१२ बैशाख २०८२, शुक्रबार

पेट्रोलियम पदार्थ काम दशैंपछि



दैलेख । पञ्चकोशी क्षेत्र दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि तीन सातादेखि जुटेको चिनियाँ टोली फर्किएको छ । दशैंपछि दोस्रो चरणको अन्वेषणको काम शुरु गर्ने गरी टोली फर्किएको छ । तीन साता अघिदेखि अन्वेषणमा जुटेको चिनियाँ र नेपाली भू–गर्भविद्को टोली स्थलगत अध्ययन गरी फर्किएको हो ।
पहिलो चरणमा टोलीले पेट्रोलियम पदार्थको भण्डारण हुनसक्ने लक्षण, भौगोलिक स्थलगत अध्ययन, हिँड्ने बाटो र सडक, क्याम्प राख्ने स्थानलगायतको अध्ययन गरेको भू–गर्भ विभागका पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले जानकारी दिए । नेपाल सरकारलाई तीन वर्षभित्र अन्वेषणको कार्य सकेर रिपोर्ट दिने कार्ययोजना टोलीले बनाएको छ । ‘पहिलो चरण भनेको स्थलगत अध्ययन भ्रमण हो,’ रजौरेले भने, ‘नेपालका धेरै ठाउँमा टोली पुगेको छ र पहिलो चरणको अध्ययन सकिएको छ ।’ दशैंपछि दोस्रो चरणको काम शुरु हुने र यो चरणको अन्वेषण अवधि ६ महिनाको हुने रजौरेले जानकारी गराए ।
त्यसक्रममा जमिनमुनि कहाँ ड्रिल (कुवा खनेर हेर्ने) गर्ने भन्ने पत्ता लगाई कम्तीमा ४ किलोमिटर जमिनमुनि खनेर कम्पन दिइने बताइएको छ । ड्रिल गरिसकेपछि कति भण्डारण छ भनेर पत्ता लाग्नेछ । हाल जमिनमुनि कहाँ ड्रिल गर्ने भन्ने पत्ता लागि नसकेको भू–गर्भ विभागले बताएको छ । पेट्रोलियम पदार्थ छ भन्ने प्रमाण त दैलेखमा बलिरहेको ज्वाला नै रहेको विभागले औंल्याएको छ ।
दैलेखमा मात्र तेल तथा ग्यास रहेको प्रमाणित भएकाले अन्वेषण यहाँबाट शुरु भएको भू–गर्भ विभागले बताएको छ । चीनको चाइना जिओलोजिकल सर्भेको टोली र नेपालका भू–गर्भ्विदको संयुक्त टोली अन्वेषणमा जुटेका हुन् । यस कार्यको जथाभावी प्रचारबाजी गर्न नहुने भएता पनि प्रचारबाजी भएको टोलीको भनाइ छ ।