अर्गानिक कृषि बालीको पाठ्यक्रम बनाउँदै विश्वविद्यालय

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कर्णालीमा अर्गानिक कृषि उत्पादनका लागि पाठ्यक्रम बनाउन थालेको छ । कर्णाली प्रदेश सरकारले लिएको अर्गानिक नमूना प्रदेश बनाउने अभियानमा सहयोग पुग्ने गरी पाठ्यक्रम बनाउन लागिएको हो । देशको आवश्यक जनशक्तिलाई मध्यनजर गर्दै अर्गानिक कृषि उत्पादनको पाठ्यक्रम बनाई लागू गर्न लागिएको विश्वविद्यालय पाठ्यक्रम बिकास केन्द्रका निर्देशक लिलाधर जानकारी दिए ।
कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई समेत ध्यानमा राखेर पाठ्यक्रम निर्माण थालिएको उनले बताए । ‘पाठ्यक्रमबारे सरोकारवाला पक्षसंग विभिन्न चरणमा छलफल भइसकेको छ’ उनले भने, ‘यसका लागि हामीले विभिन्न स्थानको स्थलगत अध्ययन समेत गरिसकेका छौ ।’ विभिन्न छ संकायमा कार्यक्रम सञ्चालन गरिरहेको विश्वविद्यालयले अर्गानिक कृषि उत्पादनमा पाठ्यक्रम निर्माण गरि नयाँ ढङ्गले अध्ययन अध्यापन गराउने जनाएको छ ।
अर्गानिक कृषि उत्पादनका बिषयमा पाठ्यक्रम बनाएर अध्यापन सुरु गर्न सकेमा नेपालमै पहिलो उदाहरणीय कार्य हुने पनि निर्देशक तिवारीले दावी गरे । मानव जीवन र वातावरणीय अनुकुल हुने गरि पाठ्यक्रम बनाउन लागिएको उनले बताए । देशको अन्य भागमा भन्दा कर्णाली प्रदेशमा विषादीको प्रयोग न्युन भएको भन्दै यसले अर्गानिक पाठ्यक्रम र अध्ययनलाई प्रभावकारि बनाउने उनको विश्वास छ ।
पाठ्यक्रम बनाउनका लागि दैलेखको गुराँस गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका र दशरथपुरमा स्थलगत अध्ययन गरिएको छ भने पाठ्यक्रम निमार्णमा कासर विश्वविद्यालय जर्मनीका पूर्व अर्गानिक संकायका डीन डा. पिटर पाठ्यक्रम निर्माणमा जुटेका छन् । अर्गानिक कृषि उत्पादनको पाठ्यक्रम निर्माणले अर्गानिक कर्णाली प्रदेश बनाउनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।