इन्सेकको आयोजनामा मिडिया साझेदारी बैठक सम्पन्न

कालीकोटः मानव अधिकार संरक्षण र सम्बद्धनका लागि मिडिया साझेदारी बैठक कालीकोट जिल्लाको मान्ममा सम्पन्न गरिएको छ । मानव अधिकारका सवालहरूमा मिडियामार्फत उठान गर्न तथा समाचार प्रेषित गर्ने सवालमा मिडियाको भूमिका, मिडियाकर्मीका समस्यालगायत विषयमा छलफल गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिडिया साझेदारी बैठकको आयोजना गरिएको थियो । साझेदारी बैठकमा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मिडियाले मानव अधिकारसँग सम्बन्धित घटनालाई अझै प्रभावकारी रूपमा उजागर गर्नुपर्ने धारणा राखेका थिए ।
मानव अधिकारसँग सरोकार राख्ने विषयलाई पत्रकारले चासो दिएर काम गर्नुपर्ने बताए । राज्यलाई दायित्वबोध गराउन सक्ने मिडियाले गाउँ समाजमा हुने मानव अधिकार संरक्षणका साथै उल्लङ्घनका घटनालाई पनि बढी भन्दा बढी चासो दिएर प्रकाशन तथा प्रशारण गर्नुपर्ने सुझाव दिए । उनले सन २०१९ मा कर्णाली प्रदेशमा मानव अधिकारका घटना उल्लङघन र ज्यादतीका घटनामा ४ सय ८६ जना पीडित भएको इन्सेक प्रतिवेदनले देखाएको बताए । उनले सन् २०१८ को तुलनामा सन २०१९ मा कर्णाली प्रदेशको मान अधिकार अवस्थामा केही सुधार भएका जानकारी दिए ।
बैठकमा उपस्थित पत्रकारहरुले कालीकोटमा पनि मानव अधिकारका उल्लङघनका घटनामा कमी आएको बताए । मानव अधिकारका सवालहरूलाई कार्यान्वयन पक्षले गर्ने गराउनेमा कमजोरी देखा पर्दै आएको पत्रकारहरुले जानकारी गराएका थिए । बाल विवाह, बलात्कार, घरेलु हिंसाका कारण हुने घटनाहरूका सवाल मिडियाकर्मी र मानव अधिकारकर्मीले उजागर गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बैठकमा इएलविका कार्यक्रम संयोजक दिलबहादुर चौधरी, इन्सेक कालीकोट प्रतिनिधि कालीबहादुर मल्ल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डे, उपाध्यक्ष नमराज योगी, प्रदेश आवाजका अध्यक्ष रत्न कार्कीलगायतका विभिन्न मिडियाकर्मीको उपस्थिति रहेको थियो ।