शिक्षामा गुणस्तर बढाउन उपचारात्क कक्षा सञ्चालन

कालिकोट । शिक्षामा गुणस्तर ल्याउँन नरहरिनाथ गाउँपालिका र तिलागुफा नगरपालिकामा उपचारात्मक कक्षा सञ्चालन गरिएको छ । सेभ द चिल्ड्रेन र ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपालको साँझेदारीमा सञ्चालित युवा शसक्तिकरण बुलगारी परियोजना अन्तर्गत उपचारात्मक कक्षा सञ्चालन गरिएको हो ।
विद्यार्थीको सिकाई उपलब्धी सुधार गर्नका लागि गैरसरकारी संस्थाको साझेदारीमा स्थानीय तहले कक्षा सञ्चालन गरेका हुन् । शैक्षिक गुणस्तर खस्कदै गएपछि यसलाई रोक्नका लागि विद्यालयमा आएर पनि कमजोर भएका विद्यार्थीहरुका लागि उपचार स्वरुप थप कक्षा सञ्चालन गरिएको बताइएको छ । तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिकाका १४ माध्यामिक विद्यालयमा २५ वटा उपचारात्मक कक्षा सञ्चालन गरिएको युवा सशक्तिकरण बुलगारी परियोजनाका परियोजना संयोजक भुपालसिंह बोहराले बताए ।
सामुदायिक विद्यालयमा गणित, अंग्रेजी, विज्ञान विषयमा विद्यार्थी अनुत्तीर्ण भएको तथ्याङ्कले देखाएका छन् । दुई वटा स्थानीय तहका १४ वटा माध्यमिक विद्यालयमा गणित, अग्रेजी, विज्ञान विषयमा कमजोर विद्यार्थीको शैक्षिकस्तर बढाउनका लागि उपचारात्मक कक्षा संचालन भइरहेको बोहोराले जानकारी दिए । ‘ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुको शिक्षामा गुणस्तर न्युन छ । यसमा पनि तीन वटा विषय जुन गणित, अंग्रेजी, विज्ञान विषयको आधार कमजोर भएका कारण सिकाई उपलब्धी न्युन छ’ उनले भने, सिकाई उपलब्धी बढाउन कक्षा ८, ९, १० मा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको हो ।’
ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडीसेफ) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सन २०१६ देखि तिलागुफा नगरपालिका र नरहरीनाथ गाउँपालिकाका १४ माध्यमिक विद्यालयहरुमा कक्षा ८, ९, १० कक्षाका विद्यार्थीहरुलाई मध्यनजर गरी शैक्षिक सुधारमा सहयोग गर्न कार्यक्रमहरु सञ्चालन गरिरहेको भिडिसेफ नेपाल कालिकोटका अध्यक्ष मीनबहादुर बोगटीले बताए । ‘परियोजनाले दुबै स्थानीय तहमा जिविकोपार्जन र शिक्षा क्षेत्रमा काम गरिरहेको छ ।’
उपचारात्मक कक्षा सञ्चालन भएपछि विद्यार्थीमा पढाईकोस्तर बृद्धि भएको नन्दादेवि उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नसिंह सावदले बताए । ‘उपचारात्मक कक्षामा विधालयले कक्षामा अति कमजोर विद्यार्थी छनौट गरी ३० जनालाई सञ्चालन गरीरहेकाले कक्षामा पढाएको बेला सम्बन्धित विषयमा बढी सक्रिय देखिएका छन्’ उनले भने । बालबालिकाहरुका लागि विद्यालय नियमित जान प्रेरित गर्नका लागि टोलटोलमा उपचारात्मक कक्षा सञ्चालन भइरहेको भिडिसेफ नेपाल कालीकोटका बिकास सुपरिवेक्षक शंकर उपाध्यायले बताए ।