उमेर नपुग्दै कर्णालीका ५२ प्रतिशत बालबालबालिकाकाे विवाह

सुर्खेत : कर्णालीमा आधा भन्दा बढी बालबालिकाको उमेर नपुग्दै विवाह हुने गरेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले तथ्याङ्कले यहाँका ५२ प्रतिशत बालबालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेको देखाएको छ । २०६८ सालको जनगणनाअनुसार कर्णालीको कूल जनसंख्याको ५२ प्रतिशत बालबालिका छन् । बालबालिका मध्ये पनि ५२ प्रतिशत बालबालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेका छन् ।
कर्णालीको रुकुम पश्चिम र दैलेख जिल्लामा सबैभन्दा बढी ७१ प्रतिशत बालविवाह हुने गरेको छ भने सबै भन्दा कम डोल्पामा ५० प्रतिशत बालविवाह हुने गरेको तथ्याङ्कले देखाउँछ । यहाँका ४६ प्रतिशत बालबालिकाले १५ बर्षदेखि १९ बर्ष उमेर समूहमा विवाह गर्ने गरेका छन् ।आर्थिक विपन्नता, सामाजिक र सांस्कृतिकप्रचलन, कानूनको प्रभावकारी कार्यान्वयनको अभाव, गुणस्तरीय शिक्षा र शैक्षिक वातावरणको कमीले बालविवाह हुने गरेको बाल संरक्षण अभियन्ताहरुको भनाई छ ।
बालबालिकाप्रति उदासिन राज्य व्यवस्था र बालसंरक्षणको संगठनात्मक संरचना नभएका कारण पनि कर्णालीमा बालविवाह न्युनिकरणमा समस्या भएको बालबालिकाको क्षेत्रमा काम गरिरहेको सेभ द चिल्ड्रेनका बाल संरक्षण संयोजक बाले विश्वकर्माले बताए ।‘बालबालिकाको क्षेत्रमा सरकारी लगानी न्युन हुनु र बालविवाह पार्ने असरका बारेमा सचेतना फैलाउन नसक्दा पनि बालविवाह न्युनिकरणमा समस्या छ’ उनले भने ।पछिल्लो समय बालबालिकाहरुले स्वेच्छिक विवाहले पनि बालविवाह न्युनिकरणमा चुनौती थपिएको बताए ।
बालविवाहकै कारण कर्णालीमा उमेर नपुग्दै आमा बन्नेहरुको संख्या पनि बढेकोे छ । आर्थिक बर्ष २०७३÷०७४ यताका तीन बर्षमा कर्णालीका १० जिल्लाका ४० हजार नौ सय ६१ जना १९ बर्षमुनिका किशोरी गर्भवती भएका छन् । बालविवाहका कारण सानै उमेरमा गर्भवती हुँदा बालिकाको पठन पाठनमा बाधा पुग्नुका साथै स्वास्थ्य समस्याहरु पनि देखा पर्ने गरेको बालअधिकारकर्मी हिरासिंह थापाले बताए । ‘कम उमेरमा गर्भवती भएका अधिकांश किशोरीहरुमा स्वास्थ्य समस्या, महिला हिंसाका घटना तथा सम्बन्ध बिच्छेदका घटना समेत बढेका छन्’ उनले भने ।
‘बालविवाह अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध छ’
कर्णाली प्रदेशका समाजिक बिकास मन्त्री दल रावलले कर्णालीमा बढ्दो बालविवाह अन्त्यका लागि सबै क्षेत्रको सहकार्य जरुरी भएको बताएका छन् । किर्डाक नेपालले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश स्तरीय बाल कचहरीमा मन्त्री रावलले बालविवाह गर्ने गरीप्रदेश सरकारले बजेट तथा कार्यक्रम बनाएको र त्यसको प्रभावकारी कार्यान्वयन मार्फत बालविवाह अन्त्य गरिने दावी गरे । ‘बालविवाहले व्यक्तिको स्वास्थ्यमा मात्र असर गर्दैन यसले देशको भविष्य समेत बिगार्छ’ उनले भने, ‘त्यसैले बालविवाह अन्त्यका लागि सबै पक्षको सहकार्य जरुरी छ ।’
कर्णाली सरकारले बालविवाह अन्त्यका लागि छोरीका लागि बैंक खाता खोल्ने गरी बजेट तथा नीति कार्यक्रम बनाएको भन्दै उक्त कार्यक्रमको प्रभावकारी कार्यान्वयनले बाल विवाहलाई निरुत्साहित बनाउने उनले बताए । आर्थिक, सामाजिक र भौगोलिक रुपमा पछाडि परेको कर्णालीको बिकासका लागि यहाँका केही परम्परागत मान्यता पनि बाधक भएको मन्त्री रावलले बताए । ‘आर्थिक विपन्नता, गरिबी र पछौटेपनको पर्याय बनाइएको कर्णालीमा बालविवाह र छाउपडि प्रथा जस्ता कुरिती अन्त्य गर्न जरुरी छ’ उनले भने ।
दुलहीको घुम्टो खोलेर कार्यक्रम उद्घाटन
बाल कचहरी कार्यक्र उद्घाटन पनि नयाँ देखियो । दुलहीको रुपमा घुम्टो ओढेकी युवतीको घुम्टो सामाजिक बिकास मनत्रीले खोलिदिए पछि कार्यक्रम उद्घाटन भयो । अबोध बालिकाहरुको घुम्टो खोलेर समाजमा स्वतन्त्र बनाउन सांकेतिक स्वरुप कार्यक्रमको तयार गरिएको आयोजकले जनाएका छन् ।

error: Content is protected !!