जन्मदिनको अवसरमा आर्थिक सहयोगसंगै फलफुल वितरण

कालीकोटः मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर कालीकोटका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न बिरामीलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् ।
शुक्रवार पुस २५ गते जन्मदिन परेका कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं ११ कामखेका नेपाल तरुण दलका युवा नेता धर्मराज शाहीले आफ्नो जन्मदिनको अवसर पारेर जिल्ला अस्पताल कालीकोटमा उपचारर्थ विरामी खाडाचक्र नगरपालिका ९ का कमल परियारका ३ वर्षिय छोरा हरि परियारलाई ३ हजार नगद सहित २२ जना विरामीलाई फलफुल वितरण गरेका छन् । हातको समस्याका कारण उपचारमा आएका ३ वर्षिय बालकलाई नगद ३ हजार शाहीले सहयोग गरेका हुन् ।
लामो समयदेखि मान्ममा व्यवसाय गर्दै आएका शाही नेपाल तरुण दलका युवा नेता समेत हुन् । उनले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको भएपनि यस पटक जिल्ला अस्पतालमा उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरेका छन् ।
जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि बिरामीलाई सहयोग गरेको शाहीले बताए । उनले फजुल खर्च गर्नुभन्दा दिनदुखिका घाउँमा मलहम लगाउने काम आफुले गरेको बताए । आफ्नो सानो सहयोगले कसैको जीवन बच्छभन्ने हेतुले सहयोग गरेको उनको भनाई छ । रकम सहयोग पाए पछि बिरामी परियारले भने यो रकमले आफूलाई ठूलो सहयोग हुने बताए । उनले आफ्नो ३ वर्षको छोराको जीवन बचाउनका लागि शाहीले गरेको सहयोगले राहत पुग्ने बताए । रकम बुझ्दै परियाले शाहीको लामो आयुको कामना समेत गरेका थिए ।