भारतीय हस्तक्षेप केवल सिमानाको मात्रै हैन

चित्रसिंह गाउँले

निकै बलियो र वैभवशाली सिंजा साम्राज्य त्यसै सहजै समाप्त भएको हैन भन्नेमा इतिहासले प्रष्ट बोलेको छ । सिंजाका साशकहरुमै राज्य जोगाउने सन्दर्भमा विवेक कम हुदै गएपछि गोर्खालीहरुले सिंजा कब्जा गर्ने मौका पाएका हुन । आफ्नो धेरै पटकका तयारीहरु असफल भएको देख्दादेख्दै गोर्खाले अन्ततोगत्वा असोजको महिना खेतीपातीको काम र दशैंले गर्दा सिंजाली सैन्यशक्ति तितरबितर भएको बेला पारेर राज्य कब्जा पार्न सफल भएको देखिन्छ । यो मैले उदाहरण मात्रै पेस गर्न खोजेको विषय हो । त्यतिखेरको गोर्खालाइ टुक्रे राज्यहरु एकीकरणका नाममा आफुलाइ लागेको बढेको उन्मादले विशाल सिंजा साम्राज्य धव्स्त गर्नु जम्मै उचित हैन । यस्तै विस्तावादको उन्माद चढेको भारत पनि नेपालका सिमा क्षेत्रमा हस्तक्षेप हानिरहेको छ । सिंगो देश नेपाल निदाएको ठान्नासाथ भारत हाम्रा सिमा हस्तक्षेप गर्नाका लागि दाउ हेरेर ननिदाइ सिमाक्षेत्रमा पहरा दिइरहन्छ भन्ने यसपटकको “सर्भे अफ इण्डिया” ले प्रष्ट पारेको छ ।विस्तारवादी भारतीय चालबाजी कस्तो हुन्छ भन्नेमा चलचित्र र पुस्तक पढेर थाह पाउने मान्छेहरुलाइ पनि यसपटकको भारतीय राजनीतिक नक्साले अब चलचित्र हेरिरहनु नपर्ने बनाइदिएको छ । हामी अहिले देशमा संघीयतालाइ हुर्काउने प्रारम्भिक चरणमा पाइला चालिरहेका बखत हाम्रा कदममा ठेस लगाउने गम्भीर षड्यन्त्रको रुपमा भारतीय राजनीतिक नक्सालाइ बुझ्नुपर्ने पनि हुनसक्छ । गाउँबाट आफ्नो विरोधी आस्थाको मान्छे जिल्लातिर आउदा भेट भएका बखत मुखनेर के कति कामले आउनु भएको हो भनेर मिठा बात मार्दै पिठ्युँमा हान्ने तर पछि हुने कामपनि नहुने बनाउने हाम्रा कतिपय नेताहरू जस्तै व्यवहार देखाउन भारत पनि खुबै सिपालु रहेछ । देशको व्यवस्थामा धक्कादिने सपना देखेर ति सपना साकार पार्न भारतको आश्रय लिन चाहनेहरुका कारणपनि हामीमाथि भारत हावी बन्न थालेको हुन सक्छ।देशको सिमा र राष्ट्रियता लाइ हामीले भौगोलिक अखण्डता समेतलाई ध्यान नदिएर आफ्ना दलगत या अन्य क्षेत्रगत चाहनालाई शिरमा राखेर कमजोरी थाल्नु उचित हुदैन । एकातिर भारतको गुलामी सहित भित्रभित्रै आश्रय लिने अनि अर्कोतिर नेपालको झण्डा समाएर सडक तताउदै उभद्रो मच्चाएर हामी बलियो हुन सक्दैनौं । अहिलेसम्मपनि भारत पाकिस्तान लगाएत धेरै देशसँग हायलकायल भएर नेपाली मार्फत नेपाल बाहेकका सिमाना सुरक्षा गरिरहेको छ । भलै नेपालीले त्यो जिम्मेवारी पाए वापत सुबिधा पाए होलान् तर लडाइँमा अग्र मोर्चा सम्हाल्न बानी परेका नेपालीको बिरताको संघर्ष भिमकाय छ भन्ने भारतले बुझ्न सक्नुपर्छ । हामीले हाम्रो सिमा मिचिएको टुलुटुलु हेरिरहने हो भने कुनैबेला सिंजा राज्य हालको नेपालभन्दा बाहिर इण्डियाका लखनउ र काश्मिर मात्रै नभइ चीनतर्फ तिब्बतका खारी प्रदेश र गुगे भन्दा पर पुगेर मानसरोवर समेत आफ्नो क्षेत्रभित्र पारेर सञ्चालित थियो भन्ने इतिहास पढ्नु जस्तै हाम्रो हालको नेपालका भावी पुस्ताले अहिले हामी बसेका भूगोल पनि किताबमा पढ्नुपर्ने स्थिति आउनुको विकल्प छैन । भारतले हाम्रो हजारौं हेक्टर भूगोलमा मात्रै हस्तक्षेप गरेको छैन । हाम्रो आत्म सम्मान, सँस्कृति र आर्थिक विकासका बाटाहरुमा पनि काँडेतार फिजेको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारको समयमा भारतले हामीलाई आफ्नो खुट्टामा उभिन सिक भनेर पाठ पढाइको हामीले चाडैं बिर्स्यौ। कहिले सुस्ता,कहिले कालापानी लगाएत देशका ७१ स्थानमा सिमा लफडा गरिरहेको भारतका लागि लिपुलेक बुढी मरि मात्रै नभइ काल पल्केको रुपमा हामीले बुझ्नैपर्छ । बहुमुल्य जडिबुटी र बनस्पति भएका वनहरुमा हेरालो नराख्दा जसरी तस्करीका लागि बाटो खुल्छ त्यसैगरी हामीले भारतलाई सिमा हस्तक्षेपको बाटो खुला गरेकै छौँ । अर्काको केही बहुमूल्य सामान भेटाउदा यो कस्को सामान हो भनेर फिर्ता गर्ने इमानदार बानी भएका मान्छेहरु जस्तो नभइ बसपार्कमा पाकेट मार्ने मान्छेजस्तै व्यवहार भारतको छ भनेर सावधानी अपनाउनु हाम्रा लागि उत्तम यहीनै हो । यतिबेला देशमा मजबुत कम्युनिस्ट सरकार बिधमान रहेका बखत नै हामीले अहिले उठेको समस्या कुटनैतिक र राजनीतिक रुपमा समाधान गर्न सक्छौं । भारत र नेपालको बिचमा हामीले केवल नकारात्मक पाटाहरु मात्रै हेरेर हुँदैन । सिमाको विषयमा यस्तै प्रकारका समस्या आएकोमा भारतले आफ्नो अडानबाट पछि हटेर नक्सा सच्याउने काम नगरेमा मात्रै साच्चिकै भारत छिमेकीको सम्बन्धबाट पनि टाढा पुगेको ठानौला ।यधपी नेपाल – भारत पेट्रोलियम पदार्थको पाइपलाइ बिस्तार मात्रै नभएर सञ्चालन भइ अब खाना पकाउने ग्यास समेत यस्तै माध्यमबाट नेपाल आउने विषयमा दुई देशबिच विकासका लागि राम्रा समझदारी पनि छन् । जलमार्ग तथा रेलमार्ग र पर्यटन लगाएका केही बहुआयामिक योजनामा अब सहकार्य अघि बढ्दैछ। भारतलाई विस्तारवादी नजरमा मात्रै हेर्ने हो भने हामी हाम्रो देशलाई आत्मनिर्भर बनाउन नसक्दासम्म हाम्रा पैताला देखि शिर सम्म र सिमाना देखि घर भित्रको भान्सासम्म विस्तारवाद मात्रै देख्नेछौं । हाम्रो देशको महत्त्वपूर्ण प्राकृतिक सम्पदाको दोहन भारतले मात्रै गरेको ठान्नेछौ । भूगोलको लिपुलेक जस्तै आस्था र स्वाभिमानका हजारौं लिपुलेकहरु जोगाउदै सानो भएपनि समृद्धिको नेपाल निर्माण गर्न विश्वसामु सिंजाजस्तै सभ्यता र वैभव विकसित गरौं । यो समृद्धिको अभियानको कमाण्डर जनताले जनमत मार्फत नेकपालाइ बनाएकै छन् । यसबेलामा हामी कम्युनिस्टहरुमा बिलासिताको मोह हिजोका राजा रजौटाजस्तै भएर जान मिल्दैन । सत्ता सुविधामा रम्ने विषयमा पार्टी कार्यकर्ता भन्दापनि जनप्रतिनिधि नियन्त्रण गरिसक्न कठिन छ । समयमै चेत नफर्केमा गोर्खालीसँगको लडाइँमा नसकेर सिंजा राज्यबाट सिंजाका अन्तिम राजा शोभान शाही भागेर तिब्बत गएझै हामीलाई पनि देशभित्र बसिरहन नसक्ने स्थिति आउन सक्छ।