७ बैशाख २०८१, शुक्रबार

रिम्ना-दल्ली सडक स्तराेन्नतीकाे काम चाडै शुरु हुन्छ: मन्त्री बस्नेत   


जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भेरी करिडोरअन्तरर्गत रिम्ना-दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा स्तराेन्नतिको काम हुने बताएका छन् । मंगलबार जिल्ला समन्वय समितिको समिक्षा बैठकमा बोल्दै उनले पूर्वाधार निर्माण नै विकासको पहिलो आधार भएकाले जिल्लाका सबै सडकको स्तरोन्नति यसै आर्थिक वर्षबाट सुरु हुने बताए । वातावरणीय प्रभाव मूल्यांकनको काम करिब सकिएकोले सडकको स्तराेन्नतीको काम सुरु हुने उनको भनाइ छ ।
पिछडिएको जिल्लाबाट जाजरकोटको परिचय बदल्नका लागि धेरै दिन पर्खनु नपर्ने उनले बताए । लुम्बिनी-रारा सडकखण्डअन्तरर्गत जाजरकोट खण्डको खलंगा-पाँचकाटिया सडकखण्डमा बजेट निर्धारण गरि काम गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिए। जिल्लाका अधिकांश ठाउँमा कच्ची सडक खन्ने काम भइरहेकाले कम्तिमा पहिलो चरणमा सबै स्थानीय तहमा सडक कालोपत्रे हुने उनको भनाइ छ। सडक निर्माण नै विकासको पहिलो आधार भएकाले सडक निर्माणपछि मात्र गाउँमा उत्पादित वस्तुहरू बजारसम्म पुग्ने भन्दै उनले अर्थ उर्पाजनको मूल आधार त्यहीबाट सुरु हुने बताए।
सडकलाई प्राथमिकतामा राखेर काम गर्न सडक डिभिजन कार्यालयलाई आग्रह गरिएको उनले बताए। जाजरकोट आएको बजेट खर्च गर्न नसक्दा समस्या भएको यर्थाथता बताउँदै उनले नागरिक सचेत भएर खबरदारी लागि आग्रहसमेत गरे। जनताको मनोबल नपढाइकन जिल्लाको प्रतिष्ठा नबढ्ने मन्त्री बस्नेतको भनाइ छ। जिल्लाका ३ ठाउँमा विद्युत प्रशारणका लागि सब-स्टेशन निर्माण गर्न लागिएको पनि उनको भनाइ छ।