८ बैशाख २०८१, शनिबार

तिजको अवसरमा महिला भलिवल प्रतियोगीता


कालीकोटः जिल्लाको पचालझरना गाउँपालिका खेलकुद विकास समितिले महिलाहरुको महान चाड हरितालिका तिजका अवसरमा महिला भलिवल प्रतियोगीताको आयोजना गरेको छ ।
महिलाहरुलाई खेलक्षेत्रमा अग्रसर गराउनका लागि जिल्लामा पहिलो पटक तिजको अवसरमा महिला भलिवल प्रतियोगीता गर्ने पचाझरना गाउँपालिका पहिलो हो । तिजको अवसरमा महिलाहरुलाई दरको साटो खेलकुदमा अगाडि बढाउनका लागि वडास्तरीय भलिवल प्रतियोगीताको आयोजना गरिएको खेलकुद विकास समितिले जनाएको छ ।


पचालझरना गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रत्न कुमालको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालको प्रमुख आतिथ्यतामा खेलकुद प्रतियोगीताको उद्घाटन गरिएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले हरितालिका तिजमा वर्त बसेर शिव र पार्वती पाउँ भन्नुभन्दा पनि खेलकुद क्षेत्रमा नयाँ विकास भएको बताए । उनले भने, जिल्लामा नै गाउँपालिकाले खेलकुद क्षेत्रमा नयाँ आयाम ल्याएको छ, यसलाई सफल बनाउन सवैको सहयोग आवश्यक छ । महिलाहरुका लागि नयाँ प्रतियोगीता भएको अध्यक्ष सेजुवालले बताए । भलिवल खेलकालागि ७ वटा वडाले सहभागिता जनाएका छन् । खेल भोलीसम्म संचालन हुने गाउँपालिकाले जनाएको छ ।