८ बैशाख २०८१, शनिबार

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाँउपालिका–१ स्थित कालेखोलामा चट्टान फुट्दा ठूलो पहिरो गएको छ । अविरल वर्षाका कारण कालेखोलामा चट्टानै फुड्दा ठुलो पहिरो गएको हो । पहिरोका कारण कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प भएको छ । सडक माथिबाट करिब ३५ मिटर पहिरो आएको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सरन कुमार महताराले बताए । उनका अनुसार पहिरो पन्छाउन समय लाग्ने बताएका छन् । सडक माथिबाट चट्टानै आएर सडकको तलको भाग पुरै भासिकेको छ ।
कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडक खण्ड अन्तर्गत शुभकालिका गाउँपालिका स्थित गगने खोलाको पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएकोमा आइतबार राति कालेखोलामा ठुलो पहिरो गएको हो । कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले कालेखोलामा गएको पहिरोका कारण कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प भएको बताए । पहिरोको अवस्था बुझ्न सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर, जिल्लाका प्रहरी प्रमुख डिएसपी बिनोद शर्मासहितको टोली घटनास्थल पुगि पहिरो पन्छाउन सडक डिभिजन कार्यालय र शुभकालिका गाउँपालिकालाई स्काई भेटरको व्यवस्था गर्न आग्रह गरका छन् ।
वर्षायाम सुरु भएसँगै कर्णाली राजमार्गमा सामान्य पानी पर्दा पनि पहिरो खस्ने समस्या छ । यसले गर्दा राजमार्गमा गुड्ने सवारी साधन र यात्रुहरुले सास्ती खेप्नु परिरहेको छ । आइतबार बिहानदेखि कालिकोट दैलेखको सिमाना दही खोलादेखि गगने भीरसम्म र हुल्मदेखि जिते बजारसम्म सवारी साधनहरुको लामा लागेको छ । यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् ।