८ बैशाख २०८१, शनिबार

कालीकोटमा छाउँ गोठ भत्काउन सुरु


कालीकोटः जिल्ला प्रहरी कार्यालयले जिल्लामा रहेका छाउँगोठ भत्काउन सुरु गरेको छ । पछिल्लो समय छाउँगोठमा बस्ने चलनले विभिन्न ठाउँमा अप्रिय घटना घटिरहेका बेला कालीकोट जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारको सहयोगमा जिल्लामा रहेका छाउँगोठ भत्काउन सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले अछाम जिल्लासँग सिमाना जोडिएको नरहरीनाथ गाँउपालिकामा रहेका १५ वटा छाउगोठ भत्काएको छ । महिनावारी हुँदा गोठमा राख्ने, महिनावारी बार्ने र महिनावारी मान्न बाध्य पार्नेलाई कानुनी कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको एक हप्ता भित्र प्रहरीले नरहरीनाथ गाँउपालिकाबाट छाउपडी उन्मुलन अभियान थालनी गरि गाउँपालिकामा रहेका १५ वटा छाउँगोठ भत्काएको हो ।
नरहरिनाथ गाउँपालिका वडा नं ८,९,३ र ५ मा रहेका १५ वटा छाउँगोठ स्थानीय नागरिक र जनप्रतिनिधिको सहयोगमा भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाले बताए । जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सामाजिक अपराध बिरुद्ध आक्रामक बनेको छाउपडि प्रथा प्रहरीले गृहको निर्देशनपछि जिल्लामा छाउपडी गोठ भत्काउन सुरु गरेको छ । प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाले नरहरीनाथ गाँँउपालिकाका बिभिन्न ठाँउमा १५ वटा छाउपडी गोठ भत्काएर पुर्ण रुपमा नष्ट गरिएको जनाए । उनले भने, ‘नरहरीनाथ गाँउपालिकाको लालु, कुमालगाँउ, रुप्सामा छाउपडी गोठहरु रहेको सूचनाका आधारमा जिल्लाबाट प्रहरीको टोली खटाएर १५ वटा छाउपडी गोठ भत्काईएको छ ।’
घर भन्दा टाढा छुट्टै स्थानमा छाउ भएको बेला प्रयोगमा आउने हाल खाली रहेका गोठहरु भत्काईएको छ । उहाँले ‘प्रहरीले जिल्लाभरी गाँउ गाँउमा छाउगोठ भत्काउने अभियान थालेको जानकारी दिए ।’ उनले भने ‘नरहरीनाथ गाँउपालिकाबाट सुरु भएको अभियान जिल्लाभर संचालन गर्छौँ ।’ जिल्लाका कतिपय गाँउ बस्तीमा महिलाहरु महिनावारी हुँदा गाई भैसीको गोठमा समेत राख्ने गरेको सुचना प्राप्त भएको छ सवैको खोजि गरि छाउगोठ पुर्ण रुपमा भत्काउने प्रहरी नायव उपरीक्षक ओलीयाको दावि छ ।


‘प्रहरीले हरेक घरमा पुगेर गाई भैसीको गोठहरुको पनि अनुगमन गर्नेछ ।’ उनले भने, ‘कुनै पनि महिला महिनावारी भएको समयमा गाई भैसीको गोठमा बसेको फेला परेपछि कानुनी कारबाही गर्छौ ।’ महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई बृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियत कर्जा, सिफारिस लगायतका सबै सेवा रोक्नुका साथै कानुनी कारवाही गर्ने पनि निर्णय भएको छ । जिल्लाभर रहेका प्रहरी युनिटलाई आफ्नो सेवा क्षेत्रभित्र छाउगोठ भए नभएको बारे सूचना संकलन गर्न निर्देशन पनि दिईएको छ । उनका अनुसार नरहरिनाथा गाउँपालिकाका स्थानीय खडकबहादुर शाही, तुल सहकारी, अग्र बोहरा, गंगबहादुर शाही, नन्दबहादुर शाही, खड्क नाथ, बुङ्ची शाही, धनसरा शाही, मनबहादुर शाही, अम्मर दर्जी, माङ्ले दर्जी, माननाथ योगी, पार्वती शाही, पदमनाथ योगीको घरमा फेला परेका छाउ स्थानीय नागरिकको सहयोगमा प्रहरीले भत्काएको छ ।