अख्तियारमा सबैभन्दा धेरै सुर्खेतका उजुरी


सुर्खेत । कर्णालीमा भ्रष्चार र अनियमितताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् । आयोगको सुर्खेत कार्यालयमा मात्र अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०७५÷०७६ मा १ सय ८० उजुरी बढी परेको आयोगका कार्यालय प्रमूख ज्ञानराज सुवेदीले बताए । आर्थिक बर्ष २०७४÷०७५ मा सुर्खेत कार्यालयमा ७ सय ८३ उजुरी परेका थिए भने आर्थिक बर्ष ०७५÷०७६ जम्मा ९ सय ६३ उजुरी परेका छन् ।
आयोगमा परेका उजुरी मध्ये ५ सय ५२ फछ्र्यौट गरिसकिएको र ४ सय ११ उजुरी अनुसन्धानको क्रममा रहेको आयोगले जनाएको छ । आयोगमा उजुरीको संख्या बढ्दै गए पनि बेनामे उजुरी परेका कारण अनुसन्धानमा ढिलाई हुने गरेको कार्यालय प्रमूख सुवेदीले बताए । ‘अधिकांश वेनामे उजुरी आउन थालेपछि अख्तियारलाई अनुसन्धानमा समेत कठिन भएको छ’ सुवेदीले भने, ‘जसको कारण अनियमितताका मुद्धा किनारा लगाउन पनि समस्या भएको छ ।’ पछिल्लो दिनमा भ्रष्टाचारमा संलग्नहरुको घुस लिने र दिने शैली फेरिएको बताए । ‘कतिपय केशमा घुस लिन तेस्रो पक्ष प्रयोग गर्ने र चेकको कारोबार गर्ने गरेको पनि भेट्टिएको छ’ उनले भने ।
आयोगले सुर्खेतका मालपोत कार्यालय, विद्युत प्राधिकरण र खाद्य संस्थानलाई कार्यशैली सुधार गर्न निर्देशन दिएको छ भने गत बर्ष पदीय दुरुपयोग तथा आचरण विपरित कार्य गर्ने कर्णालीका ३८ जना कर्मचारी विरुद्ध मुद्धा दायर गरेको र चारजनालाई घुससहित रंगेहात पक्राउ गरी कार्वाही चलाएको अख्तियार प्रमूख सुवेदीले बताए । आर्थिक बर्ष ०७५÷०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले विभिन्न स्थानबाट ४ लाख ४७ हजार घुस लिन लागेको रकम बरामद गरेको जनाएको छ । आर्थिक बर्ष ०७४÷०७५ मा ११ लाख ७३ हजार ९ सय ९१ रुपैयाँ असुल गरेको आयोगले पछिल्लो आथिएक बर्ष ०७५÷०७६ अघिल्लो बर्षको दोब्बर २२ लाख २२ हजार ५ सय २५ रुपैयाँ असुल गरेको जनाएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत भएसंगै भ्रष्टाचार र अनियमितताका धेरै उजुरी पनि सुर्खेतकै रहेको छन् । गत बर्ष सुर्खेतका २ सय १ उजुरी सुर्खेतका मात्र परेका थिए । दैलेखबाट १ सय ६८ जाजरकोटबाट १ सय २७ र कालिकोटबाट ९१ उजुरी आयोगमा परेको बतायएको छ । सबै भन्दा कम उजुरी डोल्पाका २८ उजुरी मात्र आयोगमा परेका छन् ।
त्यस्तै कर्णालीका ७९ स्थानीय तहमध्ये सुर्खेतको भेरी गंगा नगरपालिका र मुगुको छायानाथ रारा नगरपालिकाको उजुरी धेरै आएको अख्तियार सुर्खेतका प्रमूख सुवेदीले जानकारी दिए । अनियमितताका उजुरी सबैभन्दा बढी शिक्षा मन्त्रालय अन्तर्गतका कार्यालयका रहेका छन् । कर्णालीमा गत बर्ष ३ सय ११ उजुरी शिक्षासंग सम्बन्धित छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतका कार्यालयका २ सय ६३ उजुरी आएका छन् ।
वन तथा वातावरण मन्त्रालय मातहतका कार्यालयका १ सय ५ उजुरी आएका छन् भने सबै भन्दा कम अर्थ मन्त्रालय मातहतका कार्यालयका १ मात्र उजुरी आएको बताइएको छ । विद्यालयको भवन निर्माणमा अनियमितता, गुणस्तरहीन सामाग्री प्रयोग, शिक्षक कर्मचारी नियुक्तिमा अनियमिततालगायतका बिषयमा उजुरी रहेका छन् ।