१४ बैशाख २०८१, शुक्रबार

कर्णालीका ६७ प्रतिशत बालबालिका श्रमिक


सुर्खेत । विद्यालय जाने उमेर समूहका कर्णाली प्रदेशका ६७ प्रतिशत बालबालिका श्रम गर्न बाध्य रहेको तथ्यांकले देखाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको अध्ययनमा भारी बोक्नेदेखि ढुंगा खानीमा काम गर्ने पाइएको हो ।

प्रदेश सरकारको तथ्यांकअनुसार कर्णालीका १५ वर्षमुनिका ६७ प्रतिशत बालबालिका कुनै न कुनै प्रकारको श्रम गरिरहेका छन् । यहाँका २४ प्रतिशत बालबालिका आर्थिक गतिविधिमा र ४३ प्रतिशत बालबालिका श्रममा संलग्न भएको सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विकेले बताए ।

कर्णालीका बालबालिकाको श्रम गन्तव्य भारतका विभिन्न सहरमा हुने गरेको पाइएको छ । ‘कर्णालीका अधिकांश नागरिक रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँमा जाने भएकाले पनि यहाँका बालबालिका अभिभावकसँगै जाने गरेका छन्,’ डा. विकेले भने, ‘केही बालबालिका सडकमै श्रम गर्ने गरेको पनि पाइएको छ ।’ अझ हिमाली जिल्लाका बढी बालबालिका श्रममा लाग्ने गरेको पाइएको छ ।

उनीहरू ढुंगा खानीमा काम गर्ने, भारी बोक्ने, घरेलु कामदारका रूपमा लगाइने, स–साना होटेल, रेस्टुरेन्टमा काममा लगाइने, यातायातका साधनमा काममा लगाइने गरेको पाइएको छ । त्यस्तै, बालुवा र रातोमाटोको खानीमा काम गर्ने, यार्सागुम्बा खोज्न जानेलगायत श्रममा लाग्ने गरेको तथ्यांकले देखाएको छ । कृषिअन्तर्गतका जोखिमपूर्ण कामहरू, खच्चडमार्फत ढुवानी गर्ने कार्यमा प्रयोग गरिने, विभिन्न प्रकृतिका निर्माण व्यवसायमा जोखिमपूर्ण काम गर्ने र सार्वजनिक काममा बालबालिकाको प्रयोग गर्ने गरिएको उनले बताए ।

बालश्रमसँगै कर्णालीका बालबालिका विभिन्न खाले हिंसाबाट समेत प्रभावित हुने गरेको पाइएको छ । ‘शिक्षा, स्वास्थ्य र पोषणलगायत आधारभूत अधिकारबाट समेत बालबालिका वञ्चित छन्,’ सचिव डा. विकेले भने, ‘बालबालिका विद्यालय भर्ना भए पनि आधारभूत शिक्षा पूरा नगर्दै विद्यालय छोड्नुपर्ने र सामाजिक तथा आर्थिक रूपमा कष्टपूर्ण जीवन जिउनुपर्ने समस्याबाट पीडित छन् ।’

कर्णालीको भौगोलिक विकटता, गरिबी, बेरोजगारी, बालश्रमलाई सामाजिक र सांकृतिक रूपमा स्विकार गरिएकाले पनि बालबालिका श्रम गर्नैपर्ने बाध्य भएको बालअधिकारकर्मी बाले विश्वकर्माले बताए । ‘कानुनको प्रभावकारी कार्यान्वयन र कानुन कार्यान्वयनको संरचना अभावले पनि बालबालिका श्रमको सिकार बनिरहेका छन्,’ उनले भने ।

कर्णालीका विद्यालय जाने उमेरका ६ प्रतिशत बालबालिका अहिले पनि विद्यालयबाहिर रहेका छन् । पछिल्लो जनगणनाअनुसार कर्णालीमा ५२ प्रतिशत बालबालिका रहेका छन् । यसमध्ये ३० हजारभन्दा बढी बालबालिका विद्यालयबाहिर रहेको सरकारी तथ्यांक छ । (नयाँ पत्रिकाबाट)