८ बैशाख २०८१, शनिबार

धान उत्पादनमा आठ प्रतिशतले कमी



दैलेख ।
दैलेखमा यस वर्ष धान उत्पादन घटेको छ । कृषि विकास कार्यालय दैलेखका अनुसार यस वर्ष २४ हजार २५४ मेट्रिक टन मात्र धान उत्पादन भएको हो ।
गत वर्ष २६ हजार ३३६ मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । गत वर्षभन्दा यस वर्ष ७ दशमलव ९० प्रतिशतले धान उत्पादनमा कमी आएको छ ।
समयमै वर्षा नहुँदा र भरपर्दाे सिँचाइ सुविधा नपाउँदा धान उत्पादन घटेको कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डेले जानकारी दिए । यस वर्ष ८ हजार ३०२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जिल्लाभर ६ हजार ५१७ हेक्टर क्षेत्रफल मात्र धान खेतीका लागि उपयुक्त भए पनि यो वर्ष थप ठाउँमा खेती गरिएको थियो ।
‘यहाँका किसानहरू परम्परागत खेती प्रणालीमा नै निर्भर हुँदा धान उत्पादन बढ्न सकेको छैन,’ पाण्डेले भने ।
जिल्लामा सडक निर्माण गर्दा सिँचाइ आयोजनामा क्षति पुगेकाले पनि धान उत्पादन घटेको उनको भनाइ छ ।
सडक बनाउन मापदण्ड विपरीत डोजरको प्रयोगले पानीका मुहानहरू सुक्दै गएको उनले बताए ।
कुल ४३ हजार १२१ हेक्टर खेतीयोग्य जमिन रहेको दैलेखमा ३४ हजार ४९७ हेक्टरमा खेती हुँदै आएको छ, जसमा ९ हजार ६३८ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ भने बाँकी ३३ हजार ४८३ हेक्टर जमिन आकाशे पानीको भरमा छ ।
तर पछिल्लो समय हचुवाको भरमा सडक खन्ने, खेतीयोग्य जमीन नजीकका खोलानालाबाट जथाभावी गिट्टी र बालुवा निकाल्ने गर्दा पनि उत्पादकत्वमा प्रत्यक्ष प्रभाव परेको किसानहरू बताउँछन् ।
राष्ट्रिय योजना आयोगले केही पहिले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार दैलेख सुक्खापनको उच्च जोखिममा रहेको बताइए पनि यहाँका स्थानीय सरकारहरू वातावरणीय मूल्यांकनलाई ख्याल नै नगरेर सडक निर्माणमै तम्सिएको स्थानीयको आरोप छ ।