कर्णालीले प्रश्न गरेन, काठमाडौले सुनेन

सुर्खेत । सुर्खेतको बुलबुले उद्यानमा जारी ‘कुडा कर्णालीको’ दोस्रो दिन कर्णाली अबिकासको विविध पाटाहरु कोट्याइएको छ । दोस्रो दिन भएका विभिन्न छ वटा सेसनमा कर्णालीको प्राकृतिक सुन्दरता, यहाँका सम्पदा र सम्भावना प्रचार प्रसार गरी पर्यटन बिकास गर्न नसक्दा र शासकहरुसंग प्रश्न गर्न नसक्नुका कारण नै कर्णाली अबिकासको कारक भएको वक्ताहरुले औल्याएका छन् । पत्रकार दिलभुषण पाठकले लेखकहरु हरि शर्मा, सरिता तिवारी र पत्रकार शिव गाउँलेसंग गरेको बहसमा कर्णालीले शासकसंग प्रश्न नगर्दा र काठमाडौले कर्णालीको प्रश्न नबुझ्दा कर्णालीको अपेक्षाकृत बिकास हुन नसकेको बताए ।
बहसमा लेखक हरि शर्माले कर्णालीले प्रश्न गर्न नसकेकै कारण उपेक्षित भएको बताए । ‘भौगोलिक दुरी, राजनीतिक प्रभाव र अन्य विभिन्न कारणले पनि कर्णालीले शासकहरुलाई प्रश्न राख्न सकेन’ उनले भने, ‘केही प्रश्नहरु काठमाडौले सुन्न चाहेन र कर्णाली सधै अबिकासको सूचीमा रही रह्यो ।’ कुनै बेलाको शक्तिशाली खस साम्राज्य कर्णाली शासकहरुको कारण पछाडि पारिएको बताए । प्रश्न गर्न नसकेको कुण्ठाले कर्णालीले प्रगती गर्न नसकेको उनको भनाई छ ।
लेखक सरिता तिवारीले प्रश्न गर्दा पनि दृष्टिकोणको विविधताले कर्णालीसंगै महिला, जनजाती, दलित र अल्पसंख्यक समुदायको आवाज नसुनिएको बताईन् । ‘एक त प्श्न गर्ने संस्कारको बिकास भएको छैन’ उनले भनिन्, ‘प्रश्न सोधी हालेँपनि उत्तरदायी निकाय प्रश्नबाट भाग्न खोज्दा सबै प्रश्न उत्तरविहीन हुने गरेका छन् ।’ पत्रकार शिव गाउँलेले सत्ता र शक्तिका रहनेहरुले जनताको प्रश्नलाई गाली सम्झेर उपेक्षा गर्दा अपेक्षाकृत प्रगती नभएको बताए । ‘सत्तामा रहनेहरुले जनताको प्रश्नको जवाफबाट चुनावबाट आउने भोग मात्र हो भन्ने सम्झिँदा जनताका प्रश्नले उत्तर पाएनन्’ उनले भने । इतिहासको समीक्षा गरी भविष्यको सुन्दर योजना बनाउने प्रश्न गर्न सके मात्र कर्णालीको बिकास सहज हुने उनले बताए ।
‘कर्णाली क्यानाम घुमेर हेर्दा’ शिर्षकको सेसनमा कर्णालीको कला संस्कृती, भेषभुषा, पर्यटकीय गन्तव्यहरुले कर्णालीको बिकास गर्न सकिने पाटाहरु कोट्याइएको थियो । मोहन मैनाली, अमरबहादुर शाही र अस्मिता थापा वक्ता रहेको बहसमा दामोदर न्यौपानेले सञ्चालन गरेका थिए । बहसमा पत्रकार मोहन मैनालीले कर्णालीको भौगोलिक, सांस्कृति विविधता र अस भाषाको संरक्षण गरी कर्णालीको पहिचान बनाउनु पर्ने बताए । कर्णालीको भौगोलिक विविधतालाई मात्र बिषय बनाइएको भन्दै अमरबहादुर शाहीले असन्तुष्टि पोखे । अस्मिता थापाले कर्णालीका मानिसहरुसंग पाहुनालाई भगवान मान्ने संस्कारले कर्णालीमा पर्यटक भित्र्याउन सकिने बताईन् ।
‘दबाइ र देउता, भोक र भकारी’ शिर्षकाको बहसमा डा. अरुणा उप्रेती, डा. राजेन्द्रराज वाग्ले र डा. कृष्णप्रसाद पौडेलले बहसमा भाग लिएका थिए । उक्त बहसमा कर्णालीका केही परम्परागत मान्यताका कारण पनि बिकास हुन नसकेको पाटाहरु वक्ताहरुले औल्याएका छन् । बिरामी पर्दा औषधी भन्दा देवी देउताको विश्वास गर्ने, छाउपडी प्रथालगायतका कारणले कर्णालीलाई पछाडि पारेको उनीहरुको तर्क छ । कुनै बेला जुम्लाको मार्सी धानको चामल सिंहदरबारलाई खुवाउने क्षमता भएको कर्णालीमा भोकमरी र खाद्यान्न अभावका समाचारहरु सिर्जना हुनु दुःखद भएको उनीहरुले बताए ।

error: Content is protected !!