धारीलो हतियारबाट श्रीमान श्रीमती घाईते
कालीकोटः जिल्लाको राष्कोट नगरपालिका वडा नं ७ मा धारीलो हतियार प्रहारबाट २ जना घाईते भएका छन् ।
राष्कोट नगरपालिका–७ स्थित गैरागाउँका ५८ वर्षिय तुले कामी र उहाँका श्रीमति रचना कामी घाईते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । विहिवार बेलुका राती करिव १ बजेतिर आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार भएको हो ।
धारिलो हतियार प्रहारबाट तुले र रचनाको घाटी र कानमा गहिरो चोट लागेको छ । घाईते कामीको जिल्ला अस्पताल कालीकोटमा उपचार हुन नसकेपछि नेपालगन्ज रिफर गरिएको उनका आफन्तले जनाएका छन् । घटनामा संलग्न तिन जनाको विरुद्धमा किटानि जाहेरी दर्ता भएपछि प्रहरीले राष्कोटबाट २ जनालाई प्रक्राउ गरेको छ । ३ जनाको नाममा दिएको किटानीको आधारमा २ जनालाई प्रहरीले प्रक्राउ गरेको छ भने एक जना फरार रहेको प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाले बताए ।
प्रहरीले किटानी जाहेरीका आधारमा राष्कोट नगरपालिका–९ का बुदे लुहार र संरामे तिरुवालाई पक्राउ गरेको छ भने अम्बे तिरुवा फरार रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । फरार रहेका अम्बे तिरुवालाई प्रहरीले खोजिरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबावु ओलियाले बताए । धारीयो हतियार प्रहारबाट घाईते भएका तुले कामी र उनकी श्रीमति रचना कामीसंग दिउसो अम्बरे तिरुवाले झगडा गरेको घाइतेका भाइ रंगे कामिले बताए । दोषीलाई कार्वाही गरी पीडितलाई न्याय दिन उनले माग गरे ।
पक्राउ परेका बुदे लुहारसंग प्रहरीले सोधखोज गर्दा घटनामा प्रयोग भएको चक्कु आफ्नो घरको भएको स्विकार गरेका छन् । फरार अम्बे तिरुवा बुदे लुवारको भिनाजु नाता पर्ने भएकाले बुदेको घरमा राति तिन पटक अम्बे चक्कु माग्न आएको बुदेले बताएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको बताइएको छ । बुदेले चक्कु नदिएपछि अम्बेले आफै चक्कु लिएर गएको बुदेले बयानमा भनेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बुदेले दिएको बयानका आधारमा अम्बे मुख्य दोषि हुनसक्ने प्रहरीले अनुमान गरेका छ ।
कर्णालीपाटी । १५ भाद्र २०७६, आईतवार १०:३९