४ बैशाख २०८१, मंगलवार

रारा घुमफिर गर्ने उपयुक्त समय


यो राराको समय हो । वसन्त ऋतुको आगमनसँगै रारा संग्लिँदै छ । चारैतिरका बोटबिरुवा र रूखमा पालुवा छाउन थालेका छन् । रारामा हिमाल र हरिया पहाडको प्रतिविम्ब देखिन थालेको छ । पुस र माघको भारी हिमपातले भत्किएको बाटोघाटो बिग्रिएको छ । तराई र पहाडमा गर्मी बढेसँगै हिमाली क्षेत्रमा चिसो घटेको छ । यही प्राकृतिक फेरबदलसँगै रारा यात्राको याम पनि सुरु भएको पर्यटन व्यवसायी एवं संरक्षणकर्मी बताउँछन् । ‘राराको सिजन सुरु भएको छ । रारा घुमफिर गर्ने यो उपयुक्त समय हो,’ रारा राष्ट्रिय निकुञ्जका वार्डेन लालबहादुर भण्डारी भन्छन् ।

हुन पनि चैतदेखि रारा यात्राको सिजन सुरु भएको छ । चैतदेखि साउनसम्म रारा घुम्ने उपयुक्त मौसम हो । चैत पहिलो सातादेखि नै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बाक्लिँदै गएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार दैनिक एक सय ५० जनाको हाराहारीमा पर्यटक आइरहेका छन् । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक सञ्चालनमा आएसँगै राराका यात्रुलाई पनि सहज भएको छ । यसले पनि आन्तरिक पर्यटकको संख्या विस्तारै बढ्दै गएको वार्डेन भण्डारीले बताए । एक वर्षमा १५ हजार आन्तरिक र दुई सय ४२ बाह्य पर्यटक रारा पुगेका छन् ।

यसपटक रारा आउने पर्यटकको सुविधाका लागि सूचना केन्द्र राखिएको छ । नेपाली सेनाको टोलीले तालको नियमित सफाइ अभियान चलाइरहेको छ । रारा सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्रीदल गुल्मका गुल्मपति रवि केसीका अनुसार पर्यटकको उपचारका लागि सेनाले स्वास्थ्य क्लिनिकको व्यवस्था गरेको छ । त्यस्तै, पर्यटकको वासका लागि दुईवटा होटेल छन् । नजिकका गाउँघरमा होमस्टेको व्यवस्था पनि गरिएको छ । जहाँ खानपिनमा कर्णालीको स्वाद लिन सकिन्छ ।