८ बैशाख २०८१, शनिबार

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु


कालिकोट । अत्यधिक रक्तस्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका– ४ रुप्साकी ३० वर्षीया देवी सहकारीकोे अत्यधिक रक्तस्रावका कारण शनिबार मृत्यु भएको हो । दुइ दिन अघि जिल्ला अस्पताल कालिकोटमा भर्ना भएकी सहकारीको उपचार सम्भव नहुने भएपछि जुम्ला लैजाँदै गर्दा शनिबार बिहान बाटोमै मृत्यु भएको हो ।
शुक्रवार राति १२ बजे पेटमै सहकारीले मरेको बच्चा जन्माएकी थिइन् । टाउको नभएको मरेको बच्चा जन्मिए पछि अत्याधिक रगत बग्न नरोकिए पछि जुम्ला रिफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डाः भिष्म पोख्रेलले बताए । ‘मृतक सहकारीको पाठेघर नखुम्चिँदा अत्याधिक रक्तस्राव भयो । तिन पोइन्ट रगत दियौँ । अन्तमा सम्भव नहुने भएपछि सहकारीलाई जुम्ला रिफर गर्यौँ’, उनले भने ।
समयमै अस्पताल पु¥याए पनि देवीले मृत्यु वरण गर्नु परेको आफन्त लालबहादुर वुढाले बताए । ‘बिरामीको अवस्था जटिलै भए पहिला नै रिफर गर्नु पथ्र्यो । बिरामी मर्ने अवस्थामा आइसके पछि अन्तमा आएर रिफर गरियो । हामीले पनि पहिला नै अस्पताल ल्याउनु पथ्र्यो हाम्रो पनि कमजोरी भयो’, उनले भने । मृतक सहकारीका श्रीमान् लेकको भैँसी गोठबाट आएपछि लास बुझ्ने उनले बताए । सडक सञ्जालले नछोएको नरहरीनाथ गाउँपालिकामा तीन महिना अघि मात्र माल्कोटकी सुत्केरी आमाको उपचार नपाएर मृत्यु भएको थियो । जिल्ला अस्पतालमा सुत्केरी आमाको रिफर पछि मात्र बाटोमै मृत्यु हुने गरेको छ । केही समय अगाडी नरहरिनाथ माल्कोटकी मिना शाहीको उपचारकै अभावमा रिफर पछि दैलेखको गुराँसेमा मृत्यु भएको थियो ।