७ बैशाख २०८१, शुक्रबार

यात्रु सहायता कक्ष स्थापना


कालीकोटः दसैँ, तिहारलाई लक्षित गर्दै कालीकोट प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्ला ट्राफिक कार्यालय कालीकोटले जिल्लाको सदरमुकाम मान्मको जिरो प्वाइन्टमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।


दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाले बताए ।
‘विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको हो,’ डिएसपी ओलीयाले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहायता गर्न यात्रु सहायता कक्षले सहयोग गर्नेछ ।’ यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उनले जानकारी दिए ।
उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् । सहायता कक्षको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले यात्रुहरूलाई सहजताका लागि स्थापना गरिएको हो । कुनै पनि बेला यात्रुहरूलाई सहजताका लागि स्थापना भएको कक्षले यात्रुहरूलाई सहयोग पुग्ने सरोकारवालाको भनाई छ ।
यात्रुहरूबीच सवारीचालकले लापरवाही गरे उजुरी गर्नसक्ने अवस्था सिर्जना गरिएको हो । यात्रुका लागि सुरक्षित यात्रा गर्न सजिलोका लागि सहायता कक्ष स्थापना गरिएको बताइएको छ । कक्षले दुर्घटनाबाट बचाउनुका साथै यात्रहरुलाई विभिन्न स्थानको विषयमा पनि जानकारी गराउने छ । सहायता कक्षको उद्घाट गर्दै डिएसपी ओलीयाले सवारी साधन चलाउनु पूर्व यात्रुहरुको संख्या, नाम ठेगानाको अभिलेख अनिर्वाय राख्नुपर्ने बताए । उनले भने, यात्रुसंग मित्रवत् व्यवहार गर्ने, यात्रुमैत्री, गति सिमित गर्ने, ट्राफिक नियमको पूर्ण पालना गर्नुपछ ।’ यात्रुहरुले पनि सवारीसाधनको प्रयोग गर्न मादक पदार्थको प्रयोग नगर्ने, सवारीसाधनबाट ओर्लीदा दायाँ बायाँ हेरेर ओर्लीने गरेमा जुनसुकै ठाउँमा सहजताका साथ यात्रा गर्न सकिने उनको भनाई छ ।


साथै यात्रु सहायता कक्षको उद्घाटनमै कालीकोट जिल्लाबाट लामो दुरीका सवारी साधन चलाउने ७ जना ड्राइभरलाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको छ । जिल्लामा लामो दुरीमा पनि सहजै यात्रा गराउन सफल भएको भन्दै ड्राइभरलाई सम्मान गरेको हो ।