६ बैशाख २०८१, बिहीबार

घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण



कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकाले घरघरमा नै गएर सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । कार्यालयमा आएर सेवा लिन नसक्ने बृद्धबृद्धा, एकल महिला, अपाङ्ग र बालबालिकालाई घर घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता दिन थालिएको हो ।

सामाजिक सुरक्षा भत्ता घर घरमा नै पुगेर दिन थालिएको र यसलाई सबै लाभग्राहीलाई सहज भएको तिलागुफा नगरपालिका.४ का वडा अध्यक्ष खड्गराज शाहीले बताए । ‘सामाजिक सुरक्षा भत्ता हामीले घर घरमा गएर दिने व्यवस्था मिलाएका छौं’ उनले भने, ‘यसले लाभग्राहीलाई सहज बनाएको छ ।’

नगरपालिकाका भित्रका सबै वडामा बैंकको पहुँच नभएका कारणले घर घरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको र बैंकको पहुँच हुनासाथ सबै सामाजिक सुरक्षा पाउनेलाई बैंकमार्फत भुत्तानी गर्ने पहल थालिएको वडा अध्यक्ष शाहीले बताए । ‘यो नगरपालिका सबै वडामा बैंकको पहुँच छैन’ उनले भने, ‘बैंकको पहुँच भएमा सकै सामाजिक सुरक्षा पाउनेलाई बैंकमार्फत भुत्तानी गरिनेछ ।’