परिवर्तनका लागि असल शिक्षा आवश्यकः मन्त्री भण्डारी


सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले संसार परिवर्तनका लागि शिक्षा पहिलो आवश्यकता भएको बताएका छन् । नेश्नल प्याब्सन नेपाल सुर्खेतको पाँचौं जिल्ला अधिवेशन उद्घाटन गर्दै मन्त्री भण्डारीले बिकास र समृद्धिको पहिलो आधारभुत आवश्यकता शिक्षा भएको बताए । ‘संसार बदल्नका लागि शिक्षाको जरुरी हुन्छ’ उनले भने, ‘शिक्षा विना मानिसलाई नयाँ सिर्जना नहुँदा परिवर्तनको सम्भावना निकै कम हुन्छ ।’
शिक्षाको उज्यालोबाट कुनै पनि बालबालिका बञ्चित हुनु पर्ने अवस्था नहुने भन्दै गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको बताए । विपन्न बालबालिकाहरुले पनि निजी विद्यालयको ढोकाभित्र सहज पस्न सक्ने वातातवरणको सिर्जना र सरकारी विद्यालयको शैक्षिक गुणस्तर बढाउनु सरकारको पहलिो दायित्व भएको उनको भनाई छ । शिक्षाका नाममा भइरहेको पूँजी पलायन रोक्नका लागि एन प्याब्सनको भूमिका कस्तो रहन्छ ? उनको प्रश्न थियो । कर्णाली प्रदेशको शिक्षा नीति, शिक्षा विधेयक र शिक्षा नियमावली निर्माणमा नेश्नल प्याब्सनसँग छलफल गर्ने तथा समग्र शैक्षिक विकासमा हातेमालो गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रमलाई सम्वोधन गर्दै एन प्याब्सनका अध्यक्ष रितुराज सापकोटाले नेपालको शैक्षिक विकासमा नीजि क्षेत्रले महत्वपूर्ण सहयोग गरेको बताए । ‘हामी शिक्षाको विकास मार्फत नीजि क्षेत्रले नेपालको अवस्थामा सुधार ल्याउन प्रयास गरिरहेका छौं । तर हामीले सरकारबाट अपेक्षित सहयोग पाउन सकिरहेका छैनौं’ उनले भने, ‘शैक्षिक विकासकालागि सरकारले सामूदायिक विद्यालयका जस्तै नीजि विद्यालयमा अवसर र सहयोग गर्न सकेको खण्डमा सक्षम, देशकालागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ ।’
एन प्याब्सन सुर्खेतले शिक्षा क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार शेरबहादुर थापासहित छ जनालाई सम्मान गरेको छ । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्ष थापासहित कलाकार तथा खेलाडी नन्दा बस्याल, महेन्द्रप्रसाद गिरी, कमल कुमार सिंह, किरण भट्टराई र विद्याभुषण मानन्धर सम्मानित भएका हुन् ।