कर्णालीका लागि कर्मचारी माग्न शाही काठमाडौमा

सुर्खेत । आर्थिक बर्ष २०७६÷०७७ को बजेट पारित भएसंगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका अधिकांश मन्त्रीहरु संघीय राजधानी काठमाडौ गएका छन् । अर्को सूचना नभएसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरी मुख्यमन्त्रीसहित मन्त्रीहरु काठमाण्डौ गएका छन् भने कोही गृह जिल्लातिर फर्किएका छन् । काठमाडौ गएका मुख्यमन्त्री शाहीले केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै विना कुनै ढिलासुस्ती केन्द्रले कर्मचारी खटाउनु पर्ने मुख्यमन्त्री शाहीले बताए ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेशहरुमा कर्मचारी अभाव हुँदा विकास निर्माणका काम अगाडि बढ्न नसकिरहेको बताए । कर्णाली प्रदेशलाई तीन हजार देखि ३५ सय कर्मचारी आवश्यक रहेकोमा त्यसको पुर्तिका लागि ढिलासुस्ती भइरहेको बताए । लोकसेवा आयोगमा कर्मचारी दरबन्दीका लागि लेखि पठाए पनि समय लाग्ने देखिएको बताए ।
कर्मचारी करारमा नियुक्ति गर्ने कानूनी व्यवधान रहेको र लोकसेवाले पनि ढिलासुस्ती गरिदिँदा समस्यामा परेको उनको भनाई छ । कर्मचारी समायोजनपछि अधिकांश कर्मचारीले कर्णाली रोज्न नमानेको भन्दै कर्मचारी अभाव भोगिरहेको बताए । कर्णालीमा जर्बजस्ती पठाइएको महशुस गर्ने गरेको भन्दै त्यसको मार प्रदेशले भोगेको बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘कर्णाली जाऔं जाऔं लाग्ने गरी भत्ता बढाई दिनुपर्छ ।’
करारमा कर्मचारी भर्ना गर्ने अवस्था नभएकोले केन्द्रले तत्काल कर्मचारी पठाउन आवश्यक रहेको उनको भनाई थियो । कर्मचारी अभावले काम गर्ने उत्साह सृजना हुन नसकेको शाहीले बताए । प्राविधिक जनशक्ति करारमा भर्ना गर्ने सूचना प्रकाशित गरेपनि कानुनी व्यवधार आएपछि गर्न नसकिएको जानकारी दिए ।
कर्मचारी अभावका कारण कुल बजेटको आधा पनि खर्च हुननसक्ने अवस्था आएको बताए । उनले भने, ‘कर्मचारी अभावले विकास निर्माणका काम अगाडि बढाउन नसक्दा जनताको अपेक्षा पूरा गर्न सकिएन ।’ कर्मचारी भर्नाको आधार तयार हुन लागेकाले केही आशा जागेको बताए ।