६ बैशाख २०८१, बिहीबार

सिंजा क्षेत्रमा प्राङ्गारिक गाउँ घोषणा अभियान


जुम्ला । जुम्लाको सिंजा क्षेत्रमा पर्ने तीन गाउँपालिकालाई अर्गानिक बनाउने अभियान सुरु भएको छ । हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका ६ वटा गाउँलाई अर्गानिक बनाउने अभियान थालिएको हो । सिंजा क्षेत्रलाई अर्गानिक बाली पकेट क्षेत्रको रूपमा पहिलो चरणको अभियान थालिएको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ ।
कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख डा. तपेन्द्रबहादुर शाहका अनुसार कनकासुन्दरी गाउँपालिकाको लुडकु गाउँ, हिमा गाउँपालिकाको महावैपाथरखोला, ओदी र दधेवार गाउँ र सिंजा गाउँपालिकाको चुलेगाउँ र गोरागाउँलाई अर्गानिक गाउँ बनाउने घोषणा गरिएको हो । ‘जिल्ला नै अर्गानिक जिल्ला घोषणा भइसकेको छ,’ उनले भने, ‘अर्गानिक वस्तु उत्पादनलाई वृद्धि गर्न अभियान थालिएको हो ।’ ती गाउँमा पशुपालन, बाली संरक्षण र जैविक उत्पादनलाई प्राथमिकतामा राखेर अभियान सफल बनाउन स्थानीयलाई परिचालन गरिने भएको छ ।
प्राङ्गारिक नमुना गाउँ सञ्चालक समिति–५ गोराका युवा रामसिंह रावलले धान, सिमी, स्याउ, कागुनोको संरक्षण गर्न सक्रियताका साथ काम गर्ने बताए । ‘रासायनिक खेती जीवनको क्षति, प्राङ्गारिक गाउँ अर्गानिक गाउँ’ नारा तय गरिएको छ । यस्तो अभियानले युवालाई कृषि क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनको छ । उनका अनुसार जुम्लामा उत्पादन हुने अर्गानिक वस्तुको उचित बजारीकरण र आर्थिक लाभ गरी स्वरोगार बन्न सकिने बताइएको छ ।
यस्तै, कृषि ज्ञान केन्द्र जुम्लाले विषादी मुक्त जिल्ला बनाउने उद्देश्यसहित ब्यूटाकोलर प्रयोगमा रोक लगाएको छ । ब्यूटाकोलरको अध्यधिक प्रयोग बढ्न थालेपछि केही स्थानीयले प्रयोग गरेको पाइएमा सेवा सुविधा रोक्का गर्नेसमेत बताउँदै आएका छन् । जुम्लामा उत्पादन हुने अर्गानिक वस्तुको जिल्लादेखि केन्द्रस्तरमा अध्यधिक माग रहेकाले यस्ता कार्यमा कडाई गरिएको कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख डाक्टर तपेन्द्रबहादुर शाहले बताए । कृषि ज्ञान केन्द्र पनि कडाईका साथ अघि बढेको उनले जानकारी दिए ।