१४ बैशाख २०८१, शुक्रबार

नागरिक गुनासो सुनुवाई सुस्त


सुर्खेत । नागरिक गुनासो सुनुवाइका लागि कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको हटलाइन सेवामा गुनासो बढे पनि सुनुवाई भने सुस्त छ । गत आर्थिक बर्षदेखि सरकारले नागरिक गुनासो सुन्ने र समाधान गर्ने गरी हेल्लो मुख्यमन्त्री हटलाई सेवा सुचारु गरेको थियो । एक बर्षमा २ सय १३ गुनासो हटलाईमार्फत सरकारलाई जानकारी गराए पनि त्यसको सुनुवाई भने निकै सुस्त भएको पाइएको छ ।
नागरिकहरुको सञ्चारमा सहज पहुँचले सरकारप्रति गुनासा बढेपनि सरकारले सुनुवाई भने गर्न सकेको छैन । हेल्लो मुख्यमन्त्री हटलाईनमार्फत अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार, बिकासमा भएको ढिलाई तथा विभिन्न सेवा सुविधा प्रभावकारी नभएको बिषयमा नागरिकले गुनासो टिपाउने गरेका छन् । गत बर्ष हटलाईनमार्फत आएका गुनासो मध्ये अधिकांश सडक र विद्युतको बिषयमा रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अधिकृत लालबहादुर खत्रीले जानकारी दिए ।
‘गत बर्ष हटलाईनमार्फत टिपाएका २ सय १३ उजुरी मध्ये २२ वटा सडक निर्माण र २६ वटा विद्युतसंग सम्बन्धित गुनासो आएका छन्’ उनले भने, ‘त्यस्तै तटबन्धन निर्माणका ५ वटा, पुलनिर्माणमा ५ वटा खानेपानीका ७ वटा, टेलिफोन अवरुद्ध भएकोमा १२ वटा तथा कृषि र खानेपानीलगायतका अन्य बिषयका गरी जम्मा २ सय १३ वटा गुनासो प्राप्त भएका थिए ।
यसरी नागरिकले टिपाएका गुनासो सुनुवाईको तथ्याङ्क भने सरकारले राख्न सकेको छैन । कतिपय गुनासाहरु हटलाईन सेवामा टिपेर सम्बन्धित पक्षलाई सुधार गर्न जानकारी गराइएको खत्रीले बताए । प्रभावकारी सेवा, अनियमितता तथा अन्य त्यस्तै प्रकृतीका गुनासोहरु तत्काल सुनुवाई गर्न सकिए पनि बिकास निर्माण र निती निर्माणसंग सम्बन्धित गुनासो सुनाईमा केही समय लाग्ने उनले बताए । कर्णाली सरकारले सार्वजनिक निकायलाई जवाफदेही बनाउन र सरकारी निकायबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन १०९६ मा फोन गरेर गुनासा टिपाउने व्यवस्था गरेको छ । गुनासो टिपाए पनि सुनुवाई नभएको सेवाग्राहीको गुनासो छ ।