७ बैशाख २०८१, शुक्रबार

सुर्खेतमा डिजिटल प्रणालीबाट पानी वितरण गरिँदै


सुर्खेत । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले डिजिटल प्रणाली (स्काडा)बाट पानी वितरण गर्ने भएको छ । पानीको चुहावट रोक्नुका साथै वैज्ञानिक पद्धतिबाट पानी वितरण गर्न उक्त प्रणाली अपनाउन लागिएको हो । डिजिटल प्रविधि अपनाउन ड्रोनबाट सभ्याव्यता अध्ययन थालिएको संस्थाले बताएको छ ।

पानी वितरणमा रहेको असमान प्रणाली हटाउन डिजिटल प्रणाली शुरू गर्न लागिएको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । ‘सम्भाव्यता अध्ययनका लागि ड्रोनबाट ६० ओटा उडान गरेर वस्तुस्थितिको जानकारी लिइनेछ,’ उनले भने, ‘तत्कालका लागि स्किम नम्बर ९ अर्थात् वीरेन्द्रनगर नगरपालिका ५, ६, ७, ८, ९ र १० वडाको करीब ३०० मिटरसम्म सम्भाव्यता अध्ययन भइरहेको छ ।’

आगामी वैशाखभित्रै डीपीआर तयार गरेर काम शुरू गर्ने लक्ष्य रहेको देवकोटाले जानकारी दिए । उनका अनुसार अब पानी वितरण प्रणाली समेत परिवर्तन हुनेछ । ‘अब पानीको चुहावट रोक्न तत्काल पुराना पाइपलाइन हटाइने छ,’ उनले भने, ‘पुरानो पाइपलाइनका कारण करीब ३६ देखि ४० प्रतिशतसम्म पानी चुहावट हुँदै आएको छ ।’ उनले २०३६ सालमा बिछ्याइएका झन्डै ५४ किलोमिटर पाइपलाइन विस्थापित हुने बताए । तत्काल प्रदेश सरकारको सहयोगमा पुराना पाइपलाइन विस्थापित गर्ने संस्थाको योजना छ । हाल संस्थाले वीरेन्द्रनगरका १८ हजार धारामा पानी वितरण गर्दै आएको छ । माग अनुसारको आपूर्ति गर्न नसक्दा २ वर्षदेखि ५ हजारभन्दा बढी उपभोक्ताले धारा जडानका लागि आवेदन दिएको संस्थाले बताएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरको खानेपानी समस्या समाधानका लागि कर्णाली प्रदेश सरकारले रू. ५० करोड लगानी गर्ने जानकारी दिए । भेरीको पानी लिप्mट मार्फत उपत्यकामा ल्याएर पिउने पानीको दीर्घकालीन समस्या समाधान गरिने उनले बताए । ‘संघीय सरकारको खानेपानी ढल निकास विभाग, प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका र उपभोक्ता संस्थाको समन्वयमा भेरीको पानी उपत्यकामा ल्याउन लागिएको छ,’ उनले भने, ‘आयोजनाका लागि कुल लागतको ९० प्रतिशत संघीय सरकार र प्रदेश सरकारले लगानी गर्नेछन् भने बाँकी १० प्रतिशत रकम उपभोक्ताको लगानी रहनेछ ।’ सुवेदीका अनुसार भेरीको पानी अमृत डाँडासम्म ल्याउन संघीय सरकारले लगानी गर्नेछ भने पानीको वितरण प्रदेश सरकाले गर्नेछ । भेरीको पानी वीरेन्द्रनगरमा ल्याउन सम्भाव्यता अध्ययन सकेर काम भइरहेको उनले जानकारी दिए ।