अबको दुई महिनाभित्र कर्णालीकै पहिलो डिजिटल वडा बनाउने योजनामा छौ

स्थानीय तहको निर्वाचन भएको दुई वर्षभन्दा बढी समय बितिसकेको छ । दुई वर्षको अवधिमा निर्वाचित जनप्रतिनिधिले जनताको लागि के गरे ? २० वर्षसम्म जनप्रतिनिधीविहीन भएको स्थानीय तहका जनप्रतिनिधीका समस्या के हुन् ? स्थानीय सरकार कसरी चलाइएका छन् ? दुई बर्षसम्म देखिने गरी के–के काम भए र अब स्थानीय तहलाई समृद्ध बनाउने जनप्रतिनिधीको योजना के छन् ? यस्तै विषय वस्तुमा रहेर कालिकोट जिल्लाको शान्नित्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमसंग कर्णालीपाटीका लागि पुष्पराज भट्टराईले गरेको कुराकानीः

  • बिकासका कामलाई कसरी अगाडि बढाउनु भएको छ ?
    विकासको कुरा गर्ने हो भने, हामी निर्वाचित भएको पनि दुई वर्ष भन्दा बढी बितेको छ । दुई वर्षको अवधिमा वडामा तीव्र गतिमा बिकास भइरहेको छ । समाजमा हुनुपर्ने सोचको बिकास हो । तर सोचको बिकास नभएको देखिन्छ । भौतिक बिकासको कुरा गर्दा दुई वर्षको अवधिसम्म मेरो हेराईमा काम राम्रा भएको देखेको छु । सङ्घीय व्यवस्था कार्यान्वयको चरणमा रहेकाले सामान्य समस्या आउन स्वभाविक हो ।
  • दुई वर्षमा तपाइले गर्नु भएका देखिने काम के हुन् ?
    हामीले देखिने गरी वडा कार्यालयको भवन निर्माण गरेका छौ । शान्नित्रिवेणी गाउँपालिका–५ मा कर्णालीकै पहिलो रिङरोड बनाएर प्रत्येक नागरिकको घरदैलोसम्म मोटर बाटो पु¥याएका छौ । खानेपानी, शिक्षा, स्वास्थ्यको पूर्ण व्यवस्था गरेका छौ । केही योजना निर्माणाधीन छन् । कृषिका क्षेत्रमा पनि तीव्र गतिमा काम भइरहेका छन् । कृषि पकेट क्षेत्र घोषणा गरेर काम गरेका छौँ । शिक्षा क्षेत्रमा नमूना क्षेत्र तोकिसकिएको छ । तिनीहरूलाई व्यवस्थित गरेर लैजानेतर्फ लागिरहेका छौँ । खनिएका बाटोको स्तरोन्नती गर्ने अबको हाम्रो योजना छ ।
  • निर्वाचनको समयमा गरेका प्रतिबद्धता पुरा गर्न भयो त ?
    म चुनावी मैदानमा आउदै गर्दा मैले धेरै ठुला प्रतिवद्धता त गरिको थिएन । किन कि मैले काम गरेर देखाउनु थियो । प्रतिबद्धता गरेरमात्रै हुँदैन भन्ने मेरो पहिलेदेखिकै मान्यता हो । जनताको हितका लागि मैले प्रत्येक नागरिकको बैंक खाता, वडामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद, स्मार्ट वडा घोषणा, डिजिटल वडा कार्यालय घोषणा गर्ने प्रतिवद्धता गरेको थिए । ति प्रतिबद्धता केही पुरा भई सकेका छन् । अझ भन्ने हो भने मैले चुनावमा गरेका प्रतिवद्धता ८० प्रतिशत पुरा गरेको छु जस्तो लाग्छ । तर, त्यसको मुल्याङ्कन मतदाताले गर्नु भएको छ भन्नेमा म विश्वस्त छु । बाँकी २० प्रतिशत प्रतिवद्धता पुरा गर्ने गरी काम गरिएको छ । शिक्षा, स्वास्थ्य खानेपानी, रिङरोड पुरा भए पनि अब स्मार्ट वडा र डिजिटल वडा घोषणा गर्न बाँकी छ यो पनि दशैभित्रमा कर्णाली प्रदेशकै डिजिटल वडा घोषणा गर्ने लक्ष्य लिएको छु ।
  • जनप्रतिनिधीलाई काम गर्न के चुनौती छन् ?
    चुनौती गर्ने हो भने थुप्रै छन् । संविधान नयाँ छ तर मान्छेका सोच पुरानै छन् । त्यो सोचमा काम गर्दा धेरै चुनौतीको सामना गर्नु पर्छ । संविधानले गरेका व्यवस्था जनस्तरसम्म पु¥याउन नसकिरहेको अवस्था छ । हामीले धेरै कुरा सिक्न बाँकी छ ।
  • तपाईका अबका योजना के छन ? कसरी कार्यान्वयन गर्नु हुन्छ ?
    हामीले देशको विकास गर्न ‘सुखी नेपाल समृद्ध नेपाली’ को नारालाई अवलम्बन गर्न जरुरी छ । संविधानअनुसार सबै तहका सरकारहरु चल्ने हो भने धेरै काम गर्न सकिन्छ । अहिलेको अवस्थामा कोही कसैको प्रतिष्पर्धी नबनी सहयात्री बन्न्े हो भने अवश्य पनि विकास सम्भव छ । सकारात्मक सोचका साथ अघि बढौँ सहयात्री भावनाको विकास गरौँ सबैलाई समान रूपमा हेरेर समान अवसर प्रदान गर्ने सोच राखेर गर्यौ भने हामी सफल हुने छौ । अब कुरा रह्यो शान्नित्रिवेणी गाउँपालिकाको शान्नित्रिवेणी गाउँपालिका–५ लाख दशैभित्रमा स्मार्ट र डिजिटल घोषणा गर्ने लक्ष्य राखेको छु । शान्नित्रिवेणी गाउँपालिका वडा नं ५ का जनताको गास, बास र शिक्षाको ग्यारेन्टी वडाले गर्ने लक्ष्य राखेको छ हेर्रौ कत्तिको सफल भईन्छ ।
  • डिजिटल वडा घोषणा गर्नका लागि के के पूर्वाधार तयार गर्नुभएको छ ?
    डिजिटल वडा घोषणाका लागि आवश्यक पूर्वाधार तयार भईसकेका छन् । आफ्नै वडाको भवन छ, अव सबै डिजिटल प्रविधिमार्फत जनताको माझमा जानेछौ हस्तलिखित निवेदन दिन पूर्ण रुपमा बन्द भइसकेको छ । नागरिक वडापत्र, डिजिटल हाजिरी, वडाले प्रवाह गर्ने सेवा सुविधा मानिसले चाहेको बेलामा मोवाईलमा नै हेर्न मिल्ने लगायतका प्रक्रिया पुरा गरिसकेका छौ ।
  • युवाहरूलाई रोजगारी सिर्जना गर्न तपाइको योजना के छ ?
    बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन गरिसकेका छौँ । नेपाल सरकारको नीतिअनुसार नै युवाहरूलाई गाउँमै परिचालन गर्ने छौँ । हामीले पनि युवाहरूलाई कहाँ कुन काम दिन सकिन्छ भनेर योजना बनाएका छौँ । कुन व्यक्तिलाई कस्तो किसिमको काम दिने कस्तो काम दिँदा उसलाई राम्रो हुन्छ त्यो निर्धारण गरेर काम दिने तयारीमा छौँ ।