७ बैशाख २०८१, शुक्रबार

मेरो जीवनको आदर्श ‘अपूर्ण’


दिपक अभिलाषि

कुरा त्यति बेलाको हो, जतिबेला म कक्षा ५ मा अध्ययनरत थिएँ, अर्थात आजभन्दा करिब ९ वर्ष अगाडी । त्यो समयमा गाउँमा रेडियो श्रवण गर्नेको एउटा अत्यन्तै विशाल जमात थियो । तर मलाई भने रेडियो श्रवण गर्ने काम प्रति कुनै मोह थिएन । किन्तु एक दिन हजुरआमाले रेडियो श्रवण गरिरहेको ताका म हजुरआमाको शयन कोठा प्रवेश गर्दै गर्दा एउटा आवाज सुने ‘आवाज बिहिनहरुको आवाज ! आफ्नै परम्परा आफ्नै रितिरिवाज !! यतिबेला यहाँहरु सुन्दै हुनुहुन्छ, रेडियो नयाँ कर्णाली १०२ टिम्को ८ मेगाहर्ज’ जुन आवाज श्रवण पश्चात् नै मेरो अन्तरह्दयमा गएर बस्न सफल भयो । त्यो आवाज थियो कृष्णराज धमाला ‘अपूर्ण’ को । त्यो आवाज सुनेकै दिनदेखि रेडियो श्रवण प्रतिको चाहले मेरो अन्तरह्दयमा आफ्नो क्षेत्रफल फराकिलो बनाउँदै गयो, र नबिराइकन सुन्दै गएँ रेडियो नयाँ कर्णाली । मंगलवार ९ः१५ देखि अर्थात द्यद्यऋ नेपाली सेवा प्रसारण पश्चात् करिब १०ः०० बजेसम्म ‘अपूर्ण’ को आवाजमा गुञ्जिने कार्यक्रम ‘सिर्जना र संगीत’ सँगको प्रेम फुल्दै गयो । खुसिका प्रकार धेरै हुन्छन् । जस्तो कि नौ महिना अर्थात २८० दिन पेटभित्र गुम्साएर राखेको प्राणभन्दा प्यारो शिशुलाई यो अनुपम संसारमा कोमल पाउको स्पर्श गराउँदा ममतामयी माताको अनुहारमा आउने खुसी । जस्तो कि अत्याधिक प्यार गरेको एउटा परार्थी प्रेमीले अत्यन्तै लामो समयको प्रतिक्षा पश्चात् आफ्नो प्रेमीका भेटाउँदाको खुसी । जस्तो कि जीवनको विराट् कालखण्डको विशाल सङ्घर्ष पश्चात् जुनसुकै व्यक्तिले सफलता हाँसिल गर्दाको खुसी आदि, ईत्यादि । यस्ता खुसी भन्दा कम थिएन, ‘अपूर्ण’ को आवाजमा गुञ्जिने कार्यक्रम ‘सिर्जना र संगीत’ सँगै लुट्पुटिएर कमसेकम मेरो अनुहारमा आउने खुसी । यो खुसीको आगमन पश्चात् देख्न थालेको हुँ । कर्णप्रिय आवाजको धनी मेरो नायक ‘अपूर्ण’ सँग भेटेर मनभरि भरिएको, निर्लिप्तता पुर्वक गरिएको एकोहोरो प्रेमको सगरमाथा जस्तै अग्लो र महासागर जस्तै गहिरो सपना । मान्छेको अन्तरह्दयमा निहित पीडा, तड्पन, निराशा, कुण्ठा, आवेग लगाएत तमाम् तनावग्रस्त कुराहरुलाई निराकरण गर्नका लागि शान्तिको महत्वपूर्ण भुमिका रहन्छ । त्यो शान्ति कि त सिर्जनाले दिन्छ, कि त संगीतले दिन्छ । ह्दयलाई शान्तिको मार्गसम्म पुगाउने अर्थात मुलुकको संवेदनालाई आवाज र अक्षर मार्फत छाम्ने क्षेत्र साहित्य, संगीत र पत्रकारितामा क्रियाशिल ‘अपूर्ण’ सँग भेट्ने मेरो सपना उनीसँग अप्रत्यक्ष रुपमा बसेको प्रेमको ५ बर्ष पछि मात्र पूरा भयो । नविन उमङ्ग, जोस, जाँगर, हर्ष, उल्लास तथा नितान्त फरक अनुभूतिहरुसँगै आएको नयाँ बर्ष २०७० ले उपहार स्वरुप ‘अपूर्ण’ सँग जीवनको ऐतिहाँसिक भेट गरायो । किर्डाक नेपाल कालिकोटले आयोजना गरेको ४ दिने पत्रकारिता तालिममा म तत्कालिन सुकाटिया गाविस को वाल सञ्जालको प्रतिनिधित्व गरेर सहभागि भएको थिएँ । त्यतिबेला म गाविस वाल मञ्चको अध्यक्ष भएको हुनाले पनि म जानै पर्ने पनि थियो । मैले रेडियोमा ‘अपूर्ण’ को आवाज सुनिसकेपछि पत्रकारिताले मलाई अत्यन्तै लोभ्याएको थियो । त्यसैले पनि मेरा लागि यो तालिम अत्यन्तै चाखलाग्दो थियो । खास गरि त्यो ताका किर्डाक नेपाल कालिकोटले वालवालिकाको क्षेत्रमा अनुकरणीय योगदान गरिरहेको थियो । मलाई यस्तो पनि लाग्छ २०६८ सालदेखि २०७१ सालसम्मको समयमा वाल क्लबमा क्रियाशिल रहने सबै साथीहरुको व्यक्तित्व विकासले सगरमाथाको उचाई लिएको थियो । कालिकोट जिल्लाका प्रत्येक गाविस बाट प्रतिनिधित्व गरेर आउने वालवालिकाको ठुलो जमात उक्त तालिमको पूर्बाद्धमा परिचयात्मक कार्यक्रम तर्फ लाग्यो । बायाँतर्फबाट सुरु भएको परिचय दिने कार्य मध्यान्न स्थान सम्म आइपुग्यो । मध्यान्न स्थान अर्थात म बसेको ठाउँ । म उठे अनि सुरु गरे मेरो परिचय । विभिन्न गाविसको प्रतिनिधित्व गरेर यो किर्डाक नेपाल कालिकोटको सभाहलमा पाल्नुभएका सम्पूर्ण मेरा सहभागी साथीहरु तथा यहाँ उपस्थित हुनुभएका तपाई सम्पूर्ण अग्रज व्यक्तित्वहरुमा हार्दिक नमस्कार !

म दिपक उपाध्याय,
मेरो घर सुकाटिया ८, हाउडी
म गाविस वाल मञ्च सुकाटियाको अध्यक्ष
श्री चन्द्र सुर्य माध्यामिक विद्यालय हाउडीमा म कक्षा ९ मा अध्ययनरत छु ।
मेरो परिचय नटुङ्गिदै लामो दाह्री, खैरो कलरको कोट, कालो चस्मामा शोभायमान भएर किर्डाक नेपाल कालिकोेटको तालिम हलको माथिल्लो क्षेत्रमा अवस्थित एकजना अपरिचित व्यक्तिले मलाई प्रश्न गर्नुभयो ।
तिम्रो घर हाउडी हो ?
मैले उत्तर दिए हजुर हो सर ।
अर्को प्रश्न, पुष्पराज आचार्यको के नाता पर्छौ ?
मैले भने पुष्पराज मेरो भतिज हो, दाईको छोरा ।
एक अपरिचत व्यक्तिले त्यो पनि धेरै साथीहरुले परिचय गरिरहँदा मौनता पूर्वक बसेको मानिसले केवल मलाई मात्र प्रश्न गर्दा मनमा अनेक खालका भाव उत्पन्न हुनु स्वभाविक थियो । तर पनि यी प्रश्नले मेरो मनमा कौतुहलताको विशाल मैदान तयार पारिदियो र म त्यो मैदानमा भौँतारिन थालेँ । घरी शरिर चिलाए जस्तो, घरि बाहिर जाउँ जस्तो, घरी प्रश्न कर्ताको छेवैमा गएर केही प्रश्न गरु जस्तो यस्तै यस्तै छट्पटाइले सताइरह्यो मलाई । मैलै भने मेरो व्यवहारमा एक्कासि आएको त्यो परिवर्तनलाई सम्हाल्दै गएँ । प्रतिफल स्वरुप परिचय दिने पालो आयो । जसले मलाई मैले परिचय दिने क्रममा दूईओटा प्रश्न गर्नुभएको थियो । उहाँ उठ्ने बिक्तिकै मैलै असाध्यै चाँसोका साथ ध्यान दिएँ । उहाँले आफ्नो परिचय सुरु गर्नुभयो ।
पत्रकारिता क्षेत्रमा जीवन खोज्दै कालिकोट जिल्लाका विभिन्न ठाउँबाट किर्डाक नेपाल कालिकोटको निम्तोलाई स्विकार गरेर यहाँसम्म आउनु भएका सम्पूर्ण वाल क्लबमा क्रियाशिल भाईबैनीहरु र किर्डाक नेपाल कालिकोटमा क्रियाशिल सम्पूर्ण व्यक्तित्वहरुमा नमस्कार !

म कृष्णराज धमाला ‘अपूर्ण’
मेरो घर स्यूना गाविस ६, रास्कोट हो
म रेडियो नयाँ कर्णाली १०२ टिम्को ८ मेगाहार्ज कालिकोटको स्टेसन म्यानेजर
आजदेखि करिब ४ दिनको बसाईसम्म म यहाँहरुसँगै रहने छु, धन्यबाद ।
मेरो मनमा खडा भएको कौतुहलताको पहाड एकै छिनमा नै भत्कियो । खुसि जीवनको स्रोत रहेछ क्यारे । जीवनको सबैभन्दा खुसिको अनुभुति गरेँ । कृष्णराज धमाला भन्ने बित्तिकै काख्खैमा गएर अङ्कमाल गरु झैँ नलागेको पनि हैन । किन्तु आफुलाई सम्हाल्नुको अर्को बिकल्प थिएन । त्यती ठूलो जमातमा । मैले पढेका कथा, मैले हेरेको चलचित्र, मेरो जीवनमा प्रत्यक्ष वा परोक्ष रुपमा सम्बन्ध भएका मानिसहरु मध्ये मेरो सर्वाधिक प्रिय पात्र ‘अपूर्ण’ लाई प्रत्यक्ष रुपमा देख्न पाउँदा यो ढुकढुकी संगीत बोकेर उठ्यो । हृदयभरीको माया आँशु बनेर छचल्कियो । आम्मै ! यति खतरा हुँदोरहेछ भावनात्मक सम्बन्ध ।
तालिमको दोस्रो दिन खाजा खाने समयमा भएको मनोरञ्जनको मौका छोपेर मैले गजल वाचन गरेँ । मैले वाचन गरेको गजल श्रवण पश्चात् नै ‘अपूर्ण’ को मनमोहक आवाजमा मेरो गजलको प्रतिउत्तर आयो । तर मैले भने प्रतिउत्तर फिर्ता गर्न सिकन । त्यसै सन्दर्भलाई जोड्दै त्यतिखेरका किर्डाक नेपाल कालिकोटका बाल संरक्षण अधिकृत बाले विश्वकर्मा सरले उत्तर छैन र ? भन्नु भएको सम्झना अहिले पनि ताजै छ । नयाँ बर्ष २०७० ले जुराईदिएको मेरो जीवनको यो ऐतिहाँसिक समय मेरो जीवनको एक अविस्मरणीय स्मृतिको रुपमा अन्तरह्दयमा अवस्थित छ । तालिमको अन्तिम दिन ‘अपूर्ण’ सँग एक्लै करिब १० मिनेट जति भेट्ने समय मिलेको थियो । त्यो समयलाई सदुपयोग गर्दै सम्पर्क नम्वर मागेको थिएँ र भनेको पनि थिएँ दाई अब सँधै सम्पर्कमा रहन्छु है । फोन उठाईदिनु होला । म बेलाबेला फोन गरिरहन्छु । ‘अपूर्ण’ ले त्यो १० मिनेटको समयमा दिएको सुझाव र प्रेरणाले नै हो मलाई जीवनमा शालिन, सिर्जनशिल तथा करुणामा निहित जीवनशैली बनाउनु पर्दो रहेछ भन्ने पाठ सिकाएको । समयको गतिसँगै ‘अपूर्ण’ सँगको मेरो सम्बन्ध पनि अगाडी बढ्दै गयो । मैलै २०७१ चैत्र २६ गते एसएलसिको परिक्षा सक्काएपछि कालिकोटको सदरमुकाम मान्म जाने संयोग परेको थियो । मान्म जानु पूर्व नै ‘अपूर्ण’ सँग मैलै फोन गरेर जानकारी गराएको थिएँ । दाई म मान्म आउँदैछु, हजुरसँग भेट्न मन छ भनेर । ‘अपूर्ण’ को जीवनशैली, शालिनता तथा नम्रता अत्यन्तै सरस, सहज र रसिक नभएको भए सायद उहाँप्रतिको मेरो एकोहोरो प्रेम जन्मन पाउने थिएन, तुहिने थियो । तर ‘अपूर्ण’ सरल भएका कारण नै उहाँलाई विभिन्न समयमा भेटेर मनमा गाँठो परेर बसेका भावनाहरु पस्किने गर्थें । म सिर्जनाको सफरमा सिर्जनाको भारी बोकेर हिडिरहेको बेला मैले आराम गर्ने चौतारी बन्नुभयो ‘अपूर्ण’ । म सिर्जनाको प्यासी बनेर मुल खोज्दै हिडिरहेको बेला मेरा लागि सिर्जनाको मुल बन्नु भयो ‘अपूर्ण’ । त्यसैले त भन्छु, मेरो जीवनमा ‘अपूर्ण’ को भूमिका पानीको जस्तै छ । यस कारण कि पानी जहाँ–जहाँ गहिरो हुन्छ अर्थात जहाँ–जहाँ खाली ठाउँ हुन्छ त्यहिँ गएर अड्किन्छ । त्यसैगरी म २६ गते मान्म पुगेँ र ‘अपूर्ण’ लाई भेटे । लामो समयसम्मको संवाद पश्चात् ‘अपूर्ण’ ले एउटा प्रस्ताव गर्नुभयो ।
आज बसाई यतै गरेको भए राम्रो हुन्थ्यो ।
मैलै सोधे किन र ? दाई ।
आज शुक्रबार त्यसैले कार्यक्रम ‘मुक्तक र म’ मा जानु पर्यो है त ।
मैले कुनै अरु कुरा नै नगरि दाईको आग्रहलाई स्विकार गरे । जीवनमा पहिलो पटक रेडियोको स्टुडियो देख्ने अवसर प्राप्त हँुदाको खुसिले मनमा उधुम मच्चायो । आफुले आफैलाई भाग्यमानीको महशुस गरेको सायद पहिलो पटक नै थियो । रेडियोमा अन्तरवार्ता त्यो पनि रेडियो नयाँ कर्णालीमा कृष्ण्राज धमालासँग । मेरा लागि त्यो अवसर सानो थिएन । यस्तो खुसिको खवरलाई मनमा राख्न सकिन । घरमा फोन गरेर आज मेरो अन्तरर्वाता हुदैछ कृष्णराज धमाला दाईले लिनुहुदैछ रेडियो सुन्नु होला भनी खवर गरेँ । र खवर गरेँ मैलै असाध्यै माया गर्ने वालापनको पवित्र प्रेममा लुटपटिएर जीवनयापन गरिरहेकी मेरो बाल प्रेमीका सविनालाई पनि ।
सविनाको प्रतिक्रिया थियो । हजुरको अन्तरर्वाता रेडियो नयाँ कर्णालीमा, आहा ! म कति भाग्यमानी छु है दिपक ।
मैले प्रश्न गरे सविना किन र ?
सविनाले भनिन् हजुर जस्तो मान्छेलाई माया गर्न पाएकी छु । म आफुलाई धन्य सम्झिन्छु दिपक ।
अन्तरर्वाताको ३ मिनेट अगाडीसम्म सविनासँग यस्तै यस्तै फोनमा कुरा गरिरहेको थिएँ । ०९ः४७ मिनेटमा रेडियो नयाँ कर्णालीको स्टुडियोका प्रवेश गरेँ । जीवनको पहिलो पटक नितान्तै फरक अनुभूति गरेको थिए मैले । त्यो अन्तरवार्ताले मेरो जीन्दगीमा नयाँ मोड लिएको थियो । गाउँमा फर्किएपछि गाउँका मान्छेले दिएको प्रतिक्रियाले मेरो जीवनमा उर्जाको तला थपेको थियो र साहित्य संरचना प्रतिको चाह बढ्दै गएको थियो । त्यसैको प्रतिफल हो, आज दिपक उपाध्यायबाट रुपान्तरित भएर दिपक अभिलाषी भएको छु । दिपकलाई दिपक अभिलाषी बनाउनुमा मेरो नायक ‘अपूर्ण’ को भुमिकालाई नाप्न सक्ने म जस्तो बबुरोसँग कुनै पनि सामथ्र्य छैन । ‘अपूर्ण’ को प्रसंशा गर्न योग्य मसँग कुनै शब्द छैनन्, आदि, ईत्यादि ।
अहमतामा बाँचेका धेरैलाई चिन्छु । तर नेपाली धर्तीमा जन्म लिएका मलाई आवाजमा मन पर्ने, अक्षरमा मन पर्ने, आदर्शमा मन पर्ने, मेरो सर्वाधिक प्रिय पात्र कोही छन् भने ती ‘अपूर्ण’ नै हुन् । ‘अपूर्ण’ को खल्ती छाम्छु खल्तीमा अहमता भेट्दिन, मन छाम्छु मनमा नैराश्यता भेट्दिन, विचार छाम्छु, विचारमा दम्भ भेट्दिन । सायद यसैको प्रतिफल नै होला ‘अपूर्ण’ सँगको सम्बन्धमा आज सम्म पनि कुनै मधुरता अर्थात नैराश्यताले स्थान पाएको छैन ।