८ बैशाख २०८१, शनिबार

स्थानीय र प्रदेश सरकारको बजेट अनुदानमै आश्रित


सुर्खेत । कर्णालीका स्थानीय सरकारहरुको आन्तरिक आम्दानी न्यून देखिएको छ । यहाँका सबै स्थानीय तहले आगामी बर्षका लागि पारित गरेको बजेटमा आन्तरिक आम्दानी न्युन देखिएको छ । कर्णालीमै सबै भन्दा बढी बजेट भएको प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले कूल बजेटको झण्डै १२ प्रतिशत मात्र आन्तरिक आयको अनुमान गरेको छ । १ अर्ब २० करोड ७९ लाख ३० हजार ४ सयको बजेट ल्याएको वीरेन्द्रनगरको आम्दानी आय १३ करोड ९० लाख ९२ हजार रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य राखेको छ ।
त्यस्तै सुर्खेतको गुर्भाकोटले आगामी बर्षका लागि २ करोड २८ लाख ३५ हजार रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य राखेको छ । ५३ करोड २८ लाख ३५ हजारको बजेट ल्याएको गुर्भाकोटको आन्तरिक आम्दानी ४ दशमलव २४ प्रतिशत मात्र देखिएको छ । झण्डै ५५ करोडको बजेट बनाएको सुर्खेतको पञ्चपुरी नगरपालिकाको आन्तरिक आम्दानी २ प्रतिशत रहेको छ । कूल ५४ करोड ८० लाख १ हजार ४ सय ५४ रुपैयाँको बजेट बनाएको पञ्चपुरीले आगामी आर्थिक बर्षमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
आगामी बर्षका लागि ४८ करोड ४८ लाख ४० हजारको बजेट ल्याएको लेकबेशी नगरपालिकाले १ करोड ९० लाख आन्तरिक स्रोत संकलन गर्ने लक्ष्य लिएको छ । त्यस्तै भेरी गंगा नगरपालिकाले आगामी आर्थिक बर्षमा आन्तरिक आम्दानी न्यून अनुमान गरेको छ । सुर्खेतका स्थानीय तहले नगर÷गाउँ सभामा प्रस्तुत् गरेको बजेट संघीय सरकार र प्रदेश सरकारको अनुदानमै आश्रित रहेको छ । स्थानीय सरकारले संघीय सरकारको वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँडमार्फत प्राप्त रकम, सशर्त अनुदान, प्रदेशको राजश्व बाँडफाँड, प्रदेश सरकारको अनुदान, बिशेष अनुदान र आन्तरिक राजश्व संकलन तथा आन्तरिक ऋण परिचालनमार्फत आम्दानी हुने रकमलाई आधार मानी योजना तथा कार्यक्रमहरु बनाएका छन् ।
संघीय सरकार र प्रदेश सरकारले बजेट ल्याएसंगै स्थानीय सरकारहरु पनि धमाधम बजेट निर्माणमा लागेका छन् । पूर्वाधार बिकास र सडक सञ्जाल बिस्तार स्थानीय सरकारको प्राथमिकतामा परेका छन् । आर्थिक बर्ष २०७६÷०७७ को निती तथा कार्यक्रमसंगै बजेट सार्वजनिक गरेका छन् । सुर्खेतका नौ वटै स्थानीय तहले आगामी बर्षको निती कार्यक्रमसहितको बजेट स्थानीय तहको सभामा प्रस्तुत् गरिसकेका छन् ।
प्रदेशको बजेट पनि अनुदामै आश्रित
कर्णाली प्रदेश सरकारको पनि आगामी बर्षको बजेट संघीय सरकारको अनुदानमै आश्रित छ । आगामी बर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट ल्याएको कर्णाली सरकारले २५ करोड १० लाख ४१ हजार आन्तरिक राजस्व अनुमान गरेको लक्ष्य लिएको छ । यो रकम कूल बजेटको ०.७३ प्रतिशत हुन आउँछ । चालु आर्थिक बर्षमा ५० करोड आन्तरिक राजस्व अनुमानको महत्वाकांक्षि लक्ष्य लिएको कर्णाली सरकारले लक्ष्य हाँसिल गर्न नसके पछि आगामी बर्ष त्यसको लक्ष्य आधा घटाउनु परेको कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।
चालु आर्थिक बर्षमा प्रदेशमा राजस्व संकलनको लक्ष्य हाँसिल नभए पछि आगामी बर्षका लागि घटाउनु परेको मन्त्री ज्वालाले बताए । ‘चालु आर्थिक बर्षमा सरकारसंग केही अनुभवको अभाव पनि थियो जसको कारण अनुमान मिल्न सकेन’ उनले भने, ‘चालु बर्षको अनुभवको आधारमा आगामी बर्ष सकिने जती वास्तविक लक्ष्य बनाइएको छ ।’
स्थानीय तहको बजेट झण्डै ५ अर्व
सुर्खेतका ९ वटै स्थानीय तहले ल्याएको कूल बजेट ४ अर्ब ७७ करोड १८ लाख ५५ हजार छ । स्थानीय तहमा सबैभन्दा धेरै बजेट वीरेन्द्रननगर नगरपालिकाले बजेट ल्याएको छ भने सबै भन्दा कम चिंगाड गाउँपालिकाको छ । वीरेन्द्रनगरको १ अर्ब २० करोड बढी छ भने चिंगाडको २७ करोड रहेको छ ।