८ बैशाख २०८१, शनिबार

कसरी बढाउँदै छ सिटौला समूहले दबाब ?


काठमाडाै । कांग्रेसमा तेस्रो समूह भनेर चिनिने सिटौला पक्षले आफ्नो सक्रियता बढाउन थालेको छ । कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको यो समूहका नेताहरूले सोमबार पनि सरकार र पार्टी नेतृत्वको सामूहिक आलोचना गरे ।कांग्रेस पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा नेताहरूले सरकारको विरोध मात्रै गरेनन्, पार्टी नेतृत्वसँग १४औँ महाधिवेशन गर्न माग पनि गरे ।

जिपी कोइराला अध्ययन केन्द्रले गरेको ‘देशको राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा सिटौलासहित गगन थापा, उमाकान्त चौधरी, प्रदीप पौडेललगायत नेताले कांग्रेसकै संस्थापन समूहको आलोचनागरेका हुन् । सरकारले न्यायालयदेखि सुरक्षा संयन्त्र, प्रेस, मानवअधिकार सबैतिर हस्तक्षेपको नीति लिएको आरोप लगाए । साथै, संघीय प्रणालीअनुसारका संयन्त्र बनाएर प्रभावकारी रूपमा पार्टी चलाउन नसक्दा कांग्रेस नेतृत्वले सरकारविरुद्ध दबाब बढाउनै नसकेको उनीहरूको भनाइ थियो ।

  • कांग्रेसभित्र तेस्रो धारको परिचय बनाएको सिटौला समूह पार्टी नेतृत्वविरुद्ध पुनः संगठित हुँदै
    १४औँ महाधिवेशनको प्रक्रिया थाल्न वा निर्वाचनबाट संघीय संरचना बनाउन पार्टी नेतृत्वसँग माग

कांग्रेसलाई सुधार्ने विचार समूहका रूपमा आफूहरूलाई अथ्र्याउँदै उनीहरूले विधि, विधान र पद्धतिअनुसार नचले पार्टी झन् कमजोर भएर जाने टिप्पणी गरे । कार्यक्रममा केन्द्रीय सदस्य शिव हुमागाईं, विद्यार्थी नेता कुन्दन काफ्ले, नेताहरू देवराज चालिसे, उत्तम चापागाईं, रामप्रसाद अधिकारीसहितले पार्टी सुधारका लागि निरन्तर खबरदारीको खाँचो औँल्याए ।

कसरी बढाउँदै छ सिटौला समूहले दबाब ?
१३औँ महाधिवेशनमा सभापतिको निर्वाचनलाई दोस्रो चरणसम्म लगेर निर्णायक देखिएको सिटौला पक्ष यसपटक पनि आफूलाई निर्णायक शक्ति बनाउने गरी अभियान अघि बढाउने तयारीमा छ । पार्टी नेतृत्वले एक वर्ष समय थप गरे पनि अब सदस्यता वितरणदेखि संशोधित विधानले व्यवस्था गरेका संघीय संरचना छिटो गठन गर्न सो पक्षले पार्टी नेतृत्वसमक्ष दबाब बढाइरहेको छ ।

‘हामी हाम्रो दृष्टिकोण अझै प्रस्ट बनाएर जान्छौँ । राष्ट्रिय राजनीति र पार्टीका विषयमा हामी थप सक्रिय हुनुपर्नेछ,’ पौडेलले नयाँ पत्रिकासित भने, ‘पार्टीमा सबै रणनीतिक मुभमा छन् । सबैको तयारी अधिवेशनमुखी देखिन्छ । हामी तेस्रो पक्षका रूपमा सामूहिक पार्टीका फोरममा प्रस्तुत हुन्छौँ ।’

पार्टी फोरम र मञ्चको उपयोग गर्ने नीति
पार्टी नेतृत्व (सभापति शेरबहादुर देउवा पक्ष) को कमजोरी केलाउने र रामचन्द्र पौडेल पक्षको निष्क्रियताको कारण कांग्रेस झन् कमजोर बनेको सिटौला पक्षको निष्कर्ष छ । यही विचार सिटौला पक्षले पार्टी फोरम र विभिन्न मञ्चमा प्रभावकारी ढंगले लैजाने तयारी गरेको छ । यसैका लागि सोमबार काठमाडौंको जमलस्थित नाचघरमा विचार गोष्ठी आयोजना गरेको हो । पार्टी विधि, विधान र पद्धतिअनुसार नचलेको, प्रतिपक्षीका रूपमा कमजोर भूमिका खेलेकोजस्ता विषय पार्टीको केन्द्रीय समितिको बैठक र सार्वजनिक कार्यक्रममा उठाउने तयारी यो पक्षको छ । २२ असारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा सिटौलाले संक्रमणकालीन व्यवस्थाअनुसार पार्टी संरचना बनाइहाल्न वा १४औँ महाधिवेशनको प्रक्रिया अघि बढाइहाल्न दबाब दिने तयारी गरेका छन् ।

सिटौला भन्छन्–सरकार गलत बाटोमा कांग्रेस कमजोर बाटोमा

सरकार न्यायालय, प्रेस, मानवअधिकारसहित संवैधानिक व्यवस्थालाई नै कमजोर बनाउन उद्यत छ । सरकारलाई खबरदारी गर्नुपर्ने कांग्रेस आफैँ कमजोर छ । सत्ताको मूर्खतापूर्ण शैलीका कारण राज्यव्यवस्थाविरुद्ध विप्लव माओवादी सक्रिय हुँदै छ । राजतन्त्रका लागि मान्छेहरू खुलेर आउन थालेका छन् । यस्तो वेला कांग्रेस चनाखो हुनुपर्ने हो । तर, सरकार गलत बाटोमा हिँड्दै गर्दा कांग्रेस पनि कमजोर बाटोमा छ । न हामीले जितेका स्थानीय तहमा पार्टीका संरचना बनायौँ न संघीयताअनुसारका संरचना नै बनायौँ ।

जागरण अभियान ‘नहुनु मामाभन्दा कानोे मामा बेस’ भनेजस्तो मात्रै भयो । यसरी विनासंगठनको यात्राले पार्टी बलियो हुँदैन । हामी आफैँ प्रस्ट नहुँदा हिजो बिपीलाई मुद्दा लगाउनेहरू आज बिपीका अनुयायी हौँ भनेर गलत व्याख्या गर्दै छन् । हामी अलमलिएका छौँ । पार्टीमा हामी धेरै नेताहरू ६५ वर्षमाथि भइसक्यौँ । अब नेताहरू नेतृत्व हस्तान्तरणमा लाग्नुपर्छ । युवाहरू तयारी र कार्यक्रमसहित नेतृत्वका लागि रेसमा उभिनुपर्छ । तर, काठमाडौंमा बसेर मात्रै नेतृत्व पाइँदैन । गाउँगाउँ जानुपर्छ । पार्टीमा सबै एकजुट हुनुपर्छ भन्ने कुरा उठ्छ । तर, एक हुने भनेर हात उठाएर र एउटै थालमा भात खाएर एकता हुँदैन । नीति, कार्यक्रम, विचार, सिद्धान्त, क्षमता र सक्रियताका आधारमा एकता हुनुपर्छ ।

महाधिवेशनको प्रक्रिया थालौँ नत्र संघीय संरचनाको निर्वाचन गरौँ: गगन थापा

सरकार कम्युनिस्ट सत्ता निर्माण गर्न खोज्दै छ । प्रेस, सुरक्षा, गुठी, मानवअधिकारसहितका विधेयकमा उनीहरूको नियतले त्यही देखाउँछ । सरकारलाई चल्न दिने, तर ठेगानमा राख्नुपर्ने वेला आएको छ । सरकार निरन्तर बेइमान बन्दै गएको छ भन्ने गुठी विधेयकको विरोधमा नागरिकहरू चोकचोकमा आएबाट बुझिन्छ । तर, हामी पनि संघीयता र गणतन्त्र हाम्रो हो भन्ने मनोविज्ञानमा नहिँडेसम्म परिवर्तन हुन सक्दैनौँ । पार्टीको इमेजमा दाग लागेको छ । यसमा हामी धेरै पक्ष दोषी छौँ । यी दाग मेट्दै गल्तीलाई सच्चाएर जाऊँ । अबको केन्द्रीय समितिले १४औँ महाधिवेशनको प्रक्रिया थाल्दा पार्टीका कुनै पनि पक्षलाई घाटा पर्दैन । होइन, अधिवेशनमा नजाने हो भने निर्वाचनबाट पार्टीका संरचनालाई पूरा गरौँ । निर्वाचन नगरी काठमाडौंमा बसेर भागबन्डा गरिन खोजिन्छ भने हामीलाई यो मान्य छैन । पार्टी र कार्यकर्तामाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन ।

पार्टी संरचना संघीयताअनुकूल नहुँदा हामी संघीयताविरोधी देखियौँ: उमाकान्त चौधरी

सरकारको सबैतिर कब्जा गर्ने नीतिले लोकतन्त्र र पद्धति बचाउन फेरि पनि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ । तर, सरकारलाई खबरदारी गर्नुपर्ने हामी नै कमजोर छौँ । नातावाद, कृपावाद र पैसावादका कारण हामीले निर्वाचन हा-यौँ । पार्टीका संरचना संघीयताअनुकूल बनाउन कांग्रेसले नै सकेन । त्यसकारण हामी संघीयता विरोधी देखिएका छौँ ।

पहिले कांग्रेस आफैँ बदलिनुपर्छ अनि सरकारलाई बदल्नुपर्छ: प्रदीप पौडेल

हामीले आफ्नै नेतृत्वमा संविधान जारी ग-यौँ । तर, संविधानका व्यवस्थामा हाम्रै पार्टीबाट प्रश्न उठाउने काम भएको छ । संविधान कार्यान्वयन गर्ने, समृद्ध नेपाल निर्माण गर्ने र देश नै बदल्न सरकारले सकिरहेको छैन । तर, सरकारलाई सुधार्नुपर्ने हामी कांग्रेस आफैँ सुध्रिन सकेनौँ । कम्युनिस्टले नराम्रो गर्छन् अनि हामी जित्छौँ भन्नेतिर लाग्यौँ भने हामी झन् कमजोर बन्छौँ ।

प्रेस, सुरक्षा, मानवअधिकार, गुठीसम्बन्धी विधेयकमा सरकारले एकपछि अर्को कमजोरी गर्दा हामी प्रतिपक्षीका रूपमा खरो उत्रिनै सकेनौँ । वाइडबडी, बालुवाटारको जग्गा, टुँडिखेलको विषयमा हामीले किन संसद्मा जोडदार रूपमा कुरा उठाएनौँ ? बरु उल्टै संघीयताप्रति हाम्रो नियतमा प्रश्न उठाइएको छ । हामीले वडादेखि प्रदेश तहसम्म संरचना नबनाएर यसमा बल दिएका छौँ । अब कि १४औँ महाधिवेशनको कार्यक्रम सुरु गर्नुपर्छ नभए विधानअनुसार निर्वाचनबाट संघीय संरचना गठन गर्नुपर्छ । (नयाँ पत्रिकाबाट)