८ बैशाख २०८१, शनिबार

सडक स्तरोन्नती नहुँदा यात्रुलाई सास्ती



सुर्खेत ।
जाजरकोट सदरमुकामबाट करिव २३ किलोमिटर दुरीमा रहेको दल्लीसम्मको सडक निर्माण भएको १३ वर्ष बित्यो । कच्ची कटान गर्ने जिम्मा लिएको नेपाली सेनाले यो सडक सरकारलाई हस्तान्तरण गरी सकेको छ । १३ वर्षसम्म खलङ्गादेखि दल्लीसम्मको सडक स्तरोन्नती नहुँदा दैनिक सास्ती हुने गरेको छ ।
जाजरकोट–डोल्पा सडक खण्डभित्र पर्ने यो सडक ट्रयाक खुल्ला भएको दसक बितेपनि राज्यको ध्यान नजाँदा स्थानीयवासीहरु पीडा भोग्न बाध्य भएका छन् ।
राष्ट्रिय महत्वको भेरी करिडोरभित्र पर्ने सडक भएपनि स्तरोन्नती नहुँदा दैनिक धुलोको आहारा हुँदै आएको छ । आधा दर्जन खोलाहरु रहेको यो सडकमा सुधारका लागि कुनै पहल नहुँदा दैनिक सर्वसाधारणले पीडा भोग्दै आएका छन् ।
जाजरकोट हुँदै डोल्पा जाने मुख्य सडक भएपनि स्तरोन्तीका लागि प्राथमिकतामा नपर्दा स्थानीयबासी आक्रोशित भएका हुन् । अघिल्लो आर्थिक वर्षमा सडकको स्तारोन्नतीका लागि बोलपत्र आह्वान भएपनि रद्ध गरिएको थियो । त्यस्तै कालीमटीमा रहेको झुर्मेखोलाको पुल र नलगाड नदीमा रहेको पुलको बोलपत्र आह्वान भएपनि अन्तिममा रद्ध भएको सडक डिभिजन चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए ।
यो सडक स्तरोन्नती नहुँदा आधा दर्जन सवारी दुर्घटना समेत भइसकेको ट्राफिक कार्यालय जाजरकोटले जनाएको छ । कच्ची भत्किएको सडकमा यातायातका साधनहरु चलाउँदा दुर्घटना बढेको प्रहरीको भनाई छ । स्थानीयवासीले सडक वरिपरीको जग्गा दिन तयार भएमात्र सडकको स्तरोन्नतीको काम सुरु हुने सडक डिभिजनको भनाई छ ।
रुकुम पश्चिम आठविसकोट नगरपालिकाको अनाह र जाजरकोट नलगाड नगरपालिका तल्लुको बीचमा रहेको भेरी नदीमा पुल निर्माणको काम समेत यही सडकमा स्तरोन्ती नहुँदा वर्षेनी बोलपत्र आह्वान हुँदा कसैले पनि ठेक्का नलिने गरेको पाइएको छ ।
अन्य दर्जनौ पुलहरु समेत यही सडक मर्मत नहुँदा रोकिएका छन् । नलगाड जलविद्युत आयोजना निर्माण स्थलमा जानका लागि यही सडक प्रयोग गर्नुपर्ने हुन्छ ।
आयोजना निर्माणका लागि लिने सडक भरपर्दो नहुँदा डीपीआरको काम समेत ढिलो हुँदै आएको छ । राज्यको नजर यो सडकमा समयमै नपर्ने हो भने यहाँ निर्माण हुँने विकास निर्माणका कामहरु गति कम हुने देखिन्छ ।