१६ मंसिर २०८१, आईतवार

कालीकोटको विकासका लागी प्रतिवद्ध छुः मन्त्री अधिकारी


कालीकोटः कर्णाली प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा कालीकोट महोत्सवले महत्वपूर्ण सहयोग पुग्ने कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले बताए ।
‘समृद्ध कालीकोट बनाउन कृषि, पर्यटन, संस्कृति, उद्योग र पूर्वाधारका क्षेत्रमा राज्यले लगानी गरेको छ,’ उनले भने, महोत्सवले यहाँका किसानहरुले उत्पादन गरेका रैथाने अन्नबालीको प्रचार गर्नुका साथै निर्यात गरी व्यवसायमा वृद्धि गर्नेछ । कालीकोट उद्योग बाणिज्य संघले आयोजना गरेका पहिलो कालीकोट महोत्सवको उद्घाटन गर्दै मन्त्री अधिकारी यस्तो बताएका हुन् ।
उनले कालीकोट जिल्लामा विकासका लागि पैसा प्रसस्त आएको, कालीकोटकै मान्छे मुख्यमन्त्री हुदा पनि कालीकोटको सडकको विकास नहुँदा आफुलाई दुख लागेको मन्त्री शाहीले बताए । अव हिजोका दिनमा भएका गल्ती कम्जोरी पुन नगरी कर्णालीको विकासका लागि कर्णाली प्रदेश सरकार तत्पर भएर लागिरहेको मन्त्री अधिकारीको भनाई थियो ।
‘समृद्ध कालीकोटको प्रमुख विकासको आधार, कृषि, पर्यटन, संस्कृति, उद्योग र पूर्वाधार’ भन्ने मूलनाराका साथ आयोजना गरिएको कालीकोट महोत्सवको उद्घाटन गर्दै मन्त्री अधिकारीले विकासको लागि आएको बजेटलाई सहि सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले देशमा अर्थतन्त्र खस्किँदो अवस्थामा रहेका बेला कालीकोटमा गरिएको महोत्सवले यहाँको आन्तरिक व्यापारमा सुधार ल्याउने बताए । उनले भने, ’कर्णालीका सम्पूर्ण व्यापारीहरुको हक हितका लागि काम गर्ने उद्योग वाणिज्य संघले प्रदेशका विभिन्न जिल्लामा महोत्सवको आयोजना गरी कृषि, पर्यटन, संस्कृति, उद्योग र पूर्वाधारमा परिवर्तन ल्याउने छौं ।’


कर्णाली प्रदेशसभा सदस्य दुर्गबहादुर रावतले कर्णालीको विकासका लागि राज्य अझै गम्भीर नभएको आरोप लगाए । कर्णालीमा रारा, पँचालझरना, बडिमालिका, सेफोक्सुण्डोजस्ता मुख्य पर्यटकीय सम्भावनाका क्षेत्रहरु भए पनि सरकारले यसको संरक्षणमा ध्यान दिएको छैन । उनले सरकारले कर्णालीलाई अझै पनि दोस्रो दर्जाको प्रदेशमा रुपमा राखेर बजेट विनियोजन गर्ने गरेको आरोप लगाए । ’पर्यटकीय सम्भावना त छँदैछन् जल जंगल र जडिबुटिले कर्णाली आत्मनिर्भर छ,’ उनले थपे, ’राज्यले यदि कर्णालीमा लगानी केन्द्रित गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन भएको खण्डमा राज्यको कोषमा वृद्धि हुन सक्छ ।’
यस्तै अर्का प्रदेशसभा सदस्य दक्षिणा शाहीले नेपाली भाषाको उत्पत्ति भएको कर्णालीमा विभिन्न संस्कृतिले भरिपूर्ण भएको बताइन् । उनले भनिन्, ’पुरानो संस्कृति देउडा, झोडा, मागल, चुट्किला, हुड्के नाचको संरक्षणका लागि पनि महोत्वस आवश्यक हो ।’ कर्णालीले सँधै भिख मागेर यहाँका नागरिकको जीवनमा परिवर्तन आउन नसक्ने तर्क गर्दै उनले राज्यले प्राकृतिक स्रोत र साधनको संरक्षणमा लगानी गरे कर्णाली आफैंमा आत्मनिर्भर बन्न सक्ने सुनाइन् ।

महोत्सवमा स्थानीय उत्पादनहरु राडी पाखी, स्याउ, सिमी ओखर, जडिबुटि, काइनाइटलगायतका कृषि उत्पादनहरु राखिएका छन् ।