प्रतिवेदन अनुसार १ अर्ब १४ करोड ८४ लाख ६५ हजार लागत अनुमान गरिएको छ । २ हजार १ सय ४७ मिटर लम्बाइ र ८ सय २९ मिटर उचाइ रहने यो केवुलकार प्रतिसेकेन्ड ६ मिटर हिँड्ने र एक पटकमा १५ जना आउन÷जान सक्ने छन् । एक ठाउँबाट अर्को ठाउँमा जान ६ मिनेट लाग्ने अनुमान गरिएको छ ।
सुनथराली विमानस्थल सञ्चालन र यो केबुलकार निर्माणले कालिकोटको यातायात सेवामा पहुँच, पर्यटन क्षेत्रको विकास प्रवद्र्धन हुनुका साथै जनताको आर्थिक अवस्था परिवर्तन हुने अपेक्षा गरिएको छ ।