८ बैशाख २०८१, शनिबार

वीरेन्द्रनगरको बजेट १ अर्ब २० करोड


सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ का लागि १ अर्ब २० करोड बढीको बजेट नगर सभामा प्रस्ताव गरेको छ । मंगलबार भएको वीरेन्द्रनगरको पाँचौ नगर सभामा नगरपालिकाले आगामी बर्षको निती, बजेट, योजना र कार्यक्रमसहितको आय व्ययमा सो प्रस्ताव गरिएको हो ।
नगर सभामा नगर उपप्रमुख मोहनमाया ढकालले झण्डै १४ करोडको आन्तरिक आयसहित कूल १ अर्ब २० करोड ७९ लाख, ३० हजार ४ सय रुपेयाँको बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरण अनुदान २४ करोड २३ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट १८ करोड २१ लाख र संघीय सरकारको ससर्त अनुदानबाट ३५ करोड ९ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।
त्यस्तै वीरेन्द्रनगरले कर्णाली प्रदेश सरकारबाट १ करोड १९ लाख वित्तीय समानीकरण, कर्णाली प्रदेश सरकारको सवारी कर बाँडफाँडबाट ३० लाख १३ हजार, नेपाल सरकारबाट प्राप्त सामाजिक सुरक्षातर्फको २० करोड ४२ लाख, नगरपालिकाको साँझेदारी कोषको ८२ लाख ८० हजार र चालु आर्थिक बर्षको क्रमागत योजनासमेतको गरी ६ करोड ६० लाख रुपैयाँ आगामी बजेटमा समेटिएको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्षका लागि चालुतर्फ ७४ करोड ९३ लाख ३८ हजार ४ सय रुपैयाँ र पुँजिगततर्फ ४५ करोड ३ लाख १२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यस्ता छन् वीरेन्द्रनगरका प्राथमिकता
वीरेन्द्रनगरले नगरको हालसम्म विद्युतीकरण नभएका वडा नं. १४ र १६ मा विद्युतीकरण गर्ने, भौतिक पूर्वाधार बिकासमा का लागि नगरका सबै सडकहरु तथा प्रत्येक घरधुरीको नम्बरिङ्ग गर्दै मेट्रिक ठेगाना प्रणाली लागू गर्ने, मुख्य बजार सडकलाई व्यवस्थित र सुन्दर फुटपाथरहितको सडक बनाउने, नगर क्षेत्रको अव्यवस्थित बसोबास र सडक खोल्ने कार्यलाई निरुत्साहित गर्न जग्गा बिकास गुरुयोजना बनाई लागू गर्ने लगायतका कार्यक्रमहरु अघि सारेको छ ।
नगरपालिकाले एक वडा एक नमूना विद्यालय बिकास कार्यक्रम, टोल टोलमा यूवा स्वयम् सेवक समूह गठन गरी टोल बिकास, वातावरण सरसफाईमा परिचालन गर्ने, प्रत्येक वडामा एक खेल मैदान निर्माण र नगरपालिका स्तरीय मेयर तथा उपमेयर कप खेलकूद प्रतियोगिताको आयोजना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
महिला स्वरोजगार कार्यक्रम, नगरपालिकाभित्रका प्रत्येक स्वास्थ्य संस्थाबाट महिनामा एक पाकेटका दरले महिलालाई सेनटरी प्याड वितरण गर्ने, गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सेवा, नगरपालिकालाई छुवाछुत मुक्त घोषणा गर्ने, ल्याण्डफिल्ड साइट निर्माण, विपद व्यवस्थापन, शिक्षा प्रवद्र्धन नगर कृषी प्रवद्र्धन, नगर स्वास्थ्य प्रवद्र्धन, पशु सेवा प्रवद्र्धन, हरियाली प्रवद्र्धलगायतका क्रियाकलाप र बजेट विनियोजन गरिएको छ ।
पञ्चपुरीको बजेट झण्डै ५५ करोड
यहाँको पञ्चपुरी नगरपालिकाले झण्डै ५५ करोडको बजेट ल्याएको छ । पाँचौ नगरसभामा पञ्चपुरीले ५४ करोड ८० लाख १ हजार ४ सय ५४ रुपैयाँको बजेट ल्याएको हो । संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ११ करोड ५७ लाख रुपैयाँ, १० करोड ४९ लाख राजस्व बाँँडफाँडबाट प्राप्त र १६ करोड २७ लाख संघीय सरकारको ससर्त अनुदानबाट प्राप्त हुने बजेटको आधारमा नगरपालिकाले आगामी बर्षको बजेट बनाएको हो ।
त्यस्तै नगरपालिकाले कर्णाली प्रदेश सरकारबाट १ करोड ३१ लाख ९ हजार रुपैयाँ वित्तीय समानीकरण र ८ लाख ५४ हजार रुपैयाँको राजस्व बाँडफाँडको सिलिङ प्राप्त गरेको छ । पञ्चपुरी नगरपालिकाले आगामी आर्थिक बर्षमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्यसहित बजेट निर्माण गरेको जनाएको छ । सडक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको पञ्चपुरीले आगामी बर्ष सबै वडामा सडक सञ्जाल जोड्ने लक्ष्य लिएको नगर प्रमूख उपेन्द्रबहादुर थापाले बताए ।

लेकबेशीको झण्डै ४९ करोड
लेकबेशी नगरपालिकाले आगामी बर्षका ४८ करोड ४८ लाख ० हजारको बजेट ल्याएको छ । यहाँको कूल बजेटको १३ करोड ७१ लाख २२ हजार चालु र १ करोड ३३ लाख ६६ हजार पुँजीगत बजेट रहेको छ । १ करोड ९० लाख आन्तरिक स्रोत संकलन गर्ने लक्ष्य लिएको लेकबेशी नगरपालिकाको संघीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड ३७ लाख, ससर्त अनुदान १७ करोड ९० लाख, राजस्व बाँडफाँडबाट प्राप्त ९ करोड १३ लाख रकम प्राप्त गरेको छ ।
त्यस्तै, कर्णाली प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानवाफत् १ करोड २ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ८ लाख ६८ हजार र सामाजिक सुरक्षावाफतको ६३ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमूख शान्तिकुमारी छन्तेलले बताईन् ।

सिम्ता गाउँपालिकाको बजेट साढे ३९ करोड
आगामी आर्थिक बर्षका लागि सुर्खेतको सिम्ता गाउँपालिकाले ३९ करोड ५२ लाख ४८ हजारको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले मंगलबारको गाउँसभामा आगामी बर्षको बजेट पेश गरेकी हुन् । ५० लाख आन्तरिक राजस्व संकलनको अनुमान गरिएको सिम्ता गाउँपालिकाले १८ करोड ३४ लाख संघीय सरकारको ससर्त अनुदान, १० करोड १३ लाख समानीकरण अनुदान र ८ करोड ८७ लाख राजस्व बाँडफाँडवाफत प्राप्त रकमलाई आगामी बर्षको आम्दानी मानेको छ ।
त्यस्तै, कर्णाली प्रदेश सरकारबाट १ करोड २ लाख ५१ हजार रुपैयाँ वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडबाट १० लाख ९७ हजार प्राप्त गरेको सिम्ता गाउँपालिकाले चालु आर्थिक बर्षमा ५५ रुपैयाँ बचत हुने अनुमानसहित बजेट बनाएको गाउँपालिका अध्यक्ष कवीन्द्र केसीले बताए ।

चिङ्गाडको बजेट साढे २७ करोड
सुर्खेतको चिङ्गाड गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि २७ करोड ५३ लाख ३९ हजारको बजेट ल्याएको छ । मंगलबारको गाउँसभामा गाउँपालिका उपाध्यक्ष मनमाया आचार्य आरसीले चालुतर्पm १८ करोड ५७ लाख ५४ हजार र पुँजीगततर्फ ८ करोड ९५ लाख ८५ हजारको बजेट विनियोजन गरिएको बताईन् । गाउँपालिकाले संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम र संघीय सरकारको ससर्त अनुदानलाई आधार मानि बजेट विनियोजन गरिएको आचार्यले जानकारी दिईन् ।