युनियनले बुझायो ज्ञापनपत्र

सुर्खेत । नेपाल प्रेस युनियन सुर्खेत शाखाले सूचना तथा प्रविधी मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत पत्रकारलाइ बिना कारण सेवाबाट हटाएको विरोधमा युनियन सुर्खेत जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत सञ्चार मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेशसिंह थापा नेतृत्वको टोलीले सुर्खेतका साहयक प्रमूख जिल्ला अधिकारी कृष्णबहादुर खड्कालाई ज्ञापन पत्र बुझाईएको हो । प्रदेश प्रशारण केन्द्रमा १० वर्ष देखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, तीन वर्षदेखि डोटेली भाषाको समाचार वाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र तीन वर्षदेखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई बर्खास्त गरे पछि युनियन आन्दोलित भएको हो ।
प्रेस युनियन सुर्खेतले पत्रकारको तत्काल पुनर्वहाली गर्न माग गरेको छ । प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेसिहं थापाले पेशागत सुरक्षा र हकहितका लागी लड्ने पत्रकार नै यसरी अपमानित रूपमा बर्खास्त हुनु दुःखद भएको बताए । बिना कुनै जानकारी तीन जना कर्मचारीलाई एकैपटक निस्कासन गर्नु पत्रकारिताको मर्म विपरित रहेको युनियनको ठहर छ । अन्यापुर्ण र अलोकतान्त्रिक निर्णय नसच्याए पत्रकारको हक र अधिकारको लागि आन्दोलनमा उत्रिने युनियनले चेतावनी दिएको छ ।