आधुनिकताले पञ्चेबाजा ओझेलमा


दैलेख  ।

पञ्चेबाजाको एक पटक यस्तो समय थियो गाउँघर र शहरबजारमा । छोराछोरीको विवाह सिजनभरी दैनिक जसो पञ्चेबाजाको आवाज घन्किथ्यो । पञ्चेबाजा बज्ने बित्तिकै वल्लोपल्लो गाउँका मानिसको ओइरो लाग्थ्यो । बाजा बजाउनेको व्यवस्था पनि उस्तै हुन्थ्यो । पञ्चे बाजासँगै महिला रतेउली, हुड्के, पुरुष देउडा खेल, श्रमनाच र युवायुवती मादलको तालमा रमाइरहेका हुन्थे । सबैतिर उल्लास र उमंग हुने भएकाले दिनभरि काम गरेर आएका मानिसलाई थकान भान हुँदैन थियो । धित मरुन्जेल हेर्थे, रमाउँथे ।
तर केही वर्षयता भने विहेवारीमा पञ्चेबाजा बज्न छाडेको छ । शिक्षादिक्षा र रोजगारीमा शहर छिरेका युवायुवतीले उतै प्रेमका माध्यमबाट मन्दिरमा कर्म गर्नाले गाउँघरमा पञ्चेबाजाको ध्वनी सुनिन छाडेको हो । बिहेको शैलीमा परिवर्तन आउँदा आजभोलि गाउँघरमा बाजाको उमंगमय ध्वनी सुनिदैन् । पछिल्लो समयमा सञ्चार क्षेत्रमा आएको परिवर्तनले मागी बिहे गर्ने विरलै पाइन्छन् । छोरा हुन वा छोरी बिहेवारीमा स्वतन्त्र छन् । बिहेको छिनोफानो आफैँले गर्ने भएकाले अभिभावकले पहिले जसरी दुलाहा र दुलही खोज्नु पर्दैन ।
मन्दिरमा बिहे गर्ने प्रचलनका कारण गाउँ–गाउँमा बिहेको उमंग ह्वातै घटेको छ । यो सिजन विहेको मौसम भएपनि गाउँमा कतै बिहे र बाजाको रौनक छैन । अधिकांशले मन्दिरमा गएर कर्म चलाउने कारण गाउँमा विहेको रौनकता घटदै गएको आठविस नगरपालिकाका भद्रबहादुर थापाले बताए । ‘मन्दिरमा बिहे गर्नाले पञ्चेबाजामा कमी आएको हो । तर आफ्नो चाही विहेवारी पञ्चेबाजा बजाएर भएको थापाले खुलासा गरे गाउँघरमा विहेवारी भड्किलोले धेरै विहे मन्दिरमा हुने गरेको हो’, उनले थपे ।
उनी मात्र होइनन्, ज्योतिषको काम गर्दै आएका ठाटिकाँध गाउँपालिका –२ का नारायण जैसीको बुझाई त्यस्तै छ । ‘मागी बिहे घट्नु र प्रेम विहे बढनुले पञ्चेबाजामा कमी आएको हो । स्कुल पढ्दा पढ्दै आजभोलीका केटाकेटी माया बस्छ, गाउँमा बसेपछि गाली खाइने डरले शहरतिर छिरेर मन्दिरमा विहे गर्छन्’, उनले भने । मागी बिहेमा घरबाट भाग्नु पर्दैन्थ्यो । सबै दाजुभाई, दिदीबहिनी रमाइलो गर्थे । मागीमा बिहेमा घरमा पञ्चेबाजाको झ्याँईझ्याँई आवाजसहित भोजभतेर हुन्थ्यो ।
दुलाहालाई घोडामा र दुलहीलाई डोलीमा बोकेर पञ्चेबाजाका अगाडी लगाएर जन्तीको लावालस्कर दुलही लिन जानु मञ्जा बेग्लै हुने गरेको दैलेख नौमुले गाउँपालिकाका तेजबहादुर चन्दले बताए । पञ्चेबाजा अन्र्तगत दमाहा, ट्याम्को, झ्याली नरसिंगा र सनई पर्दछन् । दमाईले शुभकार्यमा पञ्चेबाजा बजाउने हुँदा अचेल बिहेमा विरलै बाजा देख्न पाइन्छ । उसो त पञ्चेबाजा बजाउन कमी आएकाले दमाई समुदायका युवाले फरक रोजगारीको विकल्प रोज्न थालेका छन् ।
युवाले रोजगारीतिर लागेपछि जिल्ला वा गाउँका विभिन्न सभा, समारोहमा बालक र बुढापाकाले मात्र बाजागाजा बजाएको देख्न पाइन्छ । आजभोलि गाउँमा हुने एकाध सार्वजनिक समारोहमा अतिथीलाई पञ्चेबाजा बजाएर स्वागत र सत्कार गर्ने गरिन्छ । बिहेको शैली फेरिएपनि पञ्चेबाजा पुरानो सस्कृति भएकाले यसलाई बचाई राख्न सबै क्षेत्रबाट सबैले सहयोग गर्नुेपर्ने बुढापाकाको भनाई छ ।

error: Content is protected !!