८ बैशाख २०८१, शनिबार

गाइ हत्याको छानविन गठित समितिले काम थाल्यो


सुर्खेत । गाई मारिएको बिषयमा छानविन गृह मन्त्रालयले गठन गरेको टोलीले छानविन सुरु गरेको छ । बुधबार सुर्खेत पुगेको उक्त टोलीले सुर्खेतका विभिन्न सरोकारवाला पक्षलाई सोधपुछ गरेको छ । सुर्खेतमा मृत भेटिएका चौपायाहरु आफै मरेका हुन् वा मारिएको हो भन्ने बिषयमा मरेका चौपायाको पोष्टमार्टम गरेका पशु चिकित्सकहरुसंग सोधपुछ गरेको जनाइएको छ ।
छानविन समितिले जिल्ला प्रशासन कार्यालय सुर्खेतसंग मरेका तथा जिवित चौपायाको संख्या, अनुसन्धानका लागि गरिएको प्रयास र प्रक्रिया तथा जिवित चौपायाको उद्धारलगायतका बिषयमा सोधपुछ गरेको छ । गृह मन्त्रालयका उपसचिव सागरमणी पाठक संयोजकत्वमा गठित उक्त छानविन समितिले दैलेख पुगेर घटनाका बिषयमा अध्ययन गर्ने जनाएको छ । बुधबार छानविन टोली दैलेख गएको सुर्खेतका सहायक प्रमूख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए ।
गाई मारिएको घटनाका बिषयमा मंगलबारदेखि नै अध्ययन थालिएको छानविन समितिका संयोजक पाठकले बताए । चापाया राखिएको नेपालगन्जस्थित काञ्जिीहाउसको अनुगमन र सरोकारवाला पक्षसंग सोधपुछ गरेको उक्त टोली गाई लिन लागिएको भनिएको दैलेखको श्रीस्थानसम्म पुगेर अध्ययन गर्ने जनाएको छ । ‘कटकुवा र सुब्बाकुनाको स्थलगत अध्ययन पछि हामी दैलेखमा गाई लैजान लागिएको भनिएको श्रीस्थानसम्म पुगेर अध्ययन गर्नेछौ’ पाठकले भने ।
गत विहीबार राती सुर्खेतको सुब्बाकुना र कटकुवामा ३५ वटा गाइ मृत भेटिएका थिए भने सयौको संख्यामा चौपायाहरु अलपत्र अवस्थामा भेएिका थिए । जिवित एक सय ६७ चौपाया स्थानीय प्रशासनले नेपालगन्ज फिर्ता पठाएको थियो । घटनाका बिषयमा वीरेन्द्रनगरमा प्रदर्शन भए पछि भदौ १४ गते १५ दिनको समयावधी दिएर गृह मन्त्रालयले पाठकको नेतृत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको थियो । गाई ल्याउन प्रयोग गरिएका पाँच ट्रक र पाँच जना ड्राइभरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।