८ बैशाख २०८१, शनिबार

विद्यालयमा टिकाउन झोला–कापी वितरण


नेपालगन्ज । नयाँ शैक्षिक सत्रमा विद्यालय भर्ना भएका विद्यार्थीलाई विद्यालयमा टिकाउने उदेश्यले बाँकेको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना भएका बालबालिकालाई झोला र कापी वितरण गरेको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाका छ वटै वडामा रहेका विद्यालयमा भर्ना भएका १ हजार ७ सय ३३ बालबालिकालाई झोला र कापी बितरण गरिएको हो ।

विद्यालयमा भर्ना भएका बालबालिकालाई टिकाउन सहयोग पुग्ने अपेक्षाका साथ बालबालिकालाई झोला र कापी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिए । जानकी गाउँपालिकाको वडानं.५ बेलहरीमा रहेका छ वटा विद्यालयमा कक्षा १ मा अध्ययनरत बालबालिकालाई मंगलवार झोला र कापी वितरण गरिएको छ । यसैगरी वडा नंं ६ गनापुरस्थित ७ वटा विद्यालयका ३ सय ३५ बालबालिकाको लागि झोला तथा कापी वितरणको लागि सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको जानकी गाउँ कार्यपालिका सदस्य राजकुमार धोवीले जानकारी दिए ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले गाउँपालिकाका अति गरिब, विपन्न र आर्थिक रुपले पछाडि परेका परिवारलाई प्रत्यक्ष सहयोग हुने गरी कार्यक्रम सञ्चालन गरिएको बाँके जिल्ला सहजकर्ता केशव चालिसेले बताए ।

एकल महिलालाई झूल

जानकी गाउँपालिका–१ र २ मा रहेका एकल महिलालाई झूल वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत जानकी गाउँपालिकाले झूल वितरण गरेको हो । वडा नं. १ साईगाउँमा १४० र वडा नं. २ बेलभारमा ७१ गरी २१५ एकल महिलालाई मेडिकेटेड झूल वितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम बाँकेका जिल्ला सहजकर्ता केशव चालिसेले जानकारी दिए । उनले गाउँपालिका ६ वटै वडामा रहेका ८२५ जना एकल महिलालाई मेडिकेटेड झूल वितरण गर्ने कार्यक्रम तय भएको बताए ।