८ बैशाख २०८१, शनिबार

कांग्रेसमा एकताको खाँचो: नेता शाही


जुम्ला। नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले कांग्रेसमा आन्तरिक एकताको खाँचो रहेको स्पष्ट पारेका छन् । कांग्रेस जुम्लाका संगठन विभाग प्रमुखसमेत रहेका युवा नेता शाहीले पार्टीको आन्तरिक विवादको तत्काल हल गर्नको लागि नेतृत्वलाई आग्रह गरेका छन् ।

उनले कांग्रेसमा अस्वस्थ प्रतिष्पर्धा र चरम गुटगत राजनीति मौलाएको भन्दै पार्टीमा एकताको आवश्यकता रहेको बताए । नेता शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई तिहाई जनमतसहित सरकारको नेतृत्व गरीरहेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टी्भित्रको सबै सन्तुलन मिलाउँदै आन्तरिक व्यवस्थापन गरेको छ। सबै भ्रातृ संस्थाहरूलाई पनि पार्टीको एकीकरण पश्चात व्यवस्थापन गरी रहेको छ । यो हिसावमा नेकपाले संगठनलाई आगामी निर्वाचनको लागी संगठित र गतिशील बनाउँदै अगाडि लैजने देखिन्छ ।’

उनले अगाडि लेखेका छन्, ‘७५ वर्ष लामो लोकतान्त्रिक आन्दोलनको नेतृत्त्व गर्दै हाल संसदमा कमजोर उपस्थितिका साथ प्रतिपक्षको भूमिका निर्वाह गरीरहेको हाम्रो पार्टी नेपाली कांग्रेसले अब पार्टी संगठन र गतिशीलताको आधारमा प्रतिस्पर्धा गरेर आगामी निर्वाचनमा कांग्रेसले सरकार बनाउनु पर्नेछ ।’

नेता शाहीले देशभरका युवाहरूलाई एकताबद्ध भएर देशको विकासमा जुट्न र राजनीतिक गतिशिलतालाई बुझ्न अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसका देशभरका युवा साथीहरूलाई अपील गर्न चाहन्छु, अब नेताहरूलाई दोष थुपारेर हामी पन्छिन हुदैन । पदको लोभ नगरौ‌ । संगठन बचे एक दिन पद पनि पाईएला । बिना पद र जम्मेवारी पार्टी सुधारका लागि एक हौं । यो अभियान पूरा गर्न अब हामीले कम्मर कस्नु पर्छ। इमान्दार भएको लाग्नुपर्छ। गुटको जन्जीर तोडेर हार्दिकतासहितको एकता र आत्मअनुशासनसहितको सहकार्यलाई मूलमन्त्र मानेर अघि बढुनुपर्छ ।’

नेपाली कांग्रेसको झण्डामुनी रहेका युवा नेताहरूको एकताबाट मात्रै पार्टी गतिशिल र प्रभावकारी बन्ने नेता शाहीको दावी छ। उनले लेखेका छन्, ‘लोकतान्त्रिक परिपाटी र आफ्नो राजनीतिक भविष्यका लागि यो भन्दा अर्को विकल्प छैन। यूवाहरूको एकता भयो भने समयानुकूल गतिशील पार्टी बन्नेछ । सबै संकीर्णताहरू त्यागौं, जागौं र सहकार्य गरौं । २१औं शताब्दीको पार्टी निर्माणमा योगदान गरौं । अनि देशबासीको आवश्यकता र चाहना पूरा गर्न समर्पित बनौ ।