भ्रष्टाचार अन्त्यका लागि साईकल यात्रा

कालीकोटः     देशमा बढ्दै गरेको भ्रष्टाचार अन्त्य गर्नका लागि खोटाङ जिल्लाका कर्ण श्रेष्ठले साइकल यात्रामा निश्केका छन् । २०७५ साल चैत ३ गतेदेखि औपचारीक रुपमा आफ्नो गृह जिल्लाबाट यात्रा सुरु गरेका श्रेष्ठले ५७ जिल्लाको भ्रमण गरेर ५८ जिल्लाका लागि कालीकोट आइपुगेका हुन् ।
साइकलयात्राका क्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई मुख्य उद्देश्य बनाएर यात्रा गरिरहेको बताए । देशको मुख्य समस्या नै भ्रष्टाचार भएकाले त्यसविरुद्ध सबै एकजुट हुनुपर्नेमा श्रेष्ठले जोड दिएका छन् । ५७ जिल्लाको भ्रमण सकेर कालीकोट आएका श्रेष्ठले मान्ममा पत्रकारहरुसंग भेटघाट गर्दै सो कुरा बताएका हुन् । खोटाङ्गको रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ३४ वर्षीय श्रेष्ठले देशका विभिन्न धार्मिक एवं पर्यटकीय स्थल चिनाउने उद्देश्यले चैत ३ गतेबाट यात्रा थालेका थिए । कर्णाली प्रदेशको दैलेख जिल्लाको भ्रमण सकेर कालीकोट आएका श्रेष्ठको देशभरीका ७७ वटै जिल्लाको भ्रमण गर्ने योजना रहेको छ ।
पर्यटन क्षेत्रको विकास गर्न र आत्मनिर्भर बन्नसके मात्रै समृद्धि सम्भव छ भन्ने मान्यताका साथ श्रेष्ठले साइकल यात्रा थालेका छन् । ‘भ्रष्टाचार मुक्त समाजको निर्माण गरौं, धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रबद्र्धन गरौं,’ भन्ने नारा बोकेर उद्योग बाणिज्य संघको सहयोगमा यात्रामा निक्लिएका श्रेष्ठले समृद्धिको मुख्य आधार शिक्षा भएकाले व्यावाहारीक र प्राविधिक शिक्षाको आवश्यकतामा जोड दिए । पूर्वको मेचिदेखि पश्चिमको महाकालीसम्म नेपाल विभिन्न सम्भावना बोकेको देश भएपनि यहाँ भएका स्रोत र साधनलाई प्रयोग गर्न नसकेको भन्दै यस्तो धार्मिक पर्यटकीय स्थलको प्रचार प्रसारका लागि आफु साईकल यात्रामा आएको बताए ।
नेपालमा भएका अधिकाँश पर्यटकीय स्थलको संरक्षण गर्न नसकेको बताए । विश्वमा नपाईने जडिबुटी नेपालमा पाईन्छ, खनिज, पेट्रोल नेपालमा हुदाँ पनि यसको सहि सदुपयोग र उत्खनन हुन सकेन । पछिल्लो समय देशमा विकासका नाममा मौलाएको भ्रष्टाचार र अनियमितता भएको खवर जताततै आइरहेको छ । उनले भने, नेपाल कृषि प्रधान देश भएपनि बास्तविक कृषकले सरकारले दिएको अनुदान नपाउने, कृषि बजारको विस्तार गर्न नसकेको, नेपाल सरकारले कृषकको कृषि विमा प्रभावकारी गर्न नसकेकाले कृर्षि प्रधान देशको अस्तित्वनै हराउर्दै जाने खतरा बढढेको छ । खोटाङमा किराना पसल सञ्चालन गरिरहेका श्रेष्ठ साइकल यात्रामार्फत् पर्यटकीय क्षेत्र र धार्मिक स्थलहरु चिनाउन तथा भ्रष्टाचारविरुद्ध नेपाली जनतालाई एकजुट बनाउन थोरै खर्चमा प्रत्येक जिल्ला पुग्न सकिने भएकाले साइकल यात्रा उपयुक्त माध्यम लागेको बताउछन् ।
व्यवहारिक शिक्षा र सो अनुरुपको रोजगारीको अवसर नहुँदा युवाहरु विदेशिन बाध्य भइरहेको उनको बुझाइ छ । हावापानी, भूगोल र स्थानीय साधन स्रोत सदुपयोग गर्न सकिने शिक्षा नभएकाले लाखौं प्रजातीका बनस्पति जडीबुटी, ८३ हजार मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने र खेती सिंचाइ गर्ने जलश्रोत, कच्चा पदार्थ र खनिज पदार्थहरु त्यसै खेर गइरहेको छ ।’ श्रेष्ठले भने ।