असल शासन अभियन्ताले रकम मागेको आरोप

कालिकोट । बागेश्वरी असल शासन क्लवका कर्णाली प्रदेश संयोजक रमेश नेपालीले कर्मचारीसंग पत्रकारको नाममा रकम असुलेको आरोप लागेको छ । घरेलु तथा साना उद्योग विकास समितिको कालिकोटका कर्मचारीलाई पटक पटक फोन गरी रकम दिनु पर्ने र नदिए समाचार लेख्ने धम्की दिएको ती कर्मचारीले बताए । ‘घरेलु तथा साना उद्योग विकास समितिका एक कर्मचारीसंग तपाईले घरेलुबाट सञ्चालित अनुदानका योजनाबाट उपभोक्ता रकम काट्नु भएको छ । मलाई पनि मिलाउनुस्’ भनेर फोन गर्ने गरेको ती कर्मचारीले बताए ।
घरेलु तथा साना उद्योग बिकास समिति कालिकोटले जिल्लामा सञ्चालित अनुदानका योजनामा उपभोक्ता समितिबाट लाखौ रुपैयाँ असुलेको समाचार सार्वजनिक भए पछि नेपालीले पत्रकारबाट समाचार रोक्न लगाउने जिम्मा लिने बताउँदै बार्गेगिङ गरेको ती कर्मचारीले बताए । ‘मलाई पटक–पटक रमेश नेपालीले फोन गरेर तनाव दिइरहनुभएको छ’ नाम नछाप्ने सर्तमा ती कर्मचारीले भने, ‘तपाईले अनुदानका योजनामा रकम माग्नुभएको छ, उक्त रकमबाट केही प्रतिशत रकम दिएमा सबै कुरा मिलाईदिन्छु भन्दै सताइरहेका छन् ।’
पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेले कसैले पत्रकारको नाममा रकम असुल्ने गरेको भए उजुरी दिन सल्लाह दिएका छन् । महासंघमा वा राज्यका प्रशासनिक निकायमा उजुरी परे कार्वाहीको दायरामा ल्याउनु पर्ने बताए । ‘सवै पत्रकारको मुल्याङ्कन पत्रकार महासंघले गर्न सक्दैन’ उनले भने, ‘त्यस्तो व्यक्ति पत्रकार महासंघको सदस्य भए महासंघले कार्वाही गर्ने र गैर पत्रकार भए प्रशासनमा उजुरी गरे कार्वा हुन्छ ।’
बागेश्वरी असल शासन क्लवका कर्णाली संयोजक रमेश नेपालीले आफु असल शासन साप्ताहिकमा काम गर्ने भएकाले गैर पत्रकार नभएको जिकीर गरे । कुनै पनि कार्यालयमा गएर रकम नमागेको तर घरेलु तथा साना उद्योग बिकास समितिको समाचारबारे बुझ्नका लागि उक्त कार्यालयमा गएको उनले बताए ।