६ बैशाख २०८१, बिहीबार

गोठमा सुत्केरी हुने महिलाको संख्या घट्यो


कालीकोटः पछिल्लो समय गोठमा सुत्केरी हुने महिलोको संख्या घटेको छ । आजभोली कालीकोट जिल्लामा स्वास्थ्य संस्थामा सूत्केरी हुने महिलाहरुको संख्यामा बृद्धि भएको छ । जिल्लामा संघियतापछि बनेका जिल्लाका ९ वटै स्थानीय तहको तथ्यांक हेर्ने हो भने स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सख्यामा बृद्धि आएको हो ।
गोठमा सुत्केरी हुर्दै आएका महिलाहरुले गुणस्तरीय स्वास्थ्य सेवा वडाहरुमै पाउन थालेपछि स्वास्थ्य संस्थामा सुत्ेकरी हुने महिलाको संख्यामा बृद्धि भएको जिल्ला अस्पताल कालिकोटका सूचना अधिकारी दिपबहादुर रावलले बताए । जिल्ला अस्पतालमा आर्थिक बर्ष २०७४∕०७५ मा ३ सय ५६ जना महिलाहरुले प्रसुति सेवा लिएका छन् भने आर्थिक बर्ष २०७५∕०७६ मा उक्त संख्या बढेर ४ सय ७७ जना महिलाहरुले सेवा लिएको रावलले बताए । यत्तिमात्र होईन चालु आर्थिक बर्षको साउन र भदौ महिनामा मात्र १ सय जनाभन्दा बढी महिलाहरुले प्रसुति सेवा लिईसकेका छन् ।
जिल्लाको सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाको दाँहाँ र पाखा स्वास्थ्य चौकीमा आएर प्रसुति सेवा लिनेहरुको संख्या २ सय ५ जना रहेको खाँडाचक्र नगरपालिका स्वास्थ्य संयोजक रबिन्द्र सेजुवालले बताए । चालु आर्थिक बर्षको दुई महिनामा ४९ जना महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । जिल्लाको रास्कोट नगरपालिकामा पनि बर्षेनी स्वास्थ्य संस्थामा आएर प्रसुति सेवा लिने महिलाहरुको संख्यामा बृद्धि भएको छ । रास्कोट नगरपालिका स्वास्थ्य संयोजक हंशराज बरालका अनुसार आर्थिक बर्ष २०७४∕०७५ मा रास्कोट नगरपालिकाका तीन वटा स्वास्थ्य संस्थामा ३ सय महिलाहरु स्वास्थ्य संस्थामै सुत्केरी भए भने आर्थिक बर्ष २०७५∕०७६ मा ३ सय ५० जनाले स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । उनका अनुसार चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा ८९ जना महिलाहरुले स्वास्थ्य संस्थामा आएर प्रसुति सेवा लिईसकेका छन् । रास्कोट नगरपालिका प्रमूख कासीचन्द्र बरालले नगरको वडा नं ९ देखी घरमा सुत्केरी मुक्त वडा बनाउने अभियान थालेको बताए । उनले गत आर्थिक बर्षमा रास्कोट नगरपालिका वडा नं. ९ का एक जना पनि महिलाहरुले घरमा बच्चा नजन्माएको दाबी गरे । नगरपालिका वढा नं. ९ फुकोटमा रहेको स्वास्थ्य चौकीमा गत आर्थिक बर्षमा ६७ जना महिलाहरु प्रसुति भएका थिए ।
जिल्लाको पलाँता गाँउपालिकामा पनि स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरुको संख्या बृद्धि भएको छ । पलाँता गाँउपालिका स्वास्थ्य संयोजक हिमाल संज्यालका अनुसार गाँउपालिकामा आर्थिक बर्ष २०७४∕०७५ मा १ सय ७५ जना महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी भए भने आर्थिक बर्ष २०७५∕०७६ मा २ सय ६४ जना महिलाहरुले स्वास्थ्य संस्थामा आएर प्रसुति सेवा लिएका छन् । उनका अनुसार चालु आर्थिक बर्षको दुई महिनाको अवधिमा ३४ जना महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी भएका छन । पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले चालु आर्थिक बर्षदेखी घरमा सुत्केरी मुक्त गाँउपालिका बनाउनका लागि महिला स्वास्थ्य स्वयमसेवीकालाई सक्रिय बनाउन मासिक ६ हजार तलव दिने व्यवस्था गरिएको बताए ।
यस्तै जिल्लाको सान्नीत्रिवेणी गाँउपालिकामा पनि स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरुको संख्यामा बृद्धि भएको छ । सान्नीत्रिवेणी गाँउपालिका स्वास्थ्य संयोजक मिनबहादुर बिष्टका अनुसार आर्थिक बर्ष २०७४∕०७५ मा २ सय १४ जना महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी भए भने आर्थिक बर्ष २०७५∕०७६ मा २ सय ४५ जना महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । उहाँका अनुसार चालु आर्थिक बर्षको दुई महिनामा ४१ जना महिलाहरुले स्वास्थ्य संस्थामा आएर प्रसुति सेवा लिईसकेका छन् ।