प्रयोगमा आएनन् लार्खौका भवन

कालीकोटः जिल्लामा निर्माण गरिएका कृषि उपज संकलन केन्द्र प्रयोगविहीन बन्दै गएका छन् । तत्कालिन जिल्ला कृषि विकास कार्यालय र विभिन्न संघ संस्थाको सहयोगमा निर्माण भएका कृषि संकलन केन्द्र प्रयोगबिहीन बन्दै गएका हुन् ।
जिल्लाको राष्कोट नगरपालिकाको सान्तिघाट, नरहरिनाथ गाउँपालिकाको खुलालु, तिलागुफा नगरपालिकाको खल्ला, खाडाचक्र नगरपालिकाको ताडि र कृषि ज्ञान केन्द्र नजिकै रहेका कृषि संकलन केन्द्र प्रयोगविहीन भएका छन् । किसानहरूले बारीबाटै सिधै व्यापारीलाई तरकारी बिक्री गर्न थालेपछि निर्माण गरिएका भौतिक संरचना अलपत्र परेका छन् । निर्माण गरिएका संकलन केन्द्र प्रयोगमा नआउदा पशुचौपायको बासस्थान बनेको छ भने कतिपय कृषि संकलन केन्द्रमा घास दाउरा राख्ने, बालबालिका खेल्ने स्थलको रुपमा परिणत भएका छन् ।
जिल्लामा निमार्ण गरिएको कृषि संकलन केन्द्र निर्माण भएको ७ वर्ष नपुग्दै प्रयोगविहीन बनेको स्थानीय मनि पाण्डेले बताए । संकलन केन्द्र सञ्चालनका लागि प्रयास गरे पनि पर्याप्त मात्रामा कृषिजन्य वस्तुको उत्पादन नहुँदा प्रयोगविहीन भएको उनको भनाई छ । थोरै उत्पादन भएको तरकारी व्यापारी सिधै बारीमै पुग्ने भएकाले लाखौंमा निर्माण गरिएका संरचना अलपत्र परेका छन् । ‘सरकारी रकम लगानी भएकाले त्यसलाई अन्य रुपमा सार्वजनिक स्थल बनाई प्रयोग गर्न सकिन्थ्यो । तर सबैतिरबाट बेवास्ता हुँदा सरकारी रकमको दुरुपयोग भएको छ ।’ केहीवर्षअघि खाडाचक्र नगरपालिकाको ताडिमा रहेको संरचना जिर्ण रहेको छ । त्यस्तो त व्यापारीक मुख्य ठाउँमा निर्माण गरिएकासम्पूर्ण टहरा बेवारिसे अवस्थामा पुगेका छन् ।


संकलन केन्द्रमा सरकारी निकाय र स्थानीयबासीको ठूलो लगानी भए पनि उक्त लगानी खेर गएको छ । यस्तै २०६९ सालमा झन्डै १० लाखको लागतमा खाडाचक्र नगरपालिका–३ ताडिमा निमार्ण गरिएको संकलन केन्द्र पनि अलपत्र परेको छ । २०६९ सालमा निमार्ण गरिएको दुई कोठे भवन अलपत्र अवस्थामा रहेकाले यहि साउनबाट आफुले होटल गरेर बसेको मनराज पाण्डेले बताए । उनले भने, ‘कोठामा पशुचौपायाको मलमुत्र मात्र थियो, १ हप्ता लगाएर सफा गरे १० हजार खर्च गरेर झ्याल ढोका हालेर अहिले होटल गरेको छु ।’ तरकारी राख्नका लागि बनाएको कति भए भवनको हावाले छाना उडाएको छ भने ढलान उप्किदै गएको स्थानीय कृषकको भनाई छ ।