७ बैशाख २०८१, शुक्रबार

कालिकोट कारागार सीसीटिभी निगरानीमा


कालिकोट। जिल्लामा धमाधम सीसीटिभी जडान गर्न थालिएको छ । मान्म बजारमा केहि समय अगाढि सिसिटिभि जडान पछि फेरि जिल्ला कारागारमा पनि सिसिटिभि जडान गरिएको हो । सोमवार जिल्ला कारागारमा सिसिटिभि जडानको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारि चन्दबहादुर कार्कीले सीसी टीभीमार्फत प्रहरीलाई अपराध अनुसन्धान गर्न सहज हुने तथा सुरक्षित समाज निर्माणमा थप सहयोग पुग्ने बताए । अपराध र अपराधी समाजकै वरिपरि रहने बताउँदै उनले भने, ‘अपराध अनुसन्धानका क्रममा प्रहरीलाई समुदायको सहयोगी भूमिका हुन जरुरी छ ।’

कतिपय अपराधको अनुसन्धानमा अपराधी पत्ता लाग्न समय लागे पनि अधिकांश घटनाका अपराधी पत्ता लागि कानूनी दायरामा आएको समेत उनले उल्लेख गरे । उनका अनुसार, मान्म वजार सिसिटिभिको निगरानिमा गइसकेपछि अपराधिक अपराधिक घटनामा पनि कम आएको र घटना अनुसन्धानमा पनि सहज भएको छ। जिल्ला कारागार प्रमुख जेलर दलबहादुर बुढाले कारागारको शान्ति सुरक्षालाई व्यवस्थित बनाउन सीसीटीभीले निकै सहज भएको बताए । उनले कारागारभित्र र बाहिरका गतिविधि, बन्दीका क्रियाकलाप, सुरक्षाकर्मीको ड्यूटीको अवस्थालगायतका विषय आफ्नो कार्यकक्षबाटै अवलोकन गर्न सकिने बताए । उनले भने, ’कारागार व्यवस्थापन विभागबाट आएको एक लाख २५ हजार बजेटले कारागारभित्र र बाहिरी भागलाई लक्षित गरी ७ वटा क्यामेरा जडान गरिएका छन् ।

सिसिटिभि जडानमा सहभागि प्रहरि प्रमुख विनोद शर्माले, नेपाल प्रहरीले अंगिकार गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम विगतमा गरिएका कार्यक्रमहरूको अनुभवलाई माझेर परिष्कृत रूपमा आएको जनाए । उनले भने, ‘यो कार्यक्रम पहिलेको अनुभवबाट निखारेर सञ्चालन गरिएको हो । कार्यक्रमलाई सम्पूर्ण समुदायको पूर्ण्विश्वास र सहयोग प्राप्त हुनेमा आशावादी छु । यो भन्दा पहिले मान्म वजारमा जडान गरिसकेका छौ ।’
जडान गरिएका सीसी क्यामराले प्रहरीको काम कारबाहीमा थप चुस्तता आउने बताउँदै उनले प्रविधिको स्थापना गर्ने मात्र नभइ निरन्तर मर्मत गर्दै कायम राखी त्यही अनुरूपको प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए ।उनले भने,राज्यको उपस्थिति प्रत्येक कुना र कन्दरामा हुन नसक्ने भएकाले प्रविधिको प्रयोगलाई बढाइनुपर्ने बताए ।