८ बैशाख २०८१, शनिबार

कर्णालीका मुख्यमन्त्री शाहीले गरे जलविद्युत आयोजना उद्घाटन

गाउँमा बिजुली जल्दा स्थानीयबासी खुशी

कालिकोट । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पचालझरना गाउँपालिका–४ को लाफागाड लघुजलविद्युत आयोजना उद्घाटन गरेका छन् । साताव्यापी गृह जिल्ला कालिकोटको भ्रमणमा रहेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एक कार्यक्रमकाबीच लघु जलविद्युत आयोजना उद्घाटन गरेका हुन् । ८५ किलोवाट क्षमताको उक्त आयोजना उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले आगामी दुई बर्षभित्र कालिकोटलाई विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोड्ने प्रतिबद्धता जनाए ।
गाउँको बिकासका लागि आफै जुट्नु पर्ने भन्दै उनले विद्युत आयोजना सम्पन्न गर्न उपभोक्ता समितिले गरेको योगदानको प्रशंसा गरे । ‘कर्णालीलाई उज्यालो प्रदेश बनाउने अभियानमा प्रदेश सरकार रहेको र त्यही अनुरुप विभिन्न आयोजनाहरु निर्माण पनि भई रहेका छन्’ उनले भने । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २ करोड ४२ लाख २५ हजार र पचालझरना गाउँपालिकाको १ करोड १५ लाख रुपैयाँको सहयोगमा निर्माण भएको लाफागाड लघुजलविद्युत आयोजनाबाट यहाँका ६ सय ५० घरधुरी लाभान्वित भएका छन् ।
पचाल झरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले गाउँपालिकामा विद्युतीकरणका लागि सुरुवात भएको बताए । बिकासको मुल आधार विद्युत र सडक भएको भन्दै विद्युत उत्पादन र सडक निर्माणमा गाउँपालिकाले प्राथमिकता दिएको बताए । उनले गाउँपालिकामा भएका अन्य लघु विद्युत आयोजना सञ्चालनका लागि पनि पहल भई रहेको बताए । ‘विद्युतीकरणले मात्र गाउँपालिकाका विभिन्न आर्थिक क्रियाकलाप बढाउन सकिने र त्यसले नागरिकलाई आर्थिक समृद्धितर्फ लैजान सक्ने भएकोले हाम्रो प्राथमिकतामा पनि विद्युत र सडक परेका छन्’ उनले भने ।
लामो संघर्ष पछि गाउँमा बिजुली बाल्न पाउने भए पछि स्थानीय बिष्णुलाल न्यौपाने निकै हर्षित भएको बताए । ‘लाफागाड लघुजविद्युत आयोजना निर्माणका लागि गरेको मेहनत र संघर्षले सार्थकता पाएको छ’ उनले भने, ‘यो आयोजना सञ्चालनका लागि भएका दुःखहरुले अहिले गाउँलेलाई खुशी दिएको छ । आयोजना निर्माणमा पचालझरना निबासी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भन्दा हुलाकका कर्मचारी रहेका बिष्णुलालको योगदान रहेको स्थानीयले बताएका छन् ।
८५ किलोवाट क्षमताको लाफागाड लघुजलविद्युत आयोजनाको निर्माणमा ३ करोड ऋण रहेको आयोजना निर्माण समितिका अध्यक्ष विष्णुलाल न्यौपानेले बताए । ‘भौगोलिक कठिनाईका बाबजुद बत्ति बाल्न सफल भए पनि आयोजना निर्माण सम्पन्न हुँदासम्म ३ करोड जनताको ज्याला दिन बाँकी रहेको छ ।’ सामाग्री खरिदका लागि गाउँपालिका र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सहयोग गरे पनि स्थानीय नागरिकको श्रमकोे पारिश्रमिक दिन बाँकी रहेको अध्यक्ष न्यौपानेले बताए ।
लाफागाड लघुजलविद्युत आयोजनाको उद्घाट गर्न आएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ३ करोड ऋणको रहेकोले उक्त ऋण तिर्ने रकमको व्यवस्था गरिनदिन आग्रह गरेका छन् । मुख्यमन्त्री शाहीले उक्त ऋण भुक्तानीका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।