बिपीको त्यो ऐतिहासिक अपिल

हरि अधिकारी
लामो समयदेखि मध्ययुगीन सामन्ती परिपाटीमा चल्दै आएको यस मुलुकमा प्रजातान्त्रिक परिवर्तनको तरंग ल्याउने अभियानमा अप्रतिम ध्येयनिष्ठाका साथ समर्पित रहँदै आएका असाधारण नायक हुन्– बिपी कोइराला । प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने राजनीतिकर्मीका रूपमा उनले सिद्धान्तका तहमा स्वीकार गरी व्यावहारिक राजनीतिका तहमा लागू गर्न खोजेका आफ्ना विचार र जीवन दर्शनलाई लिएर पनि विद्वान्हरूले आ–आफ्नै ढंगले व्याख्या–विमर्श गरेका छन् । राष्ट्रहितमा पूर्णतः समर्पित त्यही संघर्षशील जीवन यात्राका पाइला–पाइलालाई केलाएर उनको जीवन र समयको यथार्थ लेखाजोखा गर्ने प्रयत्न पनि विद्वान् वर्गबाट हुँदै आएको छ ।

प्रतिबद्ध प्रजातन्त्रवादी नेता बिपी कोइरालाको चर्चा हुँदा उनीसँगै उनका समकालीन शासक र प्रतिद्वन्द्वी राजा महेन्द्र शाहको चर्चा पनि अनिवार्य रूपले हुने गर्छ । अधिनायकवादी सोच र महŒवाकांक्षाले उत्प्रेरित राजा महेन्द्र र प्रजातान्त्रिक आन्दोलनका शीर्षस्थ नेता बिपीको मुख्य बाटोमै जम्काभेट भएको हुँदैनथ्यो भने २००७ सालमा आएर सयौँ वर्षसम्मको सामन्तशाही शासनबाट मुक्त भएको यस देशको दशा र दिशा आजको भन्दा बिल्कुल फरक हुने थियो भन्ने कुरामा सायदै विवाद होला । नेपाली जनताको दुर्भाग्यको विषय– महेन्द्र शाह र बिपी कोइरालालाई एकै समय एकै ठाउँमा उभ्याएर नियतिले उनीहरूको भाग्यमाथि एउटा भयानक र अप्रिय व्यंग्य गरेको थियो सायद । त्यस भयानक व्यंग्यले बनाएको घाउ ५९ वर्ष पूरा हुँदा पनि अझै राम्रोसँग निको हुन सकेको छैन । त्यसको उकुच पल्टेको ठाउँ अझै आलो छ ।

शाही अहंकार र प्रधानमन्त्री बिपीको लोकप्रियताले पैदा गरेको जलनको वशीभूत राजा महेन्द्रले २०१७ साल पुस १ गते सैनिक विद्रोह गरी देशकै पहिलो निर्वाचित संसद् भंग गर्नुका साथै संसद्मा दुईतिहाइ बहुमत प्राप्त दलले सञ्चालन गरिरहेको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेर इतिहासको सफा क्यानभासमा गलत मनसुवाको फोहोरी हिलो छ्यापेका थिए । त्यो प्रतिगामी कदम चाल्नुअघि न उनले पर्याप्त गृहकार्य गरेका थिए, न त उनीसँग निर्वाचित सरकारबाट बलात् खोसिएको सत्तालाई जनविश्वास आर्जन गर्न सक्ने गरी चलाउन कुनै भरलाग्दो कार्ययोजना नै थियो । उनले त मध्ययुगीन कुनै सामन्त राजाझैँ ‘प्रचण्ड प्रतापी भूपति’ हुने उत्तेजनात्मक हतारोमा ब्यालेट बक्सविरुद्ध बुलेटको प्रयोग गरेका थिए, त्यति मात्र हो ।

राजा महेन्द्रद्वारा संवैधानिक राजाबाट शक्तिशाली राजा हुने हुटहुटीले रौसिएर चालेको कदमले देशको नोक्सान भने असीमित परिमाणमा गरेको थियो । काखे बालकको रूपमा रहेको लोकतन्त्रको घाँटी अँठ्याएर हत्या गरिएकाले त्यसको काँचो पिचासले अहिलेसम्म पनि हामी नेपालीहरूलाई तर्साइरहेको छ । त्यही घटनाले बिस्तारै–बिस्तारै तर दृढताका साथ आफ्नै सुर र गतिमा उन्नतिको बाटोमा अगाडि बढिरहेको लोकतान्त्रिक देश अचानक अधिनायकवादको बाक्लो हुस्सुमा हराउन पुगेको थियो । राष्ट्रको चेतना नै भुत्ते भएर त्यो फेरि एकपल्ट सामन्ती संस्कार र परम्पराको पिँजरामा कैद हुन बाध्य भएको थियो । समयको स्पन्दन नै बन्द भएझैँ चारैतिर अप्रिय चकमन्नता फैलिएको थियो । एक वाक्यमा भन्ने हो भने राजा महेन्द्रले चालेको त्यस प्रतिगामी कदमले आमजनताको चेतनामा यति नराम्रोसँग प्रहार गरेको थियो, एउटा पूरा पुस्ता नै हतमनोबल र बौद्धिक रूपमा अपांग बन्न पुग्यो । ०१७ सालको त्यो काण्डलाई आधुनिक नेपालको इतिहासको चेहरामा लागेको एउटा गहिरो दागको रूपमा पनि हेर्न सकिन्छ ।

५९ वर्षअघि २०१७ सालमा राजा महेन्द्रले कु गरेर लोकतन्त्रको मर्ममा पारेको गहिरो चोटको आज आएर सम्झनासम्म गर्न खोज्दा पनि मनमा क्षोभको उद्दाम लहर उठ्ने रहेछ । तानाशाही प्रवृत्तिको एउटा प्रतिनिधि पात्रले सनकी किसिमले सैन्यबलको दुरुपयोग गरी मच्चाएको त्यस भयंकर वितण्डाले हाम्रो राष्ट्रलाई पचासौँ वर्ष पछाडि धकेलेको थियो । डेढ वर्षमै जनताले विश्वास गरेका र आन्दोलनको रापतापमा खारिएर आएका नेताहरूको साझा थलो संसद्लाई भंग गरिदिई विनाठोस अभियोग निर्वाचित प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरी जेल चलान गर्ने क्रूरता देखाइएको थियो । त्यसले देश कुनै पनि अग्रगामी कदम उठाउन नसक्ने गरी पछि धकेलिएको थियो । नयाँ शासकले निर्वाचित सरकारद्वारा सुरु गरिएका सबै किसिमका प्रगतिशील योजनामा पूर्णविराम लगाइदिन खोजेका थिए । लोकतान्त्रिक पद्धतिअनुसार विकासको पथमा अगाडि बढ्न खोजिरहेको देश अचानक पुलिसराजमा परिणत भएको थियो । राजाको त्यस कदमले २००७ सालको क्रान्तिका उपलब्धि मात्र समूल नष्ट गरेको थिएन, समयको चक्रलाई फनक्क उल्टो घुमाएर देशलाई फेरि एकपल्ट ००७ सालभन्दा पहिलेको निरंकुश र दिशाहीन मध्ययुगीन राज्यमा परिणत गरिदिएको थियो ।

संसद् र सरकारलाई भंग गरी शासनको लगाम सम्पूर्ण रूपमा आफ्नो हातमा लिएर मात्र राजा महेन्द्र सन्तुष्ट भएका थिएनन् । उनले सायद २००७ सालको क्रान्तिका नायक बिपी कोइराला र उनको पार्टी नेपाली कांग्रेसको नामनिसान नै मेटिदिन चाहेका थिए । त्यसैले उनले प्रधानमन्त्री कोइरालालाई उनका सम्पूर्ण साथी सहयोगीसहित गिरफ्तार गरी लगभग विनाअभियोग र न्यायिक निरूपण ८ वर्षसम्म जेलमा कोचिदिएका थिए । बुट र बन्दुकको बलमा पूरा राष्ट्रलाई नै अधिनायकवादको पिँजरामा कैद गरिएको त्यस परिस्थितिमा जनताका सबै प्रकारका मौलिक हक–अधिकार, तथा अभिव्यक्ति स्वतन्त्रता, निजी सम्पत्ति राख्न पाउने अधिकार, देशभित्र निर्बाध हिँड्डुल गर्न पाउने हक, संगठनको हक र शान्तिपूर्ण ढंगमा भेला हुनेजस्ता सबै हक खोसिएको थियो । राजनीतिक दलहरूमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको र सञ्चार माध्यममाथि सरकारी नियन्त्रण कायम भएकाले देशमा प्रतिपक्षको कुनै अस्तित्व नै छैन झैँ देशको सरहदभित्र मुर्दा शान्ति व्याप्त भएको थियो ।

कुनै प्रकारको कसुर नै नऔँल्याई र विनाकुनै न्यायिक उपचार ८ वर्षसम्म बन्दी बनाइएका बिपी र उनका सहकर्मी कार्यकर्तालाई कारामुक्त भएपछि पनि अनेक जालझेल गरी भारतमा आत्म निर्वासनमा जान बाध्य पारिएको थियो । प्रजातन्त्रको पुनर्बहालीका लागि पार्टीले प्रवासबाट नै पनि अनेक स्वरूप र आयतनका आन्दोलनहरू सञ्चालन ग¥यो । तर, तीमध्ये अधिकांश असफल भएकाले बिपीको जीवन संघर्षको अन्तिम चरण त्यति सुखद रहन सकेन । लगातार बिग्रँदो स्वास्थ्यका कारण पनि उनलाई निकै सकस भइरहेको थियो । त्यसमाथि प्रधानमन्त्री इन्दिरा गान्धीको प्रशासनले बिपी र उनका कार्यकर्ताको भारतको बसाइलाई कस्दै–कस्दै लगेर दुरुह बनाउने लक्षण देखाउन थालेपछि बिपीले ठूलो जोखिम उठाउँदै नेपाल फर्कने अठोट गरे । त्यो ऐतिहासिक निर्णय थियो । बिपीको चरित्रको अत्यन्त सबल पक्ष भनेको वैचारिक लचकता हो । मूल ध्येयप्रतिको निष्ठामा असर नपर्ने गरी सो ध्येय प्राप्तिका लागि आवश्यकताअनुसार रणनीतिक परिवर्तन गर्न बिपी हर्दम तयार रहेको देखिन्छ ।

बिपीले प्रजातन्त्र पुनस्र्थापनाको आफ्नो चीरसञ्चित सपनालाई अधुरै छाडेर ०३९ साल साउन ६ गते महाप्रस्थान गरेका हुन् । आफूले परिकल्पना गरेको लोकतन्त्रको सुनौलो किरण नेपालको सुन्दर र विशाल आकाश र क्षितिजभरि फैलिएको देख्न नपाई उनले मृत्यु वरण गर्नुप¥यो । उनको मृत्यु भएताका नेपाली कांग्रेस पार्टी नै पनि बाटो हराएको बटुवाजस्तो अलमल–अलमलको अवस्थामा थियो । बिपीको त्यस अवस्थामा मृत्यु हुनु र प्रजातान्त्रिक आन्दोलनको आँच अत्यन्त मलीन भएको देखिनु त्यो महान् आन्दोलनको मियोका रूपमा रहेका बिपीको बिदाइका लागि उपयुक्त स्थिति पटक्कै हुन सक्दैनथ्यो । यही कुरालाई ध्यानमा राखेर बिपीको मूल्यांकन गर्ने एकथरीले उनलाई राजनीतिको अखाडाका एक असफल खेलाडीका रूपमा चित्रण गर्ने गरेका छन् ।

यस लेखकका विचारमा भने बिपीले जीवनको उत्तरार्धमा भोगेका असफलताहरूको कसीमा घोटेर उनको व्यक्तित्व र कृतित्वको मूल्यांकन गर्ने यो तरिका पूरै त्रुटिपूर्ण छ । एउटा राजनीतिक प्राणीको जीवनमा सफलता र असफलताका क्षणहरू आलोपालो आइरहन्छन् । मुख्य कुरो हो सम्बन्धित व्यक्तिले आफूले बिताउन खोजेको सामाजिक जीवन यात्राका लागि बनाएको मार्गचित्र । यस कोणबाट हेर्दा बिपी पूर्णरूपेण सफल मात्र होइन, एक युगद्रष्टाका रूपमा देखा पर्छन् । यिनले गधेपच्चिसीमा हिँडिरहेकै वेलामा आफ्नो कर्मभूमि भारत र मातृभूमि नेपालको समाज–राजनीतिक परिस्थितिको अत्यन्तै वस्तुपरक आँकलन र विश्लेषण मात्र गरेका थिएनन् । नेपाली जनतालाई राणा परिवार र शाहीको निरंकुश शासनबाट मुक्त गर्न एउटा बलियो राजनीतिक संगठन आवश्यक छ भन्ने कुरा मनन गरी त्यस्तो संगठन खडा गर्ने आफ्नो अभियानमा साथ दिन त्यतिवेला भारतमा रहेको नेपाली समुदायसँग बडो मार्मिक अपिल पनि उनले गरेका थिए । नेपाली समाजको पुनर्जागरणका अभियान सुरु गर्न कुनै पनि नेपालीले बनाएको त्यो पहिलो र अत्यन्त महत्वपूर्ण मार्गचित्र थियो ।

भारतको स्वतन्त्रता संग्राममा भाग लिएबापत २ वर्षजति अंग्रेज बहादुरको हजारीबाग जेलमा बन्दी जीवन बिताइसकेका क्रान्तिकारी नेपाली युवा बिपी कोइरालाले त्यतिवेला भारतमा रहेको नेपाली जनसमुदायसमक्ष राणा शासनको अन्त्यका लागि संगठित हुन आह्वान गर्दै अपिल लेखेका थिए । विहार, पटनाबाट निस्कने सर्चलाइट र उत्तरप्रदेशको इलाहावादबाट निस्कने अमृतबजार पत्रिकाको वाराणसी संस्करणमा सन् १९४६ को बीचतिरको कुनै महिनामा छपाएको त्यो मार्मिक अपिल यस्तो थियो :

‘यो बडो खेदको विषय हो, आजको समयमा आवश्यकताहरूको परिपूर्ति गर्न नेपालीहरूसँग उनीहरूको आफ्नो कुनै संगठन छैन । अत्यन्तै सीमित उद्देश्य राखेर स्थानीयस्तरमा खोलिएका केही संघसंस्था भने नभएका होइनन् । नेपालमा जनउत्तरदायी सरकारको गठन र भारतका जनतालाई अंग्रेजी औपनिवेशिक शासनबाट मुक्ति दिने व्यापक उद्देश्य राखेर खोलिएको अखिल भारत स्तरको एउटा संगठन आजको समयको माग हो भन्ने कुरामा द्विविधा हुन सक्दैन ।

आज नेपालीहरूका सामुन्ने नेपाल र भारत दुवैप्रति दोहोरो जिम्मेवारी छ । नेपाल हरेक हिसाबले अत्यन्तै खराब अवस्थामा छ । नेपाली जनताले कुनै पनि प्रकारको स्वतन्त्रताको उपभोग गर्न पाएका छैनन् । शासकहरू कानुनभन्दा माथि छन् र जनता अज्ञानता र विपन्नताको गर्तमा भासिएका छन् । छोटकरीमा भन्नुपर्दा आजको नेपाल संसारमा कहीँ नभएको शासकीय पछौटेपनाको एउटा उदाहरण बनेको छ । नेपालीहरूको पहिलो कर्तव्य देशमा विद्यमान पछौटेपनाबाट त्यसलाई मुक्त गर्नु नै हो । लाखौँ नेपालीका लागि मातृभूमि नेपाल राजनीतिक होस् वा सांस्कृतिक उत्प्रेरणाको स्रोत हो । तर, हामीले भारतप्रतिको हाम्रो उत्तरदायित्वलाई पनि बिर्सनु हुँदैन ।

नेपाल भारतको अविभाज्य भाग हो । त्यसैले भारतीय भूमिमा हुने कुनै पनि घटनाले नेपाललाई गहिरोसँग प्रभाव पार्छ । वास्तवमा भन्ने हो भने नेपालका समस्याहरूको गाँठो फुकाउने साँचो मुख्यतः भारतमै छ । घटनाहरूको यो खेदजनक विकासक्रम हो कि यसअघि सक्रिय वा अहिले पनि सक्रियतापूर्वक काम गरिरहेका नेपालीहरूका संगठनहरूले नेपालको स्थिति-परिस्थितिबारे आवश्यक ध्यान दिन सकेका छैनन् । सांगठनिक रूपमा नेपालीहरूले भारतमा स्वतन्त्रताका लागि भएको जीवन र मरणसँग गाँसिएको संघर्षमा आफूलाई जोड्न सकेका छैनन् । वैयक्तिक रूपमा धेरै जनाले त्यस संघर्षमा भाग नलिएका भने होइनन् ।
त्यसैले नेपालीहरूको अखिल भारतीय स्तरको राजनीतिक संगठन, जसले आफ्नो क्रियाकलापमा भारत र नेपाल दुवैलाई समेट्नेछ, आजको समयको माग हो ।

मसँग मेरा देशवासीले सम्पर्क गरेर यस विषयमा अग्रसरता लिन आग्रह गरेका छन् । उनीहरूको आग्रहअनुसार यो कामको जिम्मा लिने मैले अठोट गरेको छु र निकट भविष्यमै नेपाली प्रतिनिधिको एउटा सानो भेला बोलाउने विचार गरेको छु । यसबीचमा मेरो कार्ययोजनालाई लिएर भारत र नेपालमा समेत भएका मेरा कुनै पनि साथीले मलाई दिनुहुने सल्लाहलाई म हार्दिक धन्यवादका साथ स्वागत गर्छु । त्यस्तो सल्लाह, परामर्श प्राप्त भइसकेपछि तिनलाई समेत ध्यानमा राखेर म त्यो भेलाको तिथि र स्थान तोक्नेछु । त्यसैले म जागरुक र उत्साही नेपालीलाई अगाडि बढेर मसँग सम्पर्क गर्न आह्वान गर्छु । मेरो हालको ठेगाना छ– कोजी नुक, ब्यांक रोड पटना ।’ (नयाँ पत्रिका दैनिकबाट)