७ बैशाख २०८१, शुक्रबार

अर्गानिक कर्णालीका लागि पाँच बुँदे प्रतिबद्धता


सुर्खेत ९ फागुन ।

कर्णाली प्रदेशलाई अर्नानिक बनाउन पाँच बुँदे प्रतिबद्धता जारी गर्दै प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन सकिएको छ । मंगलबार र बुधबार वीरेन्द्रनगरमा भएको सम्मेलनमा अर्नानिक प्रदेशका लागि जनप्रतिनिधीहरुले पाँच बुँदे प्रतिबद्धता जनाएका छन् । अर्गानिक खेतीमा वृद्धी, कर्णाली प्रदेशको समृद्धि भन्ने मुल नारा लिएर शुरु भएको प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६को समापन समारोहमा सहभागीहरुले विभिन्न पाँच प्रतिवद्धता जनाएका छन् ।
कर्णाली प्रदेशको खेतीपाती खाद्यान्न, तरकारी, फलफूल, मसला, पशुपंछी पालन तथा कृषि पशुपंछीजन्य उद्योग समेत) समग्रतामा प्राङ्गांरिक (अर्गानिक) बनाउन, सबै कर्णालीबासीमा प्राङ्गांरिक (अर्गानिक) खेतीपातीको जागरण बढाउने, प्राङ्गांरिक (अर्गानिक) खेतीपातीको अभियान सफल बनाउन सहकार्य र समन्वय गर्ने, कर्णाली प्रदेशको विविधतायुक्त विशेषता र स्थानीयतामा आधारित प्रागांरिक (अर्गानिक) खेतीपाती उन्नत बनाउन सामुहिक प्रतिवद्धता जनाएका हुन् ।
त्यस्तै आमजनसमुदायको जीवन पद्दतिलाई खेतीपाती, जनस्वास्थ्य र शिक्षाको एकिकृत विचार र अभ्यास गरी दिगो प्रकृति र गौरवमय मानव सभ्यतालाई भावी पुस्तामा हस्तान्तरण गर्ने प्रतिवद्धता पनि जनप्रतिनिधीहरुले गरेका छन् । संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिवहादुर वस्नेत, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको उपस्थितीमा प्रतिबद्धता जारी गरिएको छ ।
त्यस्तै कर्णाली प्रदेशका मन्त्रीहरु, कर्णाली प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सभाका सदस्यहरु, कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख÷प्रतिनिधिहरु, कर्णाली प्रदेशका जिल्ला समन्वय समितिका प्रमुखहरु, संघीय सरकारका प्रतिनिधि, कर्मचारी, कृषकलगायतले साझा प्रतिवद्धता जनाएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिईन् ।
दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिवहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, पूर्व गृहमन्त्री जनार्दन शर्मा, २ नम्बर प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय सभा सदस्य विमला राई पौडेललगायतको सहभागिता रहेको थियो ।
कर्णालीका किसान तथा स्थानीय तहका जनप्रतिनिधिका बीचमा हुनुपर्ने कार्यक्रममा किसान र स्थानीय तहका जनप्रतिनिधिहरूको न्यून सहभागिता भए पछि आलोचना भएको छ । कर्णालीलाई कृषि उपजका वस्तु उत्पादन गर्न प्रोत्साहन गर्नका लागि कर्णाली प्रदेश सरकारले आयोजना गरेको सम्मेलन वीरेन्द्रनगरको तारे होटलमा भएको भन्दै किसानले असन्तुष्टि पोखेका छन् ।
किसानका नाममा तारे होटलमा कार्यक्रम हुने गरेको र तारे होटलमा हुने सम्मेलनको खर्च कृषि क्षेत्रमा लगानी गरे कृषि क्षेत्रको उत्पादन वृद्धि हुने दैलेख दुल्लु नगरपालिका– ४ का किसान रामबहादुर थापाले बताए । ‘तारे होटलमा किसानका नाममा करोडौँ रुपैयाँ लगानी गर्नेभन्दा किसानलाई अनुदान दिए कृषि उत्पादनका वस्तुमा वृद्धि हुने थियो’, उनले भने, ‘किसानका नाममा ठूलाबडाले नै ठग्ने काम गरेका छन् ।’ किसानहरूका नाममा तारे होटलमा सम्मेलन गरिएपछि किसानहरूले जैविक सम्मेलन कृषि उत्पादन हुने गाउँमा गर्नुपर्ने माग गरेका छन् ।