८ बैशाख २०८१, शनिबार

अवैध बालगृहबाट उद्धार गरिएका बालबालिका परिवारको जिम्मामा


कालिकोट : काठमाडौंमा अबैध बालगृह संचालन गरेर राखिएका कालिकोटका ८ जना बालबालिकालाई जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत अभिभावकको जिम्मा लगाइएको छ। केन्द्रीय बालकल्याण समिति र महानगरीय प्रहरी उद्दार गरेर अभिभावक जिम्मा लगाइएको हो।

उद्दार गरिएका बालकालिकाहरूमा कालिकोट पलाँता गाउँपालिका ९ का १३ वर्षीय विकास बिक, १२ वर्षीया जत्ति बिक, ९ वर्षीया सन्जु बिक, ११ वर्षीय निर्मल नेपाली, पचालझरना गाउँपालिकाकी ७ वर्षीया पवित्र बिक, तिलागुफा नगरपालिका ४ का १२ वर्षीय दिनेश बिक, ११ वर्षीय बसन्त बिक, ९ वर्षीया रेखा बिक रहेका छन्।

बालबालिकालाई घरसम्म पुनर्स्थापनाका लागि साझा सवालका लागि साझा मंचले कालिकोटमा ल्याएर अभिभावकको जिम्मा लगाएको हो। काठमाडौंमा अवैध हो स्टेल चलाएर राखिएका बालबालिकालाई केन्द्रीय बालकल्याण समिति र प्रहरी उद्दार गरेर साझा सवालका लागि साझा मंचलाई पुनर्स्थापनाका लागि जिम्मा लगाएको मंचका सल्लाहकार कमल कोइरालाले बताए। ‘हामीले एक महिना लगाएर परिवारको खोजी गर्‍याे’ उनले भने,‘अहिले हामीले परिवारका नै पुनर्स्थापना गरेका छौं।’

अभिभावक भन्छन्,‘प्रति बच्चा दुई लाख लगियो’

काठमाडौं बुढानिलकण्ड विद्यालयमा १० बर्षसम्म राम्रो पढाई दिने भन्दै जिल्लाकै तिलागुफा नगरपालिका चिल्खायाका जयबहादुर बिकले २/२ लाख रुपैयाँ प्रति अभिभावक उठाएर बच्चा लगेको अभिभावकले आरोप लगाएका छन्। पैसा हातैमा दिएका कारणले अहिले मुद्दा लगायतका कुनै प्रक्रिया नपुगेको उनीहरूको भनाई रहेको छ।

काठमाडौं राम्रो पढाई दिने लोभमा छोराछोरीलाई पठाएको अहिले आएर यस्तो हुन्छ भन्ने आफूहरूलाई थाहा नभएको पचालझरना गाउँपालिका ५ बाँझकोटका ठोसे नेपालीले बताए। ‘गत बर्षको माघ महिनामा २ लाख रुपैयाँ दिएर छोरालाई पढ्नका पठाएको थिए।’ उनले भने,‘यस्तो हालत होला भन्ने मैले कल्पना नै गरिन्।’ अभिभावकको घर घरमा नै गएर जय बिकले पैसा लिएर बच्चा लिएको परिवारको आरोप लगाएका छन्।

पलाता गाउँपालिका ९ का दल कामीले जय विक आफ्नो घरमा नै आएर दुई लाख दिएमा काठमाडौंको बुढानिलकण्ठ स्कुलमा १० बर्ष पढाईदिने बताएपछि छोरीलाई पढ्नका लागि पठाएको बताए। ‘दुई लाखमा राम्रो पढाई हुने भएपछि हामीले काठमाडौं पढ्न पठाएको हो’ उनले भने,‘काठमाडौंमा बच्चा भेट्न जाँदा पनि भेट्न दिइएन्।’

बालबालिका भन्छन,‘हामीलाई गोरु झैं राखियो’

काठमाडौं गएपछि एउटा हो स्टेलमा राखिएको त्यहाँ खानबस्न पढ्नको समेत समस्या भएको पलाँता गाउँपाकिला ९ का १२ वर्षीया जत्ति बिकले बताए। ‘हामी कहिले खान नै पाउँदैनथ्यौं’ उनले भने,‘घरमा फोन सम्पर्क समेत गर्न दिइन्थ्यो।’ लुगा धुने, नुहाउन, बस्नको समेत समस्या भएको तिलागुफा नगरपालिका ४ का १२ वर्षीया दिनेश विकले बताए। ‘होम स्टेलमा लिएर राखियो।’ उनले भने,‘सबै जना एउटै ठाउँमा भुइँका सुत्नु पर्ने अवस्था थियो।’

प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘पीडित भए मुद्दा दायर गर्नुहोस्’

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पीडित परिवारलाई प्रहरी कहाँ मुद्दा दायर गर्न आग्रह गरेका छन्। पैसा दिएर बालबालिकाका पढ्न पठाएको भए त्यो अनुरुप काम नगरेका कारणले पैसा लिएरको प्रमाण सहित प्रहरी कहाँ उजुरी गर्न प्रमुख जिल्ला अधिकारी कार्कीले बताए। ‘प्रमाण सहित तपाइँहरू प्रहरीका कहाँ उजुरी गर्नुहोस’ उनले भने,‘त्यसका लागि म सहयोग गर्न तयार छु।