७ बैशाख २०८१, शुक्रबार

कविता र नेता


साउन ३० गते कालीकोटको रास्कोट नगरपालिका वडा नं. ६ स्थित कालाशिल्ला माध्यामिक विद्यालयमा भएको एक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । कालिकोटमै पहिलो पटक कानून तथा अनुसन्धान विषय पढाईको शुभारम्भ कार्यक्रम भएकाले पनि कार्यक्रमप्रति स्थानीयको आकर्षण बढेको थियो । ‘कानूनी शिक्षा आजको आवश्यकता, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित औपचारिक उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सभा सदस्य कुर्मराज शाहीलगायतका सहभागिता थियो । उक्त कार्यक्रमको सञ्चालन गर्ने जिम्मेवारी मैले पाएँ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शाही, प्रधानाध्यापक सन्तराज शाहीलगायत विद्यालय परिवारले दिएको कार्यक्रम सञ्चालकको जिम्मेवारी भूमिका मैले निर्वाह पनि गरेँ । मैले कखरा सिकेको उक्त विद्यालयमा नयाँ संकायको उद्घाटन गर्न पाउनु मलाई पनि खुशी लागेको थियो ।
मुख्यमन्त्रीसहितको जम्बो टोलीलाई स्थानीयले पनि राम्रै स्वागत गरें । हुन पनि कालिकोटजस्तो विकट जिल्लाको छोरो अहिले सिंगो कर्णाली प्रदेशको शासकीय नेतृत्वमा पुग्नु आफैमा गौरवको कुरा हो । यो बेला जनताले सरकारसंग आशा गर्नु पनि स्वभाविक होला । त्यसैलै पनि विद्यालयको कार्यक्रममा स्थानीयको उपस्थिती बाक्लो थियो । स्थानीयले फूलमालाले मुख्यमन्त्रीलाई स्वागत गरिरहँदा उनकै पूर्व सहकर्मीहरु भने नजिकै बम बिस्फोट गराएर त्रसित बनाइरहेका थिए । मुख्यमन्त्री विभिन्न क्षेत्रमा पुगेर बिकासको योजना अनुगमन गर्ने, जनतालाई आश्वस्त पार्ने र सहिद परिवारलाई पनि केही सान्त्वना दिँदै हुनुहुनथ्यो ।
विद्यालयको कार्यक्रम सुरु भयो । शुभकामना मन्तव्य र गीत, नृत्यका कार्यक्रम मलाई उपलब्ध गराइएको कार्यक्रम तालिकामा समेटिएका थिए । कार्यक्रम सञ्चालकको भूमिकामा रहेकाले कार्यक्रमको तालिकालाई जोड्नु मेरो दायित्व पनि थियो । कार्यक्रमकै बिचमा सोही विद्यालयका शिक्षक तथा मेरा दाजु नयरुप धमालाले कविता बाचनका लागि समय माग्नुभयो । कार्यक्रम सञ्चालकको नाताले दाईलाई कविताका लागि समय उपलब्ध गराएँ । कविताको शिर्षक थियो ‘नेता र देउता उस्तै उस्तै’ । कविता वाचन पछि भने मञ्चमै केहीले मुखामुख गरे । कविताका लागि मञ्चमा बोलाइएका मेरा दाजुले कवितावाचन भन्दा अगाडि संक्षिप्त मन्तव्य राख्दै नेकपाको सरकारका काम कार्वाहीप्रति नागरिकहरु सन्तुष्ट नभएरको र यसमा सुध्रिनु पर्ने सुझाव राख्न समेत भ्याउनु भयो । नेता र देउतालाई बिम्ब बनाएर रचिएको कविताका सबै हरफहरु सुनिसकेपछि मञ्चमा कानेखुसी सुरु भयो र यो कवितावाचन गर्न नदिनु पर्ने कुरा मेरो कानमा सुनियो ।
त्यो अभिव्यक्ति मलाई पनि केही तनावको महसुस भयो । आफ्नो सरकारको आलोचना सहने सामथ्र्य भएन होला भनेर चित्त बुझाएँ । धमालाको कवितामा देशको वास्तविकता, नेताको व्यवहार झल्किएको भन्नेमा स्थानीयको अभिव्यक्ति थियो । नेताहरुले भने आफ्नै कार्यकर्ताले सरकारको विरोध गरेको बुझेछन् । कविता वाचन पछि कर्णाली प्रदेश सभा सदस्य कुर्मराज शाही र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सम्बोधनको कार्यतालिका बमोजिम उहाँले पनि सम्बोधन गर्नु भयो ।
मैले पनि त्यो कविताले हलचल ल्याउँला भन्ने कल्पना गरेको थिएन । कविताले सबैको मन दुखाउला धन्ने पनि लागेन । कविताले यतिसम्म हलचल गर्छ भन्ने लागेको भए म सञ्चालकको नाताले दाईलाई कवितावाचनको समयन नदिन सक्थे । मेरो बुझाई साहित्यमा प्रयोग भएका र गरिएका बिम्ब, प्रतीकहरुले यथार्थता, सुझाव, शिक्षा, मार्गनिर्देशन गर्छ भन्ने भएर अवसर दिएँ । कविताका बारेमा किन चर्चा भयो भन्ने लाग्न सक्छ कारण कविता वाचन हुँदै गर्दा मञ्चमा छलफल हुनु र त्यसपछिका शुभकामना मन्तव्यहरु त्यसै कवितामा केन्द्रित भएर गलत सावित भएको पुष्टि गर्न खोज्नुका कारण उक्त कविताका बारेमा यो पंक्तिमा लेख्न खोजिएको हो । जिल्लाकै नमूनाका रुपमा विद्यालय सञ्चालनमा छ । अझ नयाँ बिषयको अध्यापन सुरु हुँदैछ । त्यसमा मुख्यमन्त्री, प्रदेश सभा सदस्यसहित महत्वपूर्ण र जिम्मेवार व्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रमको गरिमा बढाउनैका लागि म पनि त्यहाँ सरिक भएको हुँ । मैले यहाँ बिरोध गर्न खोजेको पटक्कै होइन । सकारात्मक सोच र व्यवहारका कुरा गरिरहँदा नेतृत्वले नागरिकका असन्तुष्टिहरुलाई सुन्दै नसुन्ने, उहाँहरुले जे गरे पनि ‘राम्रै गरिसिन्छ’ भनेर भजन गाउनै पर्ने नागरिकहरु प्रश्न यो हो मेरो । पदमा भएकाहरुले जे गरे पनि सकारात्मक हुने, पदमा नभएकाले जति राम्रो र उत्कृष्ट काम गर्दा पनि नकारात्मक नै सावित गर्नु पर्ने मान्यता यदि कायम गर्न खोजिन्छ भने त्यो सम्भव छैन भन्ने मात्र हो ।
नेपाली कांग्रेसका महासमिति सदस्य दानबहादुर बम, नगरप्रमुख काशिचन्द्र बराल, नेकपा कालीकोटका अध्यक्ष धनजित शाही ‘आदर्श’, प्रदेश सभा सदस्य कुर्मराज शाही र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना दिँदै गर्दा मुख्य र विशिष्ट अतिथिद्धयले त्यहाँका नागरिकहरुमा मानवीय संवेदना नै छैन, उनिहरुले जस्तो जीवनयापन गरेका छन् त्यो जीवन भोगाइको अर्थ छैन ? लाग्यो उनीहरु मानिस नै हैनन् । उनिहरुले बाँच्नका लागि अर्को जीवन लिनुपर्छ ? माननीय ज्यू,हरुको भाषणले मलाई लाग्यो वडा सदस्यदेखि माथिका सबै जनप्रतिनिधिहरुले नमुना काम मात्रै गरिरहेका छन् । उनीहरुका सबै व्यवहारहरु दुधले नुहाए जस्तै छन् । पाँच बर्षको कार्यकाल उनिहरुको राज्य हो । तिनिहरु रामराज्य निर्माणमा व्यस्त छन् । उनिहरुसँग नागरिकहरुले बोल्नु पनि भएन ।
म पनि नेकपाको एक सदस्य हुँ, कसैले मानेपनि नमाने पनि । अझ जुन जोडिएका कविताका रचनाकार कालिकोटमा नेकपाको जन्मदाता हुन् । उनले कैयौं ‘गधाहरु’लाई धोएर गाई बनाउने प्रयत्न पनि गरेका छन् । ‘बिडम्बना दुध दुहुन खोज्दा त्यही गाईले लात्त हान्यो’ यो सत्य हो । व्यक्तिगत आनीबानीका कारण कतिपय कमजोरी भएका होलान् तर इतिहाँस मेटाउने र ज्यूदै मार्ने न दुई तिहाईसँग छ न कुनै पदभार बोकेका महासयहरु सँग । मैले म के गरिरहेको छु त्यो मात्र भन्न सक्छु तर अरुले गरेका कामको सय प्रतिशत सही छ भनेर म भन्न सक्दिन । त्यो भन्नु पनि गलत हो । प्रदेश सरकारले सबै स्थानीय तहका जनप्रतिनिधिहरुले गरिरहेका कामहरु सय प्रतिशत राम्रा भनेर ठोकुवा गर्ने आधार के हो ? के हामी अहिले पनि रैती नै हौं ? के अभिव्यक्ति स्वतन्त्रता खोसिएकै हो त ? मतदाताले जनप्रतिनिधीसंग जिज्ञासा पनि राख्न नपाउने ? सुझाव दिँदा नकारात्मक हुने यो बुझाई कहाँ को हो ? यदि जे भइरहेको छ त्यसमै ल्याप्चे गर्नै पर्ने हो भने किन मन्त्रीलाई बर्खास्त गर्नु प¥यो ? केही हुँदा खेरि आफन्त र निकट हुँ भनेर हुल सिर्जना गर्ने र गलतलाई पनि सत्य सावित गराउने माहोल सिर्जना गर्ने आसेपासे र सल्लाहकारहरुले नेतृत्वलाई डुवाएका कैैयौं दृष्टान्तहरु छन् ।
तसर्थ, सुझाव, सल्लाहलाई गालीमा रुपान्तरण गर्दा घाटा आफैलाई हुन्छ । जसले भोट दिएर जिताउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह ग¥यो उसले भन्न पाउने अधिकार पनि छ । ज्यूहरुले भनेको मात्रै सुन्नु पर्ने भोटरहरुले जिज्ञासा राख्दा, चित्त नबुझेका बिषयमा बिमति राख्दा आकाश खसेको महसुस गर्नु कुन सकारात्मक सोचको मूल हो ? विभिन्न आहोदामा आसिन भएकाहरुका मन मात्रै मन, अरुका ढुङ्गा ? उनिहरुले मात्रै संसार जानेका छन् । बुझेका छन् । अरु सबै भेडा ? आफ्ना नातेदार, आफन्त, अन्धभक्त भएर आफ्नो गुणगान गाउनेले मात्रै मत दिए र बिजयी गराए ? आजीवन यिनै आसेपासेहरु मात्रै काम लाग्छन् र फेरी अरुहरुको सहयोग चाहिदैँन ? यदि यो नै हो भने ठिक छ, हैन भने नागरिकका असन्तुष्टिहरु सुन्ने शाहस गर्नैपर्छ । अनि फराकिलो हुन्छ यात्रा गर्ने बाटो । बुझ्नुहोस् तपाइले जे गर्नुभएको छ त्यो ठिक हो भनेर बासुरी बजाउनेहरुले तपाइलाई नै ओझेलमा पार्ने खेल खेल्दैछन् । यो मै एक जना कसैलाई भन्न खोजेको होइन, समग्रमा जसले सत्ताको बागडोर सम्हालेर सिंह भएको अनुभुति गरिरहनु भएको उहाँहरुलाई साझा प्रश्न हो ? प्रश्न सुन्ने र सही उत्तर दिने, नसके दिने प्रयत्न गर्नु नै फाइदा छ, हितमा छ ।
स्थानीय या प्रदेश सरकारको बिभिन्न नेतृत्वमा रहेका महासयहरुले सञ्चालन गरेका गतिबिधि, उहाँहरुका आनीबानी, व्यहार, कार्यसम्पादनका बारेमा म राम्रैसँग जानकार छु । केहि दृष्टान्त, केही प्रमाण, केहि तथ्यहरुका आधारमा यि सुझावहरु राखेको हुँ । मैले केही पाउने अपेक्षा र केही गुमाउने चिन्तामा यो भनिरहेको छैन, मात्र भनिरहेको छु दुई तिहाईको दम्भमा हामीले जे गरेपनि हुन्छ भन्ने अन्योलमा रहनु हुन्न भन्ने मात्रै हो । कति नमूना र प्रशंसा गर्न योग्य जनप्रतिनिधिहरु पनि छन्, तर उनिहरु ओझेलमै छन्, जसले तिक्डम, खुराफाती गर्छ उसैकै जयजयकार सम्भव छैन र यो आशा नगर्दा पनि होला । कर्तुत आफै बाहिर आउँछ र एकदिन नांगिनुको बिकल्प छैन, त्यसैले एक नागरिकको खबरदारी हो, लायाको अड्तो र बोक्याको सामलले सहि गन्तव्यमा पुगाउँदैन ।           रास्कोट नगरपालिका ६, कालीकोट